इरान र अमेरिकाबीचको दोस्रो चरणको आणविक वार्ता रोममा सम्पन्न

६ बैसाख, २०८२, शनिवार
सारांश
  • सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक आणविक सम्झौता त्याग्नुभएपछि यी दुई देशबीच यति उच्चस्तरमा भएको पहिलो छलफल थियो ।

एजेन्सी, ०६ वैशाख । प्रारम्भिक चरणको छलफलको एक हप्तापछि संयुक्त राज्य अमेरिका र इरानले शनिबार रोममा ओमानद्वारा मध्यस्थता गरिएको तेहरानको आणविक कार्यक्रममा वार्ता गरेका छन् । प्रारम्भिक चरणको छलफललाई दुवै पक्षले ‘रचनात्मक’ भनेर वर्णन गरेका थिए ।

 

एक अमेरिकी अधिकारी र इरानी राज्य टेलिभिजन अनुसार रोममा ओमानको मध्यस्थतामा गरिएको वार्ता करिब ०९३० जिएमटीमा सुरु भयो ।

 

इरानी राज्य टेलिभिजनले प्रसारण गरेको तस्बिरहरूमा विदेशमन्त्री अब्बास अराघची इटालीको राजधानी आइपुगेको देखाइएको छ । अमेरिकी मध्यपूर्व दूत स्टिभ विटकफ पनि वार्तामा सहभागी हुने तय भएको छ ।

 

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले ओमानका राजदूतको निवासमा ‘दुई प्रतिनिधिमण्डल दुई फरक कोठामा’ रहेको बताउनुभयो । ओमानका विदेशमन्त्री बद्र अलबुसैदीले उहाँहरूबीच सन्देशहरू आदानप्रदान गरिरहनुभएको छ ।

 

इरानले मस्कटमा अप्रत्यक्ष वार्ता भनेको दुई पक्षले गरेको एक हप्तापछि यो बैठक भएको हो । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक आणविक सम्झौता त्याग्नुभएपछि यी दुई देशबीच यति उच्चस्तरमा भएको पहिलो छलफल थियो ।

 

संयुक्त राज्य अमेरिकासहितका पश्चिमी देशहरूले लामो समयदेखि इरानलाई आणविक हतियारहरू प्राप्त गर्न खोजिरहेको आरोप लगाएका छन् । उक्त आरोपलाई तेहरानले लगातार अस्वीकार गर्दै आएको छ र आफ्नो कार्यक्रम शान्तिपूर्ण नागरिक उद्देश्यका लागि हो भनेर जोड दिँदै आएको छ ।

इरानको सन् १९७९ को इस्लामिक क्रान्तिपछि तेहरान र वासिङ्टनबीच कुनै कूटनीतिक सम्बन्ध छैन ।

 

जनवरीमा आफ्नो कार्यालयमा फर्केपछि ट्रम्पले इरानविरुद्ध प्रतिबन्धहरूको आफ्नो ‘अधिकतम दबाब’ अभियान पुनर्जीवित गर्नुभएको थियो ।

 

मार्चमा उहाँले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई नयाँ आणविक वार्ता गर्न आग्रह गर्दै पत्र पठाउनुभएको थियो र कूटनीति असफल भएमा सैन्य कारबाही गर्ने चेतावनी पनि दिनुभएको थियो ।

 

“म सैन्य विकल्प प्रयोग गर्न हतारमा छैन”, ट्रम्पले बिहीबार भन्नुभयो, “मलाई लाग्छ इरान कुरा गर्न चाहन्छ ।” शुक्रबार अराघचीले इरानले पहिलो चरणमा अमेरिकी पक्षमा ‘केही हदसम्म गम्भीरता’ देखेको तर उनीहरूको ‘अभिप्राय र अभिप्रेरणाहरू’ मा प्रश्न उठाएको बताउनुभयो ।

 

शनिबार बिहान एक सामाजिक सञ्जाल पोस्टमा बाकाईले भन्नुभयो, “तेहरान यो सहज मार्ग होइन भन्ने कुरामा सचेत छ तर हामी विगतका अनुभवहरूमा भर परेर खुला आँखाले हरेक कदम चाल्छौँ ।”

 

मध्यस्थकर्ता ओमानका नेता सुल्तान हैथम बिन तारिक आउँदा दिनहरूमा मस्कोमा जाने कुरा उहाँको कार्यालय र क्रेमलिनले जनाएका छन् । क्रेमलिनले सुल्तानले राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘अन्तर्राष्ट्रिय र क्षेत्रीय एजेन्डामा वर्तमान प्रश्नहरू’ र अन्य मुद्दाहरूबारे छलफल गर्नुहुने बताएको छ ।

 

– निर्णायक चरण –

 

फ्रान्सेली पत्रिका ले मोन्डेद्वारा बुधबार प्रकाशित एक अन्तर्वार्तामा संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी प्रमुख राफेल ग्रोसीले भन्नुभयो, “इरान आणविक बम प्राप्त गर्नबाट धेरै टाढा छैन ।”

 

ट्रम्पको पहिलो कार्यकालमा वासिङ्टनले तेहरान र विश्व शक्तिहरू बीचको सन् २०१५ को सम्झौता त्यागेको थियो । उक्त सम्झौताले इरानलाई उसको आणविक कार्यक्रममा प्रतिबन्धहरूको बदलामा अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट राहत दिने प्रस्ताव गरेको थियो ।

 

तेहरानले आफ्नो अनुपालन कम गर्नुअघि ट्रम्पको फिर्तापछि एक वर्षसम्म सम्झौताको पालना गरेको थियो ।

 

अराघची सन् २०१५ को सम्झौताका वार्ताकार हुनुहुन्थ्यो । रोममा उहाँका अमेरिकी समकक्षी विटकफलाई ट्रम्पले युक्रेन वार्ताको जिम्मा दिनुभएको छ । विटकफ एक रियल इस्टेट व्यापारीसमेत हुनुहुन्छ ।

 

इरानले हाल ६० प्रतिशतसम्म युरेनियम संवर्धन गर्दछ । यो सम्झौताको तीन दशमलव ६७ सीमाभन्दा धेरै छ तर अझै पनि हतियार–ग्रेड सामग्रीका लागि आवश्यक ९० प्रतिशत सीमाभन्दा कम छ ।

 

शुक्रबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युरोपेली देशहरूलाई सन् २०१५ को सम्झौताअन्तर्गत ‘स्न्यापब्याक’ संयन्त्रलाई ट्रिगर गर्ने कि नगर्ने निर्णय गर्न आग्रह गर्नुभयो । यसले इरानमाथि यसको गैर–अनुपालनका लागि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरू स्वचालित रूपमा पुनःस्थापित गर्नेछ ।

 

संयन्त्रलाई ट्रिगर गर्ने विकल्प यस वर्षको अक्टोबरमा समाप्त हुँदैछ । इरानले पहिले नै यदि संयन्त्र सुरु गरियो भने उसले आणविक अप्रसार सन्धिबाट पछि हट्न सक्छ भनी चेतावनी दिएको छ ।

 

यसै हप्ता तेहरानमा इरानी अधिकारीहरूलाई भेट गर्नुभएका ग्रोसीले अमेरिका र इरान वार्ताको ‘अत्यन्त महत्त्वपूर्ण चरणमा’ रहेको र सम्झौता गर्न ‘धेरै समय नभएको’ बताउनुभएको थियो ।

 

– अपरिवर्तनीय –

 

इरानी अधिकारीहरूले वार्तामा उसको आणविक कार्यक्रम र प्रतिबन्धहरू हटाउनमा मात्र केन्द्रित रहेको कुरामा जोड दिएका छन् ।

 

यदि वासिङ्टनले ‘अनुचित र अवास्तविक मागहरू गर्न’ बाट टाढा रह्यो भने अमेरिकासँग सम्झौता हुनसक्ने सम्भावना रहेको अराघचीले बताउनुभयो ।

विश्लेषकहरूले अमेरिकाले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम र मध्यपूर्वमा उग्रवादीहरूलाई समर्थन गर्ने विषयमा छलफल गर्न दबाब दिने बताएका थिए ।

विटकफले यसलाई पूर्ण रूपमा रोक्न आह्वान गरेपछि इरानको युरेनियम संवर्धन गर्ने अधिकार ‘गैर–सम्झौता योग्य’ भएको अराघचीले बताउनुभयो । विटकफले यसअघि इरानलाई सन् २०१५ को सम्झौताले तय गरेको सीमामा फर्किन मात्र माग गर्नुभएको थियो ।

 

शुक्रबार अमेरिकी सहयोगी इजरायलले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने आफ्नो प्रतिबद्धतालाई पुष्टि गर्दै यसलाई रोक्न ‘स्पष्ट कारबाही’ भएको बताएको थियो ।

 

मङ्गलबार खामेनीले वार्ताहरू प्रारम्भिक चरणमा राम्रोसँग अघि बढेको भए पनि तिनीहरू अझै पनि निष्फल साबित हुनसक्ने चेतावनी दिनुभएको थियो । “वार्ताले नतिजा निकाल्न सक्छ वा नदिन पनि सक्छ”, उहाँले भन्नुभयो ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार