विश्वभर खाद्यवस्तुको मूल्य पछिल्लो तीन वर्षयताकै उच्च बिन्दुमा

२७ बैसाख, २०८३, आइतवार
सारांश
  • प्रतिवेदनअनुसार अमेरिका–इरान युद्धका कारण विश्व खाद्य बजारमा ठूलो दबाब परेको छ। संगठनले आगामी महिनाहरूमा खाद्यवस्तुको मूल्य अझ बढ्न सक्ने चेतावनीसमेत दिएको छ ।

काठमाडौँ: विश्वभर खाद्यवस्तुको मूल्य पछिल्ला तीन वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको खाद्य तथा कृषि संगठनका अनुसार अप्रिल महिनामा खाद्य वस्तु मूल्य सूचकांक १.६ प्रतिशतले बढेको छ । यो वृद्धि गत वर्षको तुलनामा २. ५ प्रतिशत बढी हो ।

 

प्रतिवेदनअनुसार अमेरिका–इरान युद्धका कारण विश्व खाद्य बजारमा ठूलो दबाब परेको छ। संगठनले आगामी महिनाहरूमा खाद्यवस्तुको मूल्य अझ बढ्न सक्ने चेतावनीसमेत दिएको छ ।

 

इरान युद्ध सुरु भएको १० हप्ता पुगेको छ । युद्धका कारण हर्मुज सामुद्रिक मार्ग बन्द भएपछि डिजेल, रासायनिक मल तथा कृषि उत्पादनका लागि आवश्यक सामग्रीको आपूर्ति प्रभावित भएको छ । इन्धन र मलको मूल्य बढेसँगै किसानलाई खेती गर्न कठिन भइरहेको छ। यसको प्रत्यक्ष असर आगामी समयमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्ने अनुमान गरिएको छ।

 

प्रतिवेदनमा सबैभन्दा बढी असर वनस्पति तेलमा परेको उल्लेख छ । कच्चा तेलको मूल्य बढेपछि जैविक इन्धनको माग बढेको र त्यसकै प्रभावले मार्चको तुलनामा वनस्पति तेलको मूल्य ५ .९ प्रतिशतले बढेको बताइएको छ। यो वृद्धि जुलाई २०२२ पछिकै उच्च हो।

 

मासुको मूल्य पनि १.२ प्रतिशतले बढेको छ, जुन हालसम्मकै उच्च स्तर मानिएको छ । त्यस्तै अन्नको मूल्यमा ०.८ प्रतिशत वृद्धि भएको छ ।

 

खाद्य तथा कृषि संगठनका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले अहिले कृषि तथा खाद्य उद्योग पुरानो मौज्दात बिक्री गरेर टिकिरहेको बताएका छन् । उनका अनुसार कच्चा पदार्थ र ऊर्जाको बढ्दो लागत पूर्ण रूपमा बजारमा प्रतिबिम्बित हुन थालेपछि उपभोक्ताले अझ ठूलो महँगीको सामना गर्नुपर्नेछ ।

 

टोरेरोले तनाव ९० दिनभन्दा लामो समयसम्म जारी रहे सन् २०२६ को अन्त्य र २०२७ मा विश्व खाद्य संकटको जोखिम उल्लेखनीय रूपमा बढ्ने चेतावनी दिएका छन् । खराब मौसम र सन् २०२६ मा गहुँ खेती कम हुने अनुमानले पनि अन्नको मूल्य बढाएको छ । मलको मूल्य महँगिएपछि किसानहरू कम मल प्रयोग हुने बालीतर्फ आकर्षित हुन थालेका छन् ।

 

विज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय वस्तु बजारमा आएको मूल्यवृद्धिको प्रभाव खुद्रा बजारसम्म पुग्न केही समय लाग्ने भए पनि खाद्य महँगी अझ बढ्ने लगभग निश्चित भइसकेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार