- अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि विश्वका धनाढ्य व्यवसायी एलन मस्क फेरि चर्चामा आएका छन् ।
काठमाडौं : अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि विश्वका धनाढ्य व्यवसायी एलन मस्क फेरि चर्चामा आएका छन् ।
निर्वाचनअघि रिपब्लिकन उम्मेदवारहरूको समर्थनमा खुलेर प्रचार गरेका मस्कले सामाजिक सञ्जालमा राखेको चर्चित पोस्ट ‘भोट रेड टुडे !’ हटाएका छन् । मस्कको कृत्रिम बौद्धिकता प्रविधिमा आधारित संवाद प्रणाली ग्रोकले समेत सोधिएको प्रश्नको जवाफमा उक्त पोस्ट हटाइएको बताएको छ ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि बुधबार बिहान मस्क सामाजिक सञ्जालमा निकै सक्रिय देखिएका थिए । उनले निर्वाचन नतिजा र त्यसको विश्लेषणसँग सम्बन्धित विभिन्न पोस्ट पुनः साझा गरेका थिए ।
अमेरिकी पूर्वी समयअनुसार राति करिब १ बजे उनले व्यंग्यात्मक शैलीमा लेखेका थिए, ‘यसपटक मेरो निर्वाचनमा हस्तक्षेप गर्ने अन्तरिक्ष लेजरहरूले काम गरेनछन् जस्तो छ ।’ यसअघि उनले अन्तरिक्षमै तथ्याङ्क केन्द्र निर्माण गर्ने विषयमा पनि टिप्पणी गरेका थिए । त्यस्तै, रिपब्लिकन पार्टीका नीतिलाई समर्थन गर्ने मतदाताले समेत डेमोक्र्याटिक उम्मेदवारलाई मतदान गरेको दाबी गरिएको एउटा पोस्टमा पनि मस्कले प्रतिक्रिया दिएका थिए ।
उनले जवाफमा क्यालिफोर्नियामा मतदाता परिचयपत्र अनिवार्य गर्ने प्रस्ताव असफल भएको विषय उठाएका थिए । उक्त प्रस्तावअनुसार मतदान गर्न सरकारी तस्बिरसहितको परिचयपत्र वा हुलाकमार्फत मतदान गर्दा पहिचानसम्बन्धी विवरण अनिवार्य गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको थियो ।
निर्वाचनअघि रिपब्लिकन उम्मेदवारहरूको पक्षमा सक्रिय देखिएका मस्क निर्वाचन परिणामपछि आफ्नै पुरानो पोस्ट हटाएको दाबीसहित पुनः चर्चामा आएका हुन् ।
दुवै सदनमा डेमोक्रेटको बहुमत भएपछि अब मस्कको समेत संकट बढ्ने अनुमान गरिएको छ । मस्कका कम्पनीले अमेरिकी सरकारबाट बर्षेनी पाउने अर्बौं डलरको ठेक्कामा समेत प्रभाव पर्न सक्ने अड्कलबाजी गरिएको छ ।
मस्कले यस निर्वाचनमा रिपब्लिकन उम्मेदवारलाई जिताउन करिब ४५ करोड डलर खर्च गरेको दाबि गरिएको छ । निर्वाचनमा कुनै एक व्यक्तिले खर्च गरेको यो अहिलेसम्मकै ठूलो रकम भएको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।