युक्रेन वार्ताको नयाँ चरण बेलायतमा

१० बैसाख, २०८२, बुधवार
सारांश
  • लन्डन बैठक अमेरिकी मिडियाले जनाएअनुसार अमेरिकी राष्ट्रपति ट्रम्प क्रिमियामा अधिग्रहित भूमिलाई रूसी क्षेत्रको रूपमा मान्यता दिन तयार भएको समयमा आएको हो ।

एजेन्सी, १० वैशाख । युक्रेनमा रुसको युद्ध अन्त्य गर्ने अमेरिकाको नयाँ प्रयासका बीच बेलायतले बुधबार संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली राष्ट्रहरू संलग्न नयाँ चरणको वार्ताको आयोजना गर्दैछ ।

 

अमेरिकी राष्ट्रपतिका दूत स्टिभ विटकफले यस हप्ता मस्को भ्रमण गर्ने ह्वाइट हाउसले पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेपछि यो उहाँको चौथो रूस भ्रमण हुनेछ ।

 

लन्डन बैठक अमेरिकी मिडियाले जनाएअनुसार अमेरिकी राष्ट्रपति ट्रम्प क्रिमियामा अधिग्रहित भूमिलाई रूसी क्षेत्रको रूपमा मान्यता दिन तयार भएको समयमा आएको हो ।

 

समाचारहरूका अनुसार यो प्रस्ताव पहिलो पटक गत हप्ता पेरिसमा युरोपेली राष्ट्रहरूसँगको यस्तै बैठकमा उठाइएको थियो । त्यसयता ट्रम्पले द्रुत प्रगति नभएमा सङ्घर्ष अन्त्य गर्ने प्रयासहरूमा ‘पास गर्ने’ धम्की दिनुभएको छ ।

 

यद्यपि रूसले छोटो इस्टर युद्धविरामपछि यस हप्ता हवाई आक्रमण पुनः सुरु गर्‍यो र युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार उहाँको देश युद्धविरामपछि मात्र रूससँग प्रत्यक्ष वार्ताका लागि तयार रहेको बताउनुभयो ।

 

क्रेमलिनले युद्धविराम सम्झौतामा हतार गर्न नसक्ने चेतावनी दिएको छ ।

ट्रम्पले चुनावी अभियानमा २४ घण्टामा मस्को र किएभबीच सम्झौता गर्ने वाचा गर्नुभएको थियो तर युक्रेनमा आफ्नो सेना रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट छुट प्राप्त गर्न असफल हुनुभएको छ ।

 

सप्ताहन्तमा ट्रम्पले दुई पक्ष युद्धविरामको नजिक पुग्ने कुनै सङ्केत नभए पनि ‘यस हप्ता’ सम्झौता हुन सक्ने आशा गरेको बताउनुभयो ।

 

गत बिहीबार घटनाहरूबारे छलफल गर्न अमेरिकी, फ्रान्सेली र बेलायती विदेशमन्त्रीहरूका साथै जर्मनीका एक वरिष्ठ अधिकारी पेरिसमा भेटेका थिए ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युद्ध अन्त्य गर्न अमेरिकी योजना प्रस्तुत गरेको तर कुनै विवरण नदिइएको बताउनुभयो । रुबियोले पेरिस बैठकपछि टेलिफोन वार्तामा आफ्ना रूसी समकक्षी सर्गेई लाभारोभसँग पनि योजनाबारे छलफल गर्नुभयो ।

 

पेरिस वार्तापछि रुबियो र ट्रम्पले द्रुत प्रगति नदेखेमा संयुक्त राज्य अमेरिका शान्ति वार्ताबाट बाहिरिन सक्ने चेतावनी दिनुभएको छ ।

 

“ट्रम्प यो युद्ध अन्त्य गर्न चाहनुहुन्छ, उहाँ यस युद्धका दुवै पक्षको हत्या रोक्न चाहनुहुन्छ, उहाँले त्यसबारे धेरै समयदेखि धेरै स्पष्ट पार्नुभएको छ, उहाँ यस युद्धका दुवै पक्षप्रति निराश हुनुभएको छ र उहाँले त्यो धेरै स्पष्ट पार्नुभएको छ”, उहाँकी प्रवक्ता क्यारोलिन लेभिटले मङ्गलबार भन्नुभयो ।

 

– दीर्घकालीन –

 

बेलायती विदेशमन्त्री डेभिड लामीले बुधबारको छलफलको नेतृत्व गर्नुहुनेछ । यो छलफल पेरिसको भन्दा निम्न स्तरमा हुनेछ । यसमा अमेरिकी युक्रेन दूत किथ केलोग र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनका कूटनीतिक सल्लाहकार इमानुएल बोन सहभागी हुनुहुनेछ ।

 

युक्रेनको प्रतिनिधित्व जेलेन्स्कीका प्रमुख स्टाफ एन्ड्री येरमाक, विदेशमन्त्री एन्ड्री सिबिगा र रक्षामन्त्री रुस्तेम उमेरोभले गर्नुहुनेछ ।

बेलायतका रक्षामन्त्री जोन हिलीले संसदलाई मन्त्री र अधिकारीहरूले ‘युद्धविराम कस्तो देखिन सक्छ र दीर्घकालीन शान्ति कसरी सुनिश्चित गर्ने’ भनेर छलफल गर्ने बताउनुभयो ।

 

ट्रम्पले मार्चमा बिना शर्त युद्धविरामको प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्तावको सिद्धान्तलाई किएभले स्वीकार गरेको थियो तर पुटिनले अस्वीकार गर्नुभयो ।

ह्वाइट हाउसले ३० दिनका लागि ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न दुवै पक्षले गरेको छुट्टै सम्झौताको स्वागत गरेको छ, तर क्रेमलिनले यो स्थगन अवधि समाप्त भएको बताएको छ ।

 

युरोपलाई निर्णय प्रक्रियाबाट बाहिर राखिने डर रहेको बेला संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली मन्त्रीहरू ‘एउटै टेबलको वरिपरि भेला’ भएकाले फ्रान्सेली विदेशमन्त्री जिन–नोएल बारोटले पेरिस वार्तालाई एउटा सफलताको रूपमा प्रशंसा गर्नुभयो ।

 

युरोपेली नेताहरूले पनि ट्रम्पले वासिङ्टनको महत्त्वपूर्ण सैन्य र आर्थिक समर्थन फिर्ता लिएमा युक्रेनलाई कसरी समर्थन गर्ने भनेर काम गर्न खोजिरहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार