बडादशैंको घटस्थापना आज, कति बेला छ उत्तम साइत ?

२५ असोज, २०८३
सारांश
  • बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

काठमाण्डौ, २५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ ।

 

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

 

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

 

जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद्हरु बताउछन् । कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

 

कति बेला छ घटस्थापनाको शुभ साइत ?

 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ । घटस्थापनाका लागि बिहान ११: ४७ बजेको समय निर्धारण गरिएको छ । यस दिनबाट बडादसैँको मुख्य धार्मिक अनुष्ठान सुरु हुनेछ । त्यसैगरी असोज २६ गते सोमबार झण्डा फेर्ने कार्यक्रम रहेको छ । यसका लागि पश्चिम मोहडा निर्धारण गरिएको छ । असोज २९ गते बुधबार श्री पचलीभैरव यात्रा हुनेछ । असोज ३१ गते शनिबार फूलपाती भित्र्याउने तथा श्री तुलजाभवानी यात्रासहितका धार्मिक विधि हुनेछन् । सो दिन श्री तुलजाभवानी यात्राका लागि बिहान ७: ३० बजे र स्थिरासनका लागि बिहान १०: ३२ बजेको समय निर्धारण गरिएको छ । त्यसपछि कार्तिक १ गते आइतबार महाअष्टमी तथा कालरात्रि मनाइनेछ । त्यसपछि कार्तिक ३ गते मंगलबार महानवमी तथा विजयादशमीका प्रमुख धार्मिक विधि सम्पन्न हुनेछन् ।

 

दशमीको टिकाको शुभ साइत:

 

विजयादशमीका दिन देवी विसर्जन बिहान ८: ४८ बजे गर्ने साइत तोकिएको छ । त्यसपछि टीका लगाउने तथा टीका लगाइ माग्ने व्यक्ति पश्चिम फर्किने समय बिहान १०: २६ बजे निर्धारण गरिएको छ। सोही दिन श्री तुलजाभवानी यात्रा, स्थिरासन तथा खड्गयात्रासमेत हुने समितिको विवरणमा उल्लेख छ । श्री तुलजाभवानी यात्राका लागि बिहान १०: ४१ बजे र स्थिरासनका लागि दिउँसो ११: ५२ बजेको समय तोकिएको छ ।

 

समितिले कार्तिक ८ गते आइतबार अखिलबलीपूर्ति तथा कोजाग्रतपूजा हुने जनाएको छ । यससँगै २०८३ सालको बडादशैँसङ्ग सम्बन्धित मुख्य धार्मिक विधि तथा कार्यक्रमको क्रम पूरा हुनेछ । समितिले सार्वजनिक गरेको सूचनामा सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता नपर्ने उल्लेख गरिएको छ । बडादसैँका विभिन्न धार्मिक तथा सांस्कृतिक विधि परम्पराअनुसार सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले समितिले सम्बन्धित साइत तथा समय सार्वजनिक गरेको समितिले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार