बैंकिङ क्षेत्र सुधार कार्यदलको प्रतिवेदन- छुट्टै नियामकदेखि मर्जरसम्मको सुझाव

२०८२ पुष ११ शुक्रवार
सारांश
  • विशेषगरी कार्यदलको प्रतिवेदनले कर्जा नीतिमा लचकता अपनाउन जोड दिएको छ ।

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ ।

गत जेठमा गठन गरिएको उच्चस्तरीय बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझाएको प्रतिवेदन हालै राष्ट्र बैंकले सार्वजनिक गरेको हो ।

 

कार्यदलको प्रतिवेदनले लघुवित्त र गैर–बैंकिङ संस्थाका लागि छुट्टै नियामक निकायदेखि मर्जरसम्मको सुझाव दिएको छ ।

 

गत जेठमा डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित तीन सदस्यीय कार्यदलले नीतिगत उदारता, प्रुडेन्सियल नियमन र संरचनात्मक सुधारमा जोड दिँदै प्रतिवेदन बुझाएको हो ।

 

सुस्त अर्थतन्त्रलाई गति दिन, वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न र बढ्दो निष्क्रिय कर्जा न्यूनीकरणका लागि प्रतिवेदनले सुझाव दिएको छ ।

 

बैंक तथा वित्तीय संस्थाहरूको प्रभावकारी सुपरीवेक्षणका लागि ‘बेसिक रेगुलेसन, मोर सुपरभिजन’को अवधारणा अघि सारेको छ ।

 

लघुवित्त संस्थाहरूको लागि बङ्गलादेशको मोडेलजस्तै छुट्टै नियामक निकाय स्थापना गर्नुपर्ने सुझाव दिइएको छ । यसका साथै कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष जस्ता गैर–बैंकिङ संस्थाका लागि पनि छुट्टै नियामक संयन्त्र बनाउनुपर्ने विषय समेटिएको छ ।

 

राष्ट्र बैंकले गर्दै आएको मूल्य सूचकांक गणनाको कार्य राष्ट्रिय तथ्यांक कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने, नेपाली मुद्राको आफ्नै छुट्टै पहिचानयुक्त ‘चिह्न’ बनाउनुपर्ने र ‘क्रस होल्डिङ’ भएका संस्थालाई मर्जरमा जानका लागि कार्यदलले सुझाव दिएको छ ।

 

विशेषगरी कार्यदलको प्रतिवेदनले कर्जा नीतिमा लचकता अपनाउन जोड दिएको छ ।

 

कार्यदलले मर्जर तथा एक्विजिसनमा जाने सम्बन्धित संस्थाले नै स्वाप रेसियो लगायत सम्पूर्ण प्रक्रियाका बारेमा प्रचलित कानून अनुसार निर्णय गर्ने अधिकार दिन सुझाएको छ । नेपाल राष्ट्र बैंकले पनि सो प्रक्रिया चाँडो सम्पन्न गर्न सहजीकरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

 

  • यस्ता छन् प्रतिवेदनका मुख्य सुझाव :
    ग्रामीण क्षेत्रमा ५ लाख र सहरी क्षेत्रमा १० लाख रूपैयाँसम्मको व्यवसाय कर्जा उचित धितोमा सरल रूपमा उपलब्ध गराउने व्यवस्था गर्ने ।
  • कोभिडपछि समस्यामा परेका व्यवसायका लागि व्यावसायिक सम्भावना हेरी सुरक्षित कर्जाको पुनर्संरचना गर्ने सुविधा दिने ।
  • नेपाललाई आगामी दुई वर्षभित्र वित्तीय कारबाही कार्यदलको ‘ग्रे लिस्ट’बाट हटाउन नेपाल राष्ट्र बैंक निकै सक्रिय हुनुपर्ने ।
  • हतारमा नभएर संस्थाहरूले प्रशस्त समय लिएर मर्जरको निर्णय गर्नुपर्ने ।
  • सञ्चालक समितिको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतमा नयाँ व्यक्ति चयन गर्दा मर्जरपछि पनि राम्रो हुनसक्ने देखिएकाले संस्थाहरूलाई सोबारेमा अध्ययन गर्नुपर्ने ।
  • नयाँ संस्थामा समान तहमा काम गर्ने कर्मचारीहरूको पारिश्रमिक निश्चित अवधिभित्रमा समान बनाउनुपर्ने ।
  • नेप्सेबाट राष्ट्र बैंक बाहिरिनुपर्ने र राष्ट्रिय वाणिज्य बैंकको आईपीओ जारी गर्नुपर्ने ।
  • पुँजी बजारको विकासका लागि नेपाल राष्ट्र बैंकको भूमिका समन्वयात्मक हुनुपर्ने । नेपाल स्टक एक्सचेन्जमा रहेको राष्ट्र बैंकको प्रतिनिधित्व स्वार्थ बाझिने हुनाले फिर्ता बोलाउनुपर्ने ।
  • पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न आवश्यक पहल गर्ने, मर्जर हतारमा नभई सफ्टवेयर, मानव संशाधन र संस्कृतिको संयोजन मिलाएर मात्र गर्नुपर्ने ।
  • राष्ट्र बैंकबाट नेप्सेमा सञ्चालक प्रतिनिधित्व स्वार्थ बाझिने हुनाले वैकल्पिक व्यवस्था गरी प्रतिनिधिहरूलाई फिर्ता बोलाउनु पर्ने ।
  • पुँजीबजारमा कर्जा प्रवाहको लागि विश्वको असल अभ्यास अनुशरण गरी वाणिज्य बैंकले ब्रोकरमार्फत् हुने मार्जिन कर्जालाई प्राथमिकता दिनुपर्ने ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार