स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको अन्तिम १६ मा

२०८३ असार १७ बुधबवार
सारांश
  • यस खेलमा दुई गोल गरेका फ्रान्सका कप्तान किलियन एम्बाप्पे विश्वकपको नकआउट चरणमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

काठमाण्डौ, १७ अषाढ़ । फ्रान्सले स्विडेनलाई ३-० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । अब फ्रान्सले क्वार्टरफाइनल प्रवेशका लागि पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।

 

यस खेलमा दुई गोल गरेका फ्रान्सका कप्तान किलियन एम्बाप्पे विश्वकपको नकआउट चरणमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले नकआउट चरणमा आफ्नो कुल गोल संख्या १० पुर्‍याउँदै नयाँ कीर्तिमान कायम गरेका छन् । साथै, जारी विश्वकपमा उनको गोल संख्या ६ पुगेको छ । यससँगै उनी अर्जेन्टिनाका लियोनेल मेसीसँग सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका छन् । साथै विश्वकपमा एम्बाप्पेले कुल १८ गोल गरेका छन् । धेरै गोल गर्ने सूचीमा मेसी १९ गोल गर्दै शिर्ष स्थानमा रहेका छन् ।

 

न्यु जर्सीको अत्यधिक गर्मीबीच भएको खेलमा फ्रान्सले सुरुदेखि नै स्विडेनमाथि दबाब बनाएको थियो । खेलको २०औँ मिनेटमा एम्बाप्पेको गोल अफसाइडका कारण मान्यता पाएन । त्यसको केहीबेरपछि जुल्स कुन्देको पासमा उनले प्रहार गरेको बल पोस्टमा लागेको थियो । त्यसपछि माइकल ओलिसेको आकर्षक प्रहार पनि पोस्टमा लाग्दा ओस्मान डेम्बेलेले रिबाउन्डमा गरेको प्रहार लक्ष्यभन्दा बाहिरिएको थियो । स्विडेनका गोलरक्षक याकोब विडेल जेटरस्ट्रोमले लगातार उत्कृष्ट बचाउ गर्दै फ्रान्सलाई लामो समयसम्म गोल गर्न दिएनन् । तर पहिलो हाफको इन्जुरी समयमा डेम्बेलेको उत्कृष्ट पासमा एम्बाप्पेले रक्षकलाई छलाउँदै सशक्त प्रहारमार्फत फ्रान्सलाई अग्रता दिलाए ।

 

दोस्रो हाफ शुरु भएको आठौँ मिनेटमा माइकल ओलिसेको पासमा ब्राड्ली बार्कोलाले नजिकको पोस्टबाट गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।

 

खेलको ७४औँ मिनेटमा फेरि ओलिसेकै पासमा एम्बाप्पेले सुन्दर घुमाउरो प्रहार गर्दै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेका थिए ।

 

स्विडेनले खेलको अन्त्यतिर केही अवसर सिर्जना गरे पनि फ्रान्सका गोलरक्षक माइक मेनियाले उत्कृष्ट बचाउ गर्दै टोलीलाई गोल खानबाट जोगाएका थिए ।

 

यसअघि सोमबार भएको खेलमा जर्मनीलाई पेनाल्टी सुटआउटमा हराएको पाराग्वे अब फ्रान्सको अन्तिम १६ को प्रतिद्वन्द्वी बनेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार