मिथिलामा पितृ तर्पण ‘सोह्र श्राद्ध’ सुरु

२०८२ भाद्र २२ आईतवार
सारांश
  • भाद्र कृष्णपक्षको औंसी तिथिलाई पितृ औंसी वा कुवेर औंसी भनिन्छ, जसलाई पितृ तर्पण, श्राद्ध तथा पितृ पूजाका दिनका रूपमा व्यापक रूपमा मनाइन्छ ।

जनकपुर : जनकपुरधामसहित मिथिला क्षेत्रमा पितृ तर्पण (सोह्र श्राद्ध) आजबाट सुरु भएको छ । भाद्र कृष्णपक्षको औंसी तिथिलाई पितृ औंसी वा कुवेर औंसी भनिन्छ, जसलाई पितृ तर्पण, श्राद्ध तथा पितृ पूजाका दिनका रूपमा व्यापक रूपमा मनाइन्छ । जनकपुरधामका पोखरीहरुमा तर्पण गर्नेहरुको भीड लागेको छ ।

 

यस दिनलाई दिवंगत पितृ–पूर्वजप्रति श्रद्धा, कृतज्ञता र स्मरण गर्ने विशेष अवसरका रूपमा लिइन्छ । धार्मिक विश्वासअनुसार पितृलाई स्मरण गरी तर्पण, पिण्डदान र ब्राह्मणलाई दान गरे पश्चात पितृ तृप्त भई सन्तानलाई दीर्घायु, समृद्धि र धर्मपथमा अगाडि बढ्न आशीर्वाद दिने विश्वास रहिआएको छ ।

 

आजको दिन पितृको सम्झनामा स्नान, शुद्धि, ब्राह्मण पूजन, पिण्डदान र तर्पण गरिन्छ । नजिकको पोखरी, नदि, तलाउ वा आफ्नै घरआँगनमा जलाशयमा स्नान गरी पितृको नाममा जल अर्पण गर्ने गरिन्छ । त्यसपछि तिल, जल, दूध, कुश र पिण्ड (चामल वा पीठोको) अर्पण गरी मन्त्रसहित पितृलाई तृप्त पारिन्छ ।

 

धार्मिक दृष्टिले पितृ तर्पण गर्दा घरमा अशुभ हट्ने, कुलको रक्षक शक्तिको कृपा प्राप्त हुने र परिवारमा शान्ति, सन्तोष र प्रगति हुने मान्यता छ ।

 

पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार महर्षि अत्रि, अगस्त्य लगायत ऋषिमुनिहरूले पितृ तर्पणको महत्व प्रतिपादन गरेका थिए ।

महाभारतकालमा पितामह भीष्मले धर्मराज युधिष्ठिरलाई श्राद्ध र तर्पणको महत्व बताउँदै यसलाई पितृ ऋण तिर्ने प्रमुख उपाय भनेका थिए । त्यसैगरी पुराणहरूमा श्राद्ध नगरे कुल नाश हुने र सन्तानलाई बाधा पर्ने उल्लेख पाइन्छ ।

 

पितृ तर्पणलाई केवल धार्मिक कर्मकाण्ड मात्र नभई सामाजिक र पारिवारिक मूल्यसँग जोडिएको पर्व मानिन्छ । यसले पितृप्रतिको कृतज्ञता व्यक्त गर्ने, परम्परा निरन्तरता दिने र सन्तानलाई आफ्नो संस्कृतिसँग जोड्ने अवसर प्रदान गर्दछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार