विश्वकपको उपाधिका बलिया दाबेदार फ्रान्स र स्पेनबीच सेमिफाइनलमा भिडन्त

२०८३ अषाढ़ ३० मङ्गलवार
सारांश
  • प्रतियोगिताका दुई प्रमुख उपाधि दाबेदार मानिएका यी टोलीबीचको प्रतिस्पर्धालाई विश्वकपकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एकका रूपमा हेरिएको छ । यस खेलको विजेताले उपाधिका लागि इङ्ग्ल्यान्ड वा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

काठमाण्डौ, ३० अषाढ़ । जारी फिफा विश्वकप फुटबल अन्तर्गत पहिलो सेमिफाइनलमा आजराती फ्रान्स र स्पेन आमनेसामने हुँदैछन् । अमेरिकाको डलास रंगशालामा हुने यो खेल नेपाली समय अनुसार आजराती १२: ४५ बजेदेखि शुरु हुँदैछ ।  

 

प्रतियोगिताका दुई प्रमुख उपाधि दाबेदार मानिएका यी टोलीबीचको प्रतिस्पर्धालाई विश्वकपकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एकका रूपमा हेरिएको छ । यस खेलको विजेताले उपाधिका लागि इङ्ग्ल्यान्ड वा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

 

फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै यस विश्वकपमा लगातार छैटौं जित निकालेको थियो । अब स्पेनलाई पराजित गर्न सके फ्रान्स विश्वकप इतिहासमा लगातार सात खेल जित्ने दोस्रो युरोपेली टोली बन्नेछ । यसअघि इटालीले सन् १९३४ र १९३८ को विश्वकपमा लगातार सात जित हासिल गरेको थियो । विश्वकपको अन्तिम चारमा फ्रान्सको यो आठौं यात्रा हो । जर्मनीपछि सबैभन्दा धेरै पटक सेमिफाइनल पुगेको टोली पनि फ्रान्स नै हो । सन् १९९८, २००६, २०१८ र २०२२ मा फ्रान्सले लगातार चारपटक सेमिफाइनल जितेको छ । पछिल्ला तीन सेमिफाइनलमा उसले कुनै गोल पनि खाएको छैन । यदि फ्रान्स फाइनलमा पुग्न सफल भयो भने जर्मनी र ब्राजिलपछि लगातार तीन विश्वकप फाइनल खेल्ने तेस्रो राष्ट्र बन्नेछ । फ्रान्सका कप्तान किलियन एम्बाप्पे यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मोरक्कोविरुद्ध खेल्दा सामान्य समस्या देखिए पनि स्पेनविरुद्ध खेल्नेछन् ।

 

यस प्रतियोगितामा उनले आठ गोल गरिसकेका छन् । गोल्डेन बुटको दौडमा उनी लियोनेल मेसीसँग बराबरीमा छन् । विश्वकपका नकआउट चरणमा एम्बाप्पेको कुल गोल संख्या १२ पुगेको छ, जुन अहिलेसम्मकै सर्वाधिक हो । यद्यपि उनले यसअघि खेलेका दुवै सेमिफाइनलमा भने गोल गर्न सकेका छैनन् । एम्बाप्पे र उस्मान डेम्बेलेबीचको समझदारी पनि फ्रान्सका लागि बलियो पक्ष बनेको छ । उनीहरूले एकअर्काका लागि १९ अवसर सिर्जना गरिसकेका छन्, जुन विश्वकप इतिहासकै उत्कृष्ट साझेदारीमध्ये एक हो ।

 

अर्कोतर्फ स्पेनले यस विश्वकपमा उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गरेको छ । क्वार्टरफाइनलमा बेल्जियमलाई २-१ ले हराउदा चार्ल्स डे केटेलारेले गरेको हेडर नै प्रतियोगिताभर स्पेनले खाएको एकमात्र गोल हो । बेल्जियमविरुद्धको खेल अतिरिक्त समयमा जाने देखिएको अवस्थामा वैकल्पिक खेलाडी मिकेल मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनल पुर्‍याएका थिए । उनी विश्वकप इतिहासमा नकआउट चरणका दुई खेलमा वैकल्पिक खेलाडीका रूपमा विजयी गोल गर्ने पहिलो खेलाडी बनेका छन् । सन् २०१८ विश्वकपयता स्पेनले प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका २७ खेलमध्ये केवल एक खेल मात्र हारेको छ । सन् २०२२ को विश्वकपमा जापानसँग पराजित भएपछि स्पेन लगातार १४ खेलमा अपराजित छ । यस अवधिमा उसले केवल पाँच गोल मात्र खाएको छ र नौ खेलमा कुनै गोल खाएको छैन । स्पेन सन् २०१० पछि पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

 

दुवै टोलीमा कुनै खेलाडी प्रतिबन्धमा छैनन् । फ्रान्सले विलियम सालिबा, दायो उपामेकानो र ओरेलिए चुआमेनीको शारीरिक अवस्थामाथि विशेष निगरानी राखेको छ । चुआमेनी मांसपेशीको समस्याका कारण पछिल्ला दुई खेल गुमाएका थिए । त्यस्तै स्पेनका निको विलियम्स चोटमुक्त भएपछि खेल्ने अपेक्षा गरिएको छ भने येरेमी पिनो पनि काँधको चोटबाट फर्किन सक्ने सम्भावना छ ।

 

विश्वकपमा फ्रान्स र स्पेनबीच यो दोस्रो भेट हुनेछ । यसअघि सन् २००६ को अन्तिम १६ को खेलमा फ्रान्सले ३-१ को जित निकालेको थियो । तर पछिल्ला १० अन्तर्राष्ट्रिय भेटमध्ये स्पेनले सात खेल जितेको छ भने फ्रान्सले केवल दुई खेलमा सफलता पाएको छ । स्पेनले पछिल्ला दुई भेटमा लगातार जित निकालेको छ ।

 

युरोकप २०२४ को सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ ले हराएको थियो । त्यसपछि गत वर्ष राष्ट्र लिगको अन्तिम चारको रोमाञ्चक खेलमा पनि स्पेनले फ्रान्सलाई ५-४ ले पराजित गरेको थियो ।

 

स्पेनका युवा स्टार लामिन यमालले सेमिफाइनलअघि भनेका छन्- 'फ्रान्स लगातार तेस्रो विश्वकप फाइनलमा पुग्ने कि हामी उनीहरूलाई लगातार तेस्रो पटक हराउने भन्ने कुरा मैदानमै तय हुनेछ । जे भए पनि हामी फ्रान्ससँग डराएका छैनौँ ।'

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार