गाजाको शान्ति सम्मेलनमा प्यालेस्टिनी राष्ट्रपति अब्बास सहभागी हुँदै, इजरायल र इरानको अस्वीकार

२०८२ असोज २७ सोमवार
सारांश
  • इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएको अनुसार, बैठकको सह–अध्यक्षता इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने छन् ।

काठमाडौं : प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास सोमबार इजिप्टको रातो सागर किनारस्थित शार्म एल–शेख शहरमा हुने गाजा शान्ति सम्मेलनमा सहभागी हुने भएका छन् । अल–अरबियाका अनुसार उक्त सम्मेलनमा इजरायल र हमासबीचको युद्ध अन्त्य गर्ने सम्झौता औपचारिक रूपमा अन्तिम चरणमा पु¥याइनेछ ।

 

इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएको अनुसार, बैठकको सह–अध्यक्षता इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने छन् । सम्मेलनमा २० भन्दा बढी देशका शीर्ष नेताहरूको सहभागिता रहनेछ । यसअघि शुक्रबारदेखि लागू भएको युद्धविराम सम्झौता इजिप्ट, कतार, टर्की र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा तीन दिनसम्म शार्म एल–शेखमा चलेको वार्तापछि सम्पन्न भएको हो  ।

 

तर, इजरायली प्रधानमन्त्रीको कार्यालयले आफ्ना प्रतिनिधिहरू सम्मेलनमा नपठाउने निर्णय गरेको छ । त्यस्तै, इरानी विदेशमन्त्री सैयद अब्बास आराग्चीले सोमबार इजिप्टको निमन्त्रणाको लागि धन्यवाद दिँदै पनि इरान उक्त सम्मेलनमा सहभागी नहुने बताएका छन् । उनले भने, “इरान कूटनीतिक उपायमार्फत विवाद समाधान गर्न समर्थन गर्दछ, तर ती देशहरूसँग छलफल गर्न सक्दैन जसले इरानी जनतामाथि आक्रमण र प्रतिबन्ध लगाइरहेका छन् ।”

 

इजरायल र हमासबीचको यो युद्धविराम सम्झौता गाजामा दुई वर्षभन्दा बढी समयदेखि चलिरहेको विनाशकारी युद्ध अन्त्यतर्फको पहिलो ठूलो कदमको रूपमा हेरिएको छ । योजनाको पहिलो चरणमा गाजा सिटी, राफा, खान युनिस र उत्तर गाजाबाट इजरायली सेनाको फिर्ती, पाँचवटा सहायता नाकाको पुनःखोलाइ, र बन्दी आदान–प्रदान समावेश गरिएको छ ।

 

गाजाको स्वास्थ्य निकायका अनुसार, इजरायली सैन्य कारबाहीका कारण हालसम्म ६७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ र सो क्षेत्रमा भीषण क्षति तथा भोकमरी फैलिएर मानवीय संकट उत्पन्न भएको छ । शार्म एल–शेख सम्मेलनले युद्धपश्चात पुनर्निर्माण, मानवीय सहायता र दीर्घकालीन राजनीतिक समाधानका लागि रूपरेखा तय गर्ने अपेक्षा गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार