‘नागरिक शक्ति, नेपाल’ द्वारा निर्वाचन बहिष्कारको घोषणा

२०८२ माघ ०६ मङ्गलवार
सारांश
  • पार्टीका महासचिव सुभास प्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकारले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउन नसक्ने आरोप लगाइएको छ ।

काठमाडौँ: नागरिक शक्ति, नेपालले आगामी फागुन २१ गतेका लागि तय गरिएको संसदीय निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको सम्पूर्ण प्रक्रियाबाट बाहिरिने र समानुपातिकतर्फ दर्ता गरिएका आफ्ना २५ जना उम्मेदवारको नाम फिर्ता लिने निर्णय गरेको जानकारी दिएको हो ।

 

पार्टीका महासचिव सुभास प्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकारले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउन नसक्ने आरोप लगाइएको छ । मुलुक अराजकता, भ्रष्टाचार र बेथितिबाट आक्रान्त बनेको अवस्थामा केवल सरकार परिवर्तनले मात्र निकास नदिने भन्दै पार्टीले आमूल परिवर्तनको पक्षमा उभिने स्पष्ट पारेको छ ।

 

विज्ञप्तिमा उल्लेख भएअनुसार, गत भदौमा भएको ‘जेन्जी’आन्दोलनको सम्मतिमा गठित सुशीला कार्की नेतृत्वको सरकारले देशलाई सङ्कटबाट मुक्त गर्ने अपेक्षा गरिएको थियो । तर, सरकारमा सहभागी मन्त्री र सल्लाहकारहरू विध्वंसात्मक गतिविधिमा संलग्न दलहरूसँग आबद्ध रहेको र उनीहरूकै नियन्त्रणमा सरकार सञ्चालन भइरहेकाले निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरिएको छ ।

 

"सरकारको हालसम्मको क्रियाकलापले उ निष्पक्ष नरहने स्पष्ट पारेको छ । निर्वाचन स्वयम् एउटा अस्वाभाविक द्वन्द्व र हिंसाको कारण बन्ने सम्भावना टड्कारो देखिएको छ," विज्ञप्तिमा भनिएको छ ।

 

नागरिक शक्ति, नेपालले चुनावी मैदानलाई रणक्षेत्र बनाइने सङ्केतहरू देखिएको र निर्वाचनपश्चात् पनि देशले निकास पाउने कुनै आधार नदेखिएको दाबी गरेको छ । राजनीतिक निकासको मार्ग सुनिश्चित गर्न र निष्पक्ष वा सर्वपक्षीय सरकार गठन नभएसम्म वर्तमान सरकारले गराउने कुनै पनि निर्वाचनमा सहभागी नहुने अडान पार्टीले लिएको छ ।

 

पार्टीले आफ्ना २५ जना उम्मेदवारको नाम फिर्ता लिँदै निर्वाचन अस्वीकार गर्ने यो निर्णयले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार