- हाम्रो जीवन र यसको वरपर हामीले बोध गर्ने ब्रह्माण्डको सृष्टि आफैँमा यौटा रहस्य हो जसको भौतिक, दार्शनिक, आध्यात्मिक आदि धेरै किसिमका सिद्धान्त तथा व्याख्यानहरू छन् ।
उपवास (व्रत), उपासना (साधना) र उत्सव सनातन परम्पराको मेरुदण्ड हो। यस सनातन संस्कृतिको मुहान हिमवत्खण्ड नेपालमा आफ्नो विशिष्ट मौलिकताको यौटा व्रतकथाको परम्पराको रूपमा श्रीस्वस्थानी व्रतकथा तथा साधना शताब्दियौंदेखि चलिआएको छ। पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म गरिने यस व्रतबाट कथामा उल्लेखित पात्रहरू र तिनका जीवनका घटनाक्रमहरू मार्फत् आध्यात्मिक शक्तिसाधना र सिद्धिका सङ्केतहरू दिइएका छन् । मूलत: जीवनको चरम कष्टपूर्ण स्थितिबाट उठेर उन्नतिको उच्चतम् स्थितिसम्म पुगिने दृष्टान्तलाई बुझाउन यो निक्कै प्रेरक र ज्ञानवर्धक छ । यहाँ प्रयुक्त कथाको शैली आफैंमा विशिष्ट छ जसको माध्यमबाट हर रहस्यमय ज्ञान र शिक्षालाई सङ्केत र प्रतीकहरूमार्फत बताउँदा व्यक्तिको विस्तार र बोधको लागि अत्यन्तै प्रभावकारी हुन्छ भन्ने कुरा वर्तमानका खोजहरूले प्रमाणित गरेका छन् ।
उपवास (व्रत):
उपवास वा व्रत हाम्रो जीवनको रक्षा र रूपान्तरणको लागि यौटा अपरिहार्य वैज्ञानिक अभ्यास हो भन्ने कुरा हाम्रा परम्पराले सदियौँदेखि जोगाएर राखेको छ। आधुनिक वैज्ञानिक पद्धतिबाट व्रतको विभिन्न आयामहरूलाई शोध, खोज र परीक्षण गर्दा यो सकारात्मक र प्रमाणित रहेछ भनेर स्वीकृत भईसकेको छ। अर्थात् मानव शरीरको रक्षाको लागि यसभित्र उत्पन्न हुने विकारको नाश गर्न, नकारात्मक कोषिकाहरूको विनाश, जटिलभन्दा जटिल स्वास्थ्य हानीमा पनि सावधानीसाथ व्रतको अभ्यास भयो भने यसले शरीरको संवर्धन गर्न, रोग-निवारण गर्न तथा आफ्नो नैसर्गिक स्वास्थ्य रक्षा गरी उन्नत जीवन जिउने कलाको रूपमा यो स्वीकृत भईसकेको छ। यसैको यौटा दृष्टान्त यस कथाका पात्र चन्द्रावतीको चरित्रचित्रण हो जो आफ्नो संवेदनशील स्वास्थ्यहानीबाट पुन: आरोग्यको अवस्थामा रूपान्तरित हुन्छिन्। यहाँ उपवास केवल आहारमा नियन्त्रण भनेर यसको भौतिकताको रूपमा बुझिने पक्षको साथसाथै त्यसमा भावशक्ति, सङ्कल्प र ईच्छाशक्ति तथा यौटा लक्ष्यप्राप्तिको लागि भक्तिसहितको साधनाको अभ्यास गरिएको दृष्टान्त प्रष्टसँग दिईएको छ।
यस कथाभरि हर पात्रहरू जो मानवरूपमा छन् वा देव स्वरूपमा छन् सबैले व्रतसहितको साधनाबाट आफ्नो लक्ष्य हासिल गरेको निष्कर्ष दिईएको छ। यसको लागि आध्यात्मिक साधना पनि सँगै जोडेर लगिएको छ । हर पौराणिक तथा प्रागैतिहासिक पात्रहरू: पार्वती, गोमा, चन्द्रावती आदिले शक्तिसाधना गरेका छन् र ती सफल भएका छन् ।
उपासना (साधना):
यस व्रतकथाको मूल पक्ष उपासना हो जहाँ प्रमुख तीन उपासनाका खण्डहरू छन्। सर्वप्रथम सृष्टितत्त्वको विस्तार र परा-शक्तिको सङ्केत । हाम्रो जीवन र यसको वरपर हामीले बोध गर्ने ब्रह्माण्डको सृष्टि आफैँमा यौटा रहस्य हो जसको भौतिक, दार्शनिक, आध्यात्मिक आदि धेरै किसिमका सिद्धान्त तथा व्याख्यानहरू छन् । यस कथाले यौटा मूल परा-तत्त्व वा शक्ति, परब्रह्म कसरी शून्य अवस्थाबाट उसको ईच्छाशक्तिले ब्रह्माण्डको उत्पत्ति भएको र त्यो नै समस्त तत्त्वहरूमा विस्तार भएको दर्शन प्रतिपादन गर्छ। त्यही तत्त्व नै त्रिदेवतत्त्व, त्रिशक्तितत्त्व, त्रिगुणतत्त्व आदि हुँदै लामो व्याख्यासहित समग्र सृष्टिको निर्माण गरिएको विवरण दिईएको छ। ब्रह्ममय अण्डको विस्तारबाट यो संसार बनेको प्रष्ट्याईएको छ । यही पराशक्तिबाटै सृष्टि, स्थिति र लय हुने दर्शनलाई स्थापित गरिएको छ । त्यसै शक्तिको विग्रहमध्ये शिवतत्त्व र शक्तितत्त्वको ईश्वरीय गुणलाई मानव जीवनका गुणहरूलाई समान तरिकाले समेटेर त्यसमार्फत उपासना वा साधनाको सङ्केत दिईएको छ।
दोस्रो प्रसङ्ग मय दानवको त्रिपुर विनाशको युद्धको वर्णनमा गहन प्रतीकात्मक विशिष्ट अर्थसहित गरिएको छ। यहाँ देवताहरूले शिवतत्त्वको आराधना गरेका छन्, दिव्य दशहजार वर्षको युद्ध चलेको छ र रूद्रले अग्नि र सोमतत्त्वको यौटै वाणले त्रिपुरदहन गरिसक्दा पनि मय आफ्नो भक्त भएकोले उसको फेरी रक्षा गरिएको छ। यस युद्धमार्फत व्यक्तिको चित्तको चञ्चलतालाई केन्द्रीकृत पारेर मूलतत्वको बोध गर्न ज्ञानशक्ति र प्रेम वा भक्तिशक्तिको जागरणको लागि प्रभावकारी विधिको रूपमा यस युद्ध यौटा संकेतको रूपमा प्रभावकारी छ ।
त्रिपुर हाम्रो शरीरमै विद्यमान छ । मूलाधारस्थित ब्रह्मग्रन्थि, मणिपुरस्थित विष्णुग्रन्थि र आज्ञाचक्रस्थित रूद्रग्रन्थिको भेदनगर्दै मूल शक्ति कुण्डलिनी जो अग्नि - ईडा वा पुरुषशक्ति र सोमतत्व पिङ्गला वा स्त्रीतत्त्वको सङ्गम बनेर यौटै वाणप्रहार वा सुषुम्नाबाट उर्ध्वगमनको सङ्केत दिइएको छ । दैत्य अर्थात् दु:ख कष्टको मूललाई शक्तिको जागरणबाट नाश गरेर आनन्दको परम अवस्था प्राप्तिको यात्राको लागि साधनाको सङ्केत यहाँ भेटिन्छ ।
यस कथामार्फत् वर्तमानमा हाम्रो चेतनाअनुरूप उपासनालाई कसरी बुझ्ने भन्नेकुरा हाम्रो सापेक्षतासाथ हेरौँ। आफ्नो लक्ष्यलाई निर्धारित गर्दै त्यसको प्राप्तिको लागि सङ्कल्पशक्ति जगाई परा-शक्ति वा ईष्टशक्ति जसलाई यहाँ स्वस्थानी परमेश्वरीको रूपमा स्तुति गरिएको छ, उनको साधना गरिएको छ। यस साधनामा शरीरको शुद्धि, मनको एकाग्रता र भावको शक्तिलाई यौटै विषयमा बारम्बार केन्द्रीत गर्दै त्यसमा मनको सम्पूर्ण लय गरेर ध्यानको अवस्थामा स्वभाविक प्रवेश गर्ने कुरा कथामा वर्णित पात्रकोको साथनामार्फत् दर्शाईएको छ । मूलत: उनीहरूको जीवनको निरन्तर अवरोह, कठीनतम पीडा, दु:ख र कष्टको पराकाष्ठालाई स्थापित गरेर फेरी उनीहरूले त्यस स्थितिबाट आफ्नो उत्थान, विकास र उर्ध्वयात्राको लागि गरेका पूर्ण समर्पित भावकबाट गहन उपासना गर्दै गरेको शक्ति साधनालाई बताईएको छ ।
हाम्रो चेतनाको शक्तिलाई जगाएर त्यसमा तीव्रता दिँदै त्यहाँ यौटा निश्चित लक्ष्यलाई धारणा (स्थापित) गर्दै बारम्बार भावनाको शक्तिलाई तीव्रतासाथ जागृत र स्पन्दित गरियो भने त्यसले ब्रह्माण्डीय सूक्ष्मशक्तिसँग सम्पर्क र संवाद सुरु गर्छ र त्यसको सीमा जतिजति बृहत् हुँदै जान्छ त्यसले अनन्तगुणा ठूलो शक्ति र स्वरूप ग्रहण गर्दै जान्छ। त्यो जुन स्वरूपमा ईक्षित वा लक्षित छ त्यही स्वरूपमा साकार भएर आउन हुन थाल्छ । यसैलाई दुर्गासप्तशतिमा " यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् ", हनुमानचालीसामा "...जो दायक फल चारि" भनेर बताईएको छ। गोमाको पुत्र नवराज घर फिर्ता आउनु, चरम गरीबीमा हुर्किएको नवराज राजाको रूपमा चुनिनु, चन्द्रावती फेरी शारीरिक रूपले र मानसिक रूपले पनि पूर्ण स्वस्थ भएर परिवारमा फर्किनु आदि मुख्य उदाहरण हुन् ।
उत्सव:
यस कथामा हर प्रमुख पात्रहरूले आफ्नो लक्ष्य हाँसिल गरेका छन्। आरम्भमा तिनको जीवन चुनौतिपूर्ण र चरम दु:खको अवस्थामा छन्। कथा अघि बढ्दै जाँदा दुष्टशक्तिहरू नामेट भएका छन् भने सकारात्मक भाव र कर्म गर्ने पात्रहरू कालान्तरमा आफ्नो जीवनको चाहेको लक्ष्य प्राप्ति गर्न सफल छन् तथा थप उच्च लाभहरू पनि हाँसिल गरेका छन् । अर्थात्, सनातनधर्म भित्र रहेको साधनापद्धतिलाई अनुशरण गर्दै विधिपूर्वक उपवास र विधिपूर्वक उपासना गरेका जोकोहीको जीवनमा सकारात्मक परिवर्तन सुख, शान्ति, प्रगति र सकारात्मक आशीर्वाद प्राप्त हुन्छ जसले जीवनलाई उत्सवमय बनाउँछ । हाम्रा हर पर्वहरू उत्सवमय छन् जहाँ एकआपसमा आनन्द र प्रेमको विस्तार गरेर ती पर्वहरू मनाईन्छन् ।
यस कथालाई प्रतिदिन एकमहिनासम्म सुन्दै जाँदा ती पात्रहरूका गुणहरूलाई केलाउँदै, तिनको जीवनलाई दृष्टान्तको रूपमा बोध गर्दै गएर अन्तमा तिनको उत्थान र सफलतासम्म पुग्दा र कथा समापनसम्म सुन्दैजाँदा यसले हाम्रा चेतन, अवचेतन र अचेतन मनमा अनि हाम्रा समग्र जीवन अनुभूतिमा निश्चयनै सकारात्मक छाप छोड्छ । साथै संस्कृत भाषाको पहुँच नहुने सर्वसाधारणको लागि यो कथाले भाषिक हिसाबले आफ्नो सनातन परम्पराको ज्ञान हासिल गर्न पनि ठूलो भूमिका खेलेको छ। अझ परिवारसँगै बसेर कथा सुन्ने परम्पराले सबैलाई सकारात्मक उर्जा प्रदान गर्दछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’