सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु
२०८१ फागुन २५ आईतवार
- सरकारले असदका बलहरूको अवशेषबाट भएको आक्रमणको जवाफ दिइरहेको र व्यापक हिंसाका लागि ‘व्यक्तिगत कार्यहरू’ लाई दोष दिएको बताएको छ ।
सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बशर अल–असदका समर्थकहरूबीच दुई दिनको झडप र त्यसपछिको प्रतिशोधात्मक हत्याहरूले मृत्यु सङ्ख्या एक हजारभन्दा बढी पुगेको एक युद्ध अनुगमन समूहले शनिबार बताएको छ ।
यो सिरियाको १४ वर्षअघि सुरु भएको द्वन्द्वपछिको सबैभन्दा घातक हिंसाको घटना हो ।
बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सात सय ४५ सर्वसाधारण मारिएका छन् । तीमध्ये एक सय २५ जना सरकारी सुरक्षा बलका सदस्य र एक सय ४८ जना असदसँग सम्बन्धित सशस्त्र समूहका लडाकुहरू मारिएका छन् । लाटाकिया सहर वरपरका ठूलो क्षेत्रमा बिजुली र खानेपानी काटिएको अब्जर्भेटरीले बताएको छ ।
असदलाई सत्ताबाट हटाएपछि विद्रोहीहरूले सत्ता लिएको तीन महिनापछि बिहीबार भड्किएको झडपले दमास्कसमा नयाँ सरकारलाई ठूलो चुनौती दिएको छ ।
सरकारले असदका बलहरूको अवशेषबाट भएको आक्रमणको जवाफ दिइरहेको र व्यापक हिंसाका लागि ‘व्यक्तिगत कार्यहरू’ लाई दोष दिएको बताएको छ ।
असदको अल्पसङ्ख्यक अलावी सम्प्रदायका सदस्यहरू विरुद्ध सरकारप्रति वफादार सुन्नी मुस्लिम बन्दुकधारीहरूले शुक्रबार सुरु गरेको प्रतिशोधात्मक हत्या पूर्व सरकारको पतनको नेतृत्व गर्ने गुट हयात ताहरिर अल–शामका लागि ठूलो धक्का हो । अलावीहरूले दशकौँसम्म असदको समर्थन आधारको ठूलो हिस्सा बनाएका थिए ।
अलावी गाउँ र सहरका बासिन्दाहरूले एसोसिएटेड प्रेससँग हत्याहरूको बारेमा कुरा गर्दै बन्दुकधारीहरूले अलावीहरूलाई, अधिकांश पुरुषलाई, सडकमा वा उनीहरूको घरको गेटमा गोली हानेको बताए । सिरियाको तटीय क्षेत्रका दुई बासिन्दाले एपीलाई आफ्नो लुक्ने ठाउँबाट विभिन्न क्षेत्रहरूमा अलावीहरूका धेरै घरहरू लुटिएका र त्यसपछि आगो लगाइएको बताए ।
उनीहरूले बन्दुकधारीहरूद्वारा मारिने डरले आफ्नो नाम सार्वजनिक नगर्न अनुरोध गरे । हजारौँ मानिस सुरक्षाका लागि नजिकैको पहाडतर्फ भागेको उनीहरूले थप जानकारी दिए ।
हिंसाबाट सबैभन्दा बढी प्रभावित बानियास सहरका बासिन्दाहरूले सडकहरूमा लाशहरू छरिएका वा घरहरू र भवनहरूको छतमा गाडिन नपाएका अवस्थामा छोडिएको र कसैले पनि उनीहरूलाई सङ्कलन गर्न नसकेको बताए । एक बासिन्दाका अनुसार बन्दुकधारीहरूले बासिन्दाहरूलाई शुक्रबार नजिकबाट मारिएका आफ्ना पाँच छिमेकीको शव हटाउन घन्टौँसम्म रोकेका थिए ।
परिवार र छिमेकीहरूसँग शुक्रबार हिंसा फैलिएको केही घण्टापछि भागेका बानियासका ५७ वर्षीय बासिन्दा अली शेहाले अलावीहरू बस्ने बानियासको एक क्षेत्रमा उहाँका कम्तीमा २० छिमेकी र सहकर्मी मारिएको र तीमध्ये केही आफ्नै पसलमा वा घरमा मारिएको बताए ।
शेहाले यी आक्रमणलाई असद सरकारले गरेका अपराधहरूका लागि अलावी अल्पसङ्ख्यकको ‘प्रतिशोधात्मक हत्या’ भने । अन्य बासिन्दाले बन्दुकधारीहरूमा विदेशी लडाकूहरू र छिमेकी गाउँ र सहरका उग्रवादीहरू रहेको बताए ।
“यो निकै नराम्रो थियो । शवहरू सडकमा थिए”, सहरबाट करिब २० किलोमिटर टाढाबाट फोनमा कुरा गर्दै शेहाले भने । उनका अनुसार बन्दुकधारीहरू उनको अपार्टमेन्ट भवनबाट एक सय मिटरभन्दा कममा भेला भएका थिए ।
कम्तीमा एक घटनामा उनलाई थाहा भएअनुसार बासिन्दाहरूलाई उनीहरूको धर्म र सम्प्रदाय जाँच गर्न परिचयपत्र माग्दै थिए अनि त्यसपछि उनीहरूलाई मार्दै थिए । उनले बन्दुकधारीहरूले केही घरमा आगो लगाएको र कारहरू चोरेर घरहरू लुटेको बताए ।
मृत्यु सङ्ख्या बढ्दो
अब्जर्भेटरीका प्रमुख रामी अब्दुरहमानले प्रतिशोधात्मक हत्याहरू शनिबार बिहानै रोकिएको बताए ।
“यो सिरियाली द्वन्द्वको दौरानमा भएको सबैभन्दा ठूलो नरसंहारमध्ये एक थियो”, अब्दुरहमानले अलावी नागरिकहरूको हत्याबारे भने ।
समूहले पहिले दिएको आँकडाअनुसार छ सयभन्दा बढीको मृत्यु भएको थियो । कुनै आधिकारिक आँकडा जारी गरिएको छैन ।
सिरियाको तटीय क्षेत्रमा भएको झडपमा मारिएका चार सिरियाली सुरक्षा बल सदस्यका लागि शनिबार दिउँसो उत्तरपश्चिमी गाउँ अल–जानौदिया मा अन्त्येष्टि गरियो । धेरै मानिसले अन्त्येष्टिमा भाग लिएका थिए ।
सिरियाली सेनाले नियन्त्रण पुनः प्राप्त गरेको आधिकारिक रिपोर्टले जनाएको छ ।
सिरियाको सरकारी समाचार एजेन्सीले रक्षा मन्त्रालयका एक अज्ञात अधिकारीलाई उद्धृत गर्दै सरकारी सेनाले असदका वफादारहरूबाट धेरै क्षेत्रहरू पुनः नियन्त्रण गरेको बताएको छ । अधिकारीहरूले ‘उल्लङ्घनहरू रोक्न र बिस्तारै स्थिरता पुनःस्थापना गर्न’ तटीय क्षेत्रतर्फ जाने सबै सडकहरू बन्द गरेका छन् ।
शनिबार बिहान केन्द्रीय गाउँ तुवायममा अघिल्लो दिन प्रतिशोधात्मक आक्रमणमा मारिएका ३१ जनाको शव एक सामूहिक चिहानमा गाडिएको बासिन्दाहरूले बताएका छन् । मारिएकाहरूमा नौ बालबालिका र चार महिला सम्मिलित थिए ।
संसद्मा अलावी सम्प्रदायलाई छुट्टयाइएको दुई सिटमध्ये एउटा ओगटेका लेबनानी विधायक हैदर नासेरले मानिसहरू सुरक्षाका लागि सिरियाबाट लेबनानतर्फ भागिरहेको बताउनुभयो । आफूसँग यथार्थ सङ्ख्या नभएको उनले बताए ।
नासेरका अनुसार धेरै मानिस सिरियाको हमेइमिममा रहेको रूसी वायु अड्डामा आश्रय लिइरहेका छन् । उनले अन्तर्राष्ट्रिय समुदायले आफ्नो देशप्रति वफादार सिरियाली नागरिक अलावीहरूको सुरक्षा गर्नुपर्ने बताए । उनले असदको पतनपछि धेरै अलावीलाई उनीहरूको कामबाट निकालिएको र नयाँ अधिकारीहरूसँग मेलमिलाप गरेका केही पूर्व सैनिकहरू मारिएको बताए ।
असदको शासनकालमा अलावीहरूले सेना र सुरक्षा एजेन्सीहरूमा उच्च पद ओगटेका थिए । नयाँ सरकारले पछिल्ला केही हप्तामा देशको नयाँ सुरक्षा बल विरुद्धको आक्रमणका लागि उनका समर्थकहरूलाई दोष दिएको छ ।
फ्रान्सले सिरियामा हालै भएको हिंसामाथि ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । पेरिसको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “धर्मका आधारमा नागरिकहरू र कैदीहरूमाथि हुने अत्याचारको कडा शब्दमा निन्दा गर्दछ ।”
फ्रान्सले सिरियाली अन्तरिम अधिकारीहरूलाई ‘यी अपराधहरूमा पूर्ण प्रकाश पार्ने’ स्वतन्त्र अनुसन्धान सुनिश्चित गर्न आग्रह गरेको छ ।
अब्जर्भेटरीका अनुसार सरकारी सेनाले तटीय सहर जाब्लेह नजिकै एक वाञ्छित व्यक्तिलाई हिरासतमा लिने प्रयास गर्दा र असदका वफादारहरूले आक्रमण गर्दा हालैका झडपहरू सुरु भयो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।