- सयौं मानिसको लावालस्करसहित रातो घुम्टोले सिँगारिएर त्रिपुरासुन्दरी भगवती माई आज बिहान माइत गएकी छिन् ।
२० मंसिर धादिङ: धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-४ सल्यानकोटबाट भगवती माइको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसेबजारस्थित माइथानबेँसी सारिएको छ । सयौं मानिसको लावालस्करसहित रातो घुम्टोले सिँगारिएर त्रिपुरासुन्दरी भगवती माई आज बिहान माइत गएकी छिन् ।
भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइत र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ ।
सोहीअनुसार सल्यानकोटमा रहेका दुई वटा मन्दिरमध्ये दशैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । जुन देवीको मामाघरको रूपमा प्रसिद्ध छ ।
मङ्सिरदेखि चैत्रसम्म भगवतीलाई आगिन्चोकस्थित बेसीको मन्दिरमा राखिन्छ । उक्त मन्दिरलाई भगवतीको माइतीको रूपमा चिनिन्छ ।
सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महिनाभन्दा बढी समय भगवतीलाई त्यहीँ पूजाआजा गरिन्छ ।
यही परम्पराअनुसार आज बिहान भगवतीको घरको रुपले परिचित सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रुपमा चिनिने माइथानबेँसीको मन्दिरमा सारिएको हो ।
देवीको दर्शन गर्न सयौँको सङ्ख्यामा भक्तजनले मध्यरातिदेखि नै बाटो कुरेर बस्ने गर्दछन् । मूर्ति देख्न र छुन नपाए पनि बाटोमा जम्मा भएका भक्तजनले टाढैबाट दर्शन गर्ने गर्छन ।
रानामगर, तिमिल्सिना र सापकोटा थरका पूजारीले त्रिपुरासुन्दरी भगवतीमाइको मूर्ति र सरसामानलाई आफ्नो पिठ्युँमा बोकेर यात्रा गराउने परम्परा रहेको छ।
वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ । रानामगर थरका स्थानीय पूजारी, सापकोटा र तिमल्सिना बाहेक अरु कसैले हेर्न र छुन पाउदैनन।
यी तीन थरिबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मूल ढोकाबाटै भगवतीलाई पूजाआजा गर्नुपर्ने नियम रहेको रहेको छ ।
विवाहित नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दसैंतिहारलगायत चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही समय माइतीमा बस्ने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाइँलाई तुलना गरिएको मानिन्छ ।
नेपाल एकीकणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राति सपनामा एक बालिकाले आर्शिवाद दिएको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ ।
जिल्ला सदरमुकाम धादिङबेँसीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाडौँ लगायतका ठाउँबाट भक्तजन आउने गर्दछन् ।
मङ्सिर महिनामा त्रिपुरासुन्दरी गाउँपालिका-४ सल्यानकोट डाँडाको मन्दिरबाट भगवतीको मूर्तिलाई बाकसभित्र राखी पिठ्युँमा बोकेर करिब तीन घण्टाको पैदल दुरीमा पुगिने त्रिपुरासुन्दरी गाउँपालिका-६ माईथानबेँसीको मन्दिरमा ल्याइन्छ । यसरी देवीलाई माइत झारेसँगै यो वर्षको जात्रा सकिने गर्दछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’