खानेपानी केवल सेवा नभई नागरिकको आधारभूत हक हो : मन्त्री यादव

२०८२ वैशाख ५ शुक्रबार
सारांश
  • काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नीति निर्माणमा जनताको आवाजलाई प्राथमिकता दिँदै कार्यान्वयनमा पारदर्शिता र परिणाममुखीमा सुनिश्चित गरिने बताए ।

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले नेपाली जनताको विश्वास जित्न आवश्यक सम्पूर्ण पहल, लगानी र समन्वयलाई निरन्तरता दिने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । 


काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नीति निर्माणमा जनताको आवाजलाई प्राथमिकता दिँदै कार्यान्वयनमा पारदर्शिता र परिणाममुखीमा सुनिश्चित गरिने बताए । 


उनले भने, ‘खानेपानी सेवा जनताको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील अधिकार हो भन्ने मान्यताका आधारमा नीतिगत, प्रविधिगत र प्रशासनिक सुधारमार्फत दीर्घकालीन, दिगो र समावेशी विकासको दिशामा सरकार र बोर्डसँगसँगै अघि बढ्नेछौँ ।’


मन्त्री यादवले बोर्डले अघि सारेका योजनाहरूले नागरिकको जीवनस्तर, जन स्वास्थ्य तथा वातावरणीय दिगोपनमा अतुलनीय योगदान दिएको उल्लेख गरे  । ‘खानेपानी क्षेत्रको समग्र सुधारका लागि आवश्यक सबै पहल, लगानी र समन्वयलाई मेरो व्यक्तिगत प्रतिबद्धता रहनेछ,’ उनले भने । 


काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २० वर्षे यात्रालाई स्मरण गर्दै उनले यस संस्थाले दूरदर्शी सोच र दृढ सङ्कल्पका साथ स्थापना भएर परिपक्वताको चरणमा प्रवेश गरिसकेको बताए । उनले भने, ‘काठमाडौँ उपत्यकामा सुरक्षित, दिगो र समावेशी खानेपानी सेवा पु¥याउने लक्ष्यले अघि बढेको बोर्डको यात्रामा चुनौती, कठिनाइ र अवसरको सङ्गम रहे पनि प्राप्त सफलताहरू सम्पूर्ण नेपालीको गौरवको विषय बनेका छन् ।’ 


मन्त्री यादवले खानेपानी केवल सेवा नभई नागरिकको आधारभूत हक भएकोले यसलाई दीर्घकालीन दृष्टिकोणबाट समन्वयात्मक नीति, योजना र कार्यान्वयनमार्फत अघि बढाउनु आवश्यक रहेकोमा जोड दिए ।  


खानेपानी मन्त्रालयका सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्यले बोर्डले नागरिकलाई प्रत्यक्ष सेवा पु¥याउँदै राम्रो कार्य गर्दै आएको बताउँदै अझ धेरै काम बाँकी रहेको बताइन् । उनले भनिन्, ‘जनताको मन जित्न सफल होऊन् भन्ने शुभकामना छ ।’ 


बोर्डका कार्यकारी निर्देशक डा.संजिवविक्रम राणाले चारसय भन्दा बढी स्थानमा वर्षा पानी सङ्कलन प्रणाली स्थापना भई करिब एक लाख जनसंख्या लाभान्वित भएको, २०३ वटा ढुङ्गेधारा, इनार र कुँवा संरक्षण एवं पुनःउत्थानले सांस्कृतिक र सामुदायिक जल स्रोतहरूलाई पुनर्जीवित बनाएको, ३१ स्थानमा पानी एटिएम प्रणालीमार्फत गुणस्तरीय पिउने पानी सर्वसुलभ रूपमा उपलब्ध गराइएको जानकारी दिए । 


त्यसैगरी, ७४४ डिप ट्युववेलको अनुमतिपत्र प्रदान, डिजिटल म्यापिङ तथा मोबाइल एपमार्फत जल स्रोतको प्रविधिमैत्री व्यवस्थापन, सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र, ७४.७ किलोमिटर पाइपलाइन तथा ९ वटा पानीपोखरी निर्माण कार्य सम्पन्न भई हस्तान्तरण गरिएको र उपत्यकाको २०५० सम्मको गुरुयोजनाले स्पष्ट मार्गचित्र तय गरिएको उनले बताए । 


यद्यपि, पुरानो पाइपलाइन संरचनाका कारण पानी चुहावट, नोक्सानी र असमान वितरण प्रणाली, भूमिगत जलको अत्यधिक दोहन तथा शहरीकरणको तीव्रताले जलसन्तुलनमा गम्भीर असर, र ट्याङ्कर प्रणालीमा गुणस्तर र मूल्यको असमानता जस्ता समस्याहरू अझै प्रमुख चुनौतीको रूपमा रहेको उल्लेख गरियो ।


कार्यक्रममा खानेपानी मन्त्रालयका सहसचिव ई. मीना श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख अशोककुमार पौडेल, खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकाल, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टिकाबहादुर चौधरीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार