चर्चित निर्वाचन क्षेत्र: कस्तो छ धनुषा- ३ को चुनावी अंकगणित ?
२०८२ फाल्गुण ०८ शुक्रवार
- फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक मधेश प्रदेशको धनुषा-३ निर्वाचन क्षेत्र चर्चामा रहेको छ ।
काठमाण्डौ, ०८ फाल्गुण । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक मधेश प्रदेशको धनुषा-३ निर्वाचन क्षेत्र चर्चामा रहेको छ । यस क्षेत्रमा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधी, रास्वपा नेता मनिष झा र एमाले नेतृ जुली कुमारी महतो उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।
धनुषा ३ मा मुखियापट्टी मुसहरनिया, नगराईन नगरपालिका, धनौज गाउँपालिका, विदेह नगरपालिकाको वडा नम्बर ९ र जनकपुर उपमहानगरपालिकाको वडा वडा नम्बर १ देखि ८ सम्म तथा वडा नम्बर १०, १२, १५, १६ र २० सम्म र वडा नम्बर २३, २४ र २५ समावेश रहेका छन् ।
निर्वाचन आयोगका अनुसार धनुषा-३ मा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख २५ हजार ९२७ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १५५ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन- २०७९
२०७९ को निर्वाचनमा धनुषा-३ बाट एमालेकी जुली कुमारी महतो विजयी भएकी थिइन् । महतोले ३३ हजार ३८८ मत प्राप्त गरेर विजयी भएकी थिइन् । त्यस्तै दोस्रो भएका लोसपाका अनिल कुमार झाले २३ हजार ६८६ मत प्राप्त गरेका थिए भने जनमत पार्टीका शम्भु नाथ शाहले ७ हजार ३७४ मत पाएका थिए ।
त्यसैगरी २०७९ को समानुपातिकतर्फ धनुषा-३ मा नेपाली काँग्रेसले सबैभन्दा बढी २५ हजार १९५ मत प्राप्त गरेको थियो भने एमालेले १७ हजार ८७४ मत पाएको थियो । त्यसैगरी जनमतले ८ हजार ८२ मत पाएको थियो भने जसपा नेपालले ५ हजार ३१७ मत प्राप्त गरेको थियो ।
उम्मेदवार- २०८२
यस पटक धनुषा-३ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर ४५ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यो चुनावमा धनुषा- ३ मा भने हाइप्रोफाइल नेताहरुको भिडन्त रहेको छ । यस क्षेत्रमा अघिल्लो पटक समानुपातिक सांसद रहेका काँग्रेसका विमलेन्द्र निधि उम्मेदवार बनेका छन् । त्यस्तै एमालेले यस पटक पनि जुली कुमारी महतोलाई उम्मेदवार बनाएको छ । त्यस्तै यस अघि समानुपतिक सांसद रहेका रास्वपा प्रवक्ता मनिष झा यस पटक यस क्षेत्रबाट उम्मेदवार बनेका छन् । त्यस्तै नेकपाले यस क्षेत्रमा राम ललित मण्डललाई उम्मेदवार बनाएको छ भने जनमत पार्टीले गोपाल प्रसाद शाहलाई उम्मेदवार बनाएको छ । त्यसैगरी जसपा नेपालले परमेश्वर साह सुडीलाई उम्मेदवार बनाएको छ ।
निष्कर्ष:
विमलेन्द्र निधि, मनिष झा र जुली कुमारी महतो जस्ता नेताहरुको उम्मेदवारीले यस क्षेत्रलाई निकै रोचक बनाएको छ । यस पटक गत निर्वाचनको भन्दा समीकरण बदलिएको छ । किनकी गत निर्वाचनमा यस क्षेत्रमा काँग्रेसले लोसपालाई समर्थन गरेको थियो । गत निर्वाचनको समानुपातिक मतको विश्लेषण गर्दा यस क्षेत्रमा काँग्रेसको मत नै धेरै छ । तर यस पटक रास्वपाको लहर र काँग्रेसबाट हाइप्रोफाइल नेता विमलेन्द्र निधी उम्मेदवार रहेका कारण एमालेलाई मुश्किल हुने देखिन्छ ।
गत निर्वाचनमा समग्र मधेशमा रास्वपा कमजोर रहेकोमा यस पटक मधेशकै बालेन शाहलाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाएर रास्वपाले मधेशको जनमत लिने कोसिस गरिरहेको छ । तर काँग्रेसले सभापति गगन थापालाई मधेश पठाएर रास्वपालाई रोक्ने प्रयास गरेको देखिन्छ । अब यस क्षेत्रमा रास्वपाले कति मत पाउछ या चुनाव जित्ने अवस्थामा पुग्छकी पुग्दैन भन्ने अनुमान गर्न अहिले मुश्किल नै छ । स्थानीयसँग कुरा गर्दा पनि मतदाता अहिलेसम्म पर्ख र हेरको अवस्थामा नै रहेको देखिन्छ । उनीहरुको मनोविज्ञान अझै पनि यसलाई नै मत दिने भन्ने निष्कर्षमा पुग्न नसकेको बुझ्न सकिन्छ । केहि मतदाता परिवर्तनको पक्षमा देखिएका छन् भने बर्षौं देखि स्थानीय रुपमा सहयोग गरिरहेका नेताहरुलाई एकै पटक छोड्दा पछि परेको बेला सहयोग पाइन्छ या पाइदैन भन्ने डर पनि मतदातामा देखिएको छ ।
यसरी अहिलेसम्मको अवस्था हेर्दा यस क्षेत्रमा एमाले, काँग्रेस र रास्वपाबीच नै प्रमुख प्रतिष्पर्धा हुने देखिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’