कम्पनी रजिष्ट्रार कार्यालयको आकस्मिक अनुगमन, अनलाइन सेवाको विस्तारसँगै कर्मचारी कटौतीको प्रस्ताव
१९ आषाढ़, २०८३, शुक्रवार
- अनुगमनका क्रममा मन्त्री यादवले कार्यालयका विभिन्न शाखाको निरीक्षण गर्दै सेवाग्राहीलाई कुनै पनि प्रकारको झन्झट हुन नदिन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन नयाँ प्रविधिको अधिकतम प्रयोग गर्न निर्देशन दिएकी थिइन् ।
काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयमा आकस्मिक अनुगमन गरेका छन् । मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको टोलीसँग कार्यालय पुगेएकी यादवले सेवा प्रवाह, प्रविधिको प्रयोग तथा प्रशासनिक व्यवस्थाको अवस्थाबारे जानकारी लिएकी हुन् ।
अनुगमनका क्रममा कम्पनी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले पछिल्लो एक महिनामा कार्यालयले गरेको सुधारबारे मन्त्री यादवलाई जानकारी गराएका थिए । उहाँका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी प्रतिवेदनको सुझाव कार्यान्वयन गर्दै कम्पनी दर्ता प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार अब कम्पनी दर्ताका लागि सेवाग्राही कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ। घरबाटै अनलाइनमार्फत सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने व्यवस्था लागू गरिएको छ । साथै कम्पनी दर्तापछि स्थायी लेखा नम्बर प्राप्त गर्न आन्तरिक राजस्व कार्यालयमा छुट्टै जानुपर्ने आवश्यकता पनि हटाइएको छ। प्रविधिको एकीकृत प्रयोगबाट समय र लागत दुवै बचत हुने कार्यालयको दाबी छ ।
कार्यालयले सेवाग्राहीका गुनासा तथा जिज्ञासा समाधानका लागि कृत्रिम बौद्धिकता प्रविधिमा आधारित सहायता केन्द्र पनि सञ्चालनमा ल्याएको जनाएको छ। यसमार्फत चौबीसै घण्टा कम्पनी दर्तासम्बन्धी जानकारी तथा सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
अनुगमनका क्रममा मन्त्री यादवले कार्यालयका विभिन्न शाखाको निरीक्षण गर्दै सेवाग्राहीलाई कुनै पनि प्रकारको झन्झट हुन नदिन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन नयाँ प्रविधिको अधिकतम प्रयोग गर्न निर्देशन दिएकी थिइन् ।
यसैबीच, डिजिटल प्रणाली पूर्ण रूपमा लागू भएसँगै कार्यालयले जनशक्ति व्यवस्थापनमा पनि परिवर्तनको प्रस्ताव अघि सारेको छ । रजिष्ट्रार श्रेष्ठले प्रविधिको प्रभावकारी प्रयोगबाट कम कर्मचारीबाट पनि छिटो र बढी काम गर्न सकिने उल्लेख गर्दै २८ प्रतिशत कर्मचारी कटौतीको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष पेस गरिएको जानकारी दिइन् । यसबाट प्रशासनिक खर्चमा उल्लेखनीय कमी आउने विश्वास कार्यालयको छ ।
अनुगमन कार्यक्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको टोली सहभागी रहेको थियो। निरीक्षणका क्रममा रजिष्ट्रार श्रेष्ठले मन्त्री तथा मन्त्रालयको टोलीलाई कार्यालयका विभिन्न कार्यकक्ष र सेवा प्रवाह प्रणालीबारे जानकारी गराएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।