- पर्यटन प्रवर्द्धनमा समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा यही फागुन १२ देखि १४ गतेसम्म प्रदर्शनी आयोजना गरिएको थियो ।
काठमाडौँ, १८ फागुन : नेपालमा पहिलोपटक आयोजना भएको त्रिदेशीय पर्यटन एक्स्पो (नेपाल इन्डिया चाइना एक्स्पो) नाइस–२०२५ मा नेपालको प्रवर्द्धन गरिएको छ ।
छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने र पर्यटन प्रवर्द्धनमा समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा यही फागुन १२ देखि १४ गतेसम्म प्रदर्शनी आयोजना गरिएको थियो ।
‘प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टर’ले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार सरोकारवालाको सहकार्यमा आयोजना गरेको एक्स्पोमा एक सयभन्दा बढी अन्तरराष्ट्रिय सहभागी र राष्ट्रिय पर्यटन सरोकारवालासहित १४ देशका ६ सयभन्दा बढी प्रतिनिधि सहभागी थिए ।
प्रदर्शनीले तीन देशका सरकारी र निजी क्षेत्रका पर्यटन तथा आतिथ्य सरोकारवाला संस्थालाई एकै थलोमा ल्याएर उनीहरूबीच व्यावसायिक अनुभवका साथै नेटवर्किङ र व्यापार अवसर उपलब्ध गराएको हो ।
त्रिदेशीय पर्यटन प्रदर्शनी नेपालमा आयोजना हुनु आफैँमा महत्त्वपूर्ण विषय भएको र यसले नेपालको पर्यटनको सम्भावना उजागर गर्न भूमिका खेलेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी बताउनुहुन्छ । “मुख्यतः विश्वका दुई ठूला ‘आउटबाउन्ड’ मार्केटलाई नेपालमा ल्याएर जोड्ने र पर्यटनको लाभ लिने एक्स्पोको उद्देश्य हो”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय इभेन्टहरू आयोजना गरेर नेपालको क्षमता अभिवृद्धि गर्ने पनि एक्स्पोको योजना हो ।
अर्को महत्त्वपूर्ण कुरा प्रतिष्ठित ट्राभल टुर अपरेटर, मिडिया र इन्फ्लुएन्सरलाई नेपालको पर्यटकीय गन्तव्यको भ्रमण गराएर नेपाल प्रवरद्धनका निम्ति उपयोगी फोरम बनेको छ ।” सन् २०१९ मै नेपाल पर्यटन बोर्डले सन् २०२० को नेपाल भ्रमण वर्षलाई लक्षित गरेर नाइस कार्यक्रमको परिकल्पना गरेको थियो ।
कोरोना महामारीका कारण भ्रमण वर्ष नै स्थगन भएपछि नाइस कार्यक्रम पनि रोकिएको थियो । अहिले पाटा नेपाल, पोखरा पर्यटन परिषद्लगायत सरोकारवाला संस्थासँगको सहकार्यमा सफलतापूर्वक सम्पन्न भएको नाइस कार्यक्रमले भविष्यमा दुई ठूला छिमेकी देशबाट पर्यटकलाई नेपालमा आकर्षण गर्न कार्यक्रम सान्दर्भिक हुने सिइओ जोशी बताउनुहुन्छ ।
भारत र चीन पर्यटनको ठूलो स्रोत बजार मानिन्छन् । एक्स्पो सफलतापूर्वक सम्पन्न भएको र यसबाट नेपाल गन्तव्यको प्रवर्द्धनमा टेवा पुगेको आयोजक पाटा नेपाल च्याप्टरले शनिबार विज्ञप्तिमार्फत जनाएको छ । प्रदर्शनीले छिमेकी दुई ठूला राष्ट्र भारत र चीनबाट अधिकतम् पर्यटक भित्र्याउन योगदान गरेको पर्यटन व्यवसायीले बताएका छन् ।
यसअघि एक्स्पोको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नाइस–२०२५ ले नेपाल, भारत र चीनबीचको गहिरो ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई झल्काउने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले दुई छिमेकी राष्ट्रबीचको पुलको रूपमा नेपालको रणनीतिक भूमिका र विशाल जनसङ्ख्या तथा तीव्रगतिमा बढ्दो अर्थतन्त्रबाट फाइदा लिन सक्ने सम्भावनाबारे प्रकाश पार्नुभयो ।
मन्त्री पाण्डेले पूर्वाधार सुधार, नेपालको अन्तरराष्ट्रिय विमानस्थलका चुनौती समाधान, युरोपेली सङ्घ (इयू) को हवाई सुरक्षा प्रतिबन्धलाई सम्बोधन गर्ने, भिसा प्रक्रियालाई सुव्यवस्थित गर्ने, कनेक्टिभिटी अभिवृद्धि र विश्वस्तरको पर्यटन सेवा सुनिश्चित गरी पर्यटन उद्योगलाई बलियो बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले यस प्रदेशको अथाह पर्यटकीय सम्भावनाको उजागर गर्न र विदेशीलाई आकर्षित गर्न कार्यक्रम उपयोगी भएको बताउनुभयो । पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाले पनि नाइसले पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताउनुभयो ।
यस्तै, पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाईले दुई ठूला स्रोत बजार भारत र चीनलाई सदुपयोग गरेर नेपाललाई प्रमुख गन्तव्यका रूपमा स्थापित गरिनुपर्नेमा जोड दिनुभयो । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) का सिइओ नूरअहमद हमिदले एक्स्पो आयोजना गरेकामा नेपाललाई बधाई दिँदै रणनीतिक गठबन्धनलाई बढावा दिन र पर्यटन क्षेत्रमा नयाँ अवसर खोज्न कार्यक्रमले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।