र्‍यापर बादशाहको वैवाहिक सम्बन्धमा दरारको संकेत, पत्नीको पोष्टले हंगामा

२०८३ श्रावण १२ मङ्गलवार
सारांश
  • भारतीय गायक तथा र्‍यापर बादशाहकी पत्नी तथा अभिनेत्री ईशा रिखीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पोष्टले उनीहरुको बैवाहिक जीवनमा संकट आएको संकेत गरेको छ ।

काठमाण्डौ, १२ श्रावण । भारतीय गायक तथा र्‍यापर बादशाहकी पत्नी तथा अभिनेत्री ईशा रिखीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पोष्टले उनीहरुको बैवाहिक जीवनमा संकट आएको संकेत गरेको छ । विवाह भएको छ महिना पनि पूरा नहुँदै उनले वैवाहिक सम्बन्धमा समस्या आएको सङ्केत गरेपछि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी शुरु भएको छ ।

 

ईशाले इन्स्टाग्राममा लेखेकी छन्- 'केही संघर्ष यस्ता हुन्छन्, जसका बाहिरी घाउ देखिँदैनन् । म लामो समयसम्म मौन रहेँ, किनकि मलाई डर थियो । श्रीमानको हैसियत, शक्ति र प्रभावका कारण म असुरक्षित महसुस गर्थें । मैले मौन बस्नु नै सुरक्षित विकल्प हो भन्ने विश्वास गर्न थालेकी थिए । मेरो मौनताको अर्थ सबै कुरा स्वीकार गरेको होइन, त्यो केवल परिस्थितिसँग जुध्ने एउटा उपाय थियो । आज म डर होइन, साहस रोजिरहेकी छु । अहिले नै सबै कुरा भन्न तयार छैन, तर सबै ठीक छ भन्ने अभिनय भने अब गर्न सक्दिन ।'

 

ईशाको यो अभिव्यक्तिपछि उनी र बादशाहबीच सम्बन्धमा दरार आएको चर्चा सामाजिक सञ्जालमा तीव्र बनेको छ । यद्यपि, उनले आफ्नो सन्देशमा कुनै विशेष घटना वा आरोपबारे विस्तृत खुलाएकी छैनन् भने बादशाहले पनि यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

 

ईशा रिखी पञ्जाबी चलचित्र उद्योगकी चर्चित अभिनेत्री तथा मोडल हुन् । उनको जन्म सन् १९९३ सेप्टेम्बर ९ मा चण्डीगढमा भएको हो । उनले पञ्जाब विश्वविद्यालयबाट स्नातक तहको अध्ययन पूरा गरेकी छन् भने कक्षा १२ मै अध्ययनरत रहँदा मोडलिङ सुरु गरेकी थिइन् ।

 

उनले सन् २०१३ मा पञ्जाबी चलचित्र ‘जट्ट ब्वाइज पुट्ट जट्टान दे’ मार्फत अभिनय यात्रा सुरु गरेकी थिइन् । त्यसपछि ‘ह्याप्पी गो लक्की’ लगायतका धेरै पञ्जाबी चलचित्रमा अभिनय गरेकी छन् ।

 

चलचित्रसँगै ईशाले विभिन्न व्यावसायिक विज्ञापनमा पनि काम गरेकी छन् । उनले अक्षय कुमार, सोनम कपुर र अमिताभ बच्चनसँग विज्ञापनमा समेत सहकार्य गरिसकेकी छन् । सन् २०१८ मा ‘नवाबजादे’ चलचित्रमार्फत उनले हिन्दी चलचित्र उद्योगमा पनि प्रवेश गरेकी थिइन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार