नागढुंगा-सिस्ने खोला सुरुङमार्ग आजदेखि सञ्चालनमा आउँदै

२०८३ श्रावण ११ सोमवार
सारांश
  • नागढुंगा–सिस्ने खोला सुरुङमार्ग निर्माण सुरु भएको ८० महिनापछि आजदेखि चौबीसै घण्टा सञ्चालनमा आउँदैछ ।

काठमाण्डौ, ११ श्रावण । नागढुंगा–सिस्ने खोला सुरुङमार्ग निर्माण सुरु भएको ८० महिनापछि आजदेखि चौबीसै घण्टा सञ्चालनमा आउँदैछ ।

 

आज नागढुंगा सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिकोले नेपालस्थित जापानी राजदूत माएदा तोरुले संयुक्त रुपमा गर्न लागेका छन् ।

 

सुरुङमार्ग निर्माण आयोजनाका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आपत्कालीन सवारीसाधनका लागि सुरुङ खुला गरिनेछ भने त्यसपछि अन्य सवारीलाई क्रमबद्ध रूपमा प्रवेश दिइनेछ । आयोजनाले सुरुङमार्गमा अत्यावश्यक सवारी साधन चलाएर करिब एक हप्तादेखि १० दिनसम्मको परीक्षण गर्ने योजना बनाएको छ । त्यसपछि क्रमश: सवारी साधन छोड्ने बताइएको छ ।

 

परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने आपतकालीन सवारी साधनहरूले कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने र अत्यावश्यक सवारी साधनको सफल परीक्षण र सुरक्षा सुनिश्चितता पछि सर्वसाधारणका सवारी साधनहरु क्रमिक रुपमा अनुमति दिने आयोजनाले बताएको छ ।

 

सुरुङ प्रयोगबापत कार, बस, ट्रक र लरीका लागि सवारीको आकार र दिशा अनुसार छुट्टाछुट्टै टोल शुल्क तोकिएको छ । सरकारले यसअघि नै निर्णय गरेर राजपत्रमा सूचना जारी गरी सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुङ्गा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरिसकेको छ ।

 

जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा  ६५ रुपैयाँ र बाहिरिँदा  ६० रुपैयाँ तोकिएको छ । त्यसैगरी मिनी बस, मिनी टिपर-ट्रकको प्रवेशका लागि ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तथा बस, ट्रक (सिङ्गल रियर एक्सल( प्रति सवारीसाधन प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ ।  मल्टी एक्सल ट्रक/सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा ६०० रुपैया र बाहिरिँदा २५० रुपैया तोकिएको छ । भुक्तानीलाई सहज बनाउन आरएफआईडी प्रविधिमा आधारित ‘एन–ट्याग’ र नगद दुवै माध्यमको व्यवस्था गरिएको छ । दुईपांग्रे, तीनपांग्रे, पैदलयात्री र डिजेल, पेट्रोल वा ग्यासजस्ता अत्यधिक प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङ प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

 

जापानको साढे २१ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब लगानीमा बनेको यो सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको जिम्मा युसिन एआरटी जेभीले पाँच वर्षका लागि पाएको छ ।

 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा शिलान्यास गरेको यो आयोजना कोभिड लगायतका कारण ढिलो गरी सम्पन्न भए पनि यसले काठमाडौँ उपत्यकाको यातायात आवतजावतलाई थप सहज र द्रुत बनाउने अपेक्षा गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार