आज विश्व क्षयरोग दिवस मनाइँदै

२०८२ चैत्र १० मङ्गलवार
सारांश
  • आज विश्व क्षयरोग दिवस मनाइँदै छ । क्षयरोग दिवस हरेक वर्ष मार्च २४ का दिन मनाउने गरिन्छ । क्षयरोग अर्थात् टिबी ब्याक्टेरियाका कारणले हुने सरुवा रोग हो ।

काठमाण्डौ, १० चैत्र । आज विश्व क्षयरोग दिवस मनाइँदै छ । क्षयरोग दिवस हरेक वर्ष मार्च २४ का दिन मनाउने गरिन्छ ।  क्षयरोग अर्थात् टिबी ब्याक्टेरियाका कारणले हुने सरुवा रोग हो । क्षयरोगलाई रोकथाम तथा उपचार गर्न सकिने भए पनि यो रोग प्रमुख जनस्वास्थ्य समस्याहरूमध्ये एक जटिल समस्या हो ।

 

यस बर्षको विश्व क्षयरोग दिवसको आधिकारिक विषयवस्तु 'हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं: जनताको शक्तिले, देशहरूको नेतृत्वमा।' भन्ने रहेको छ । यो विषयवस्तुले देशस्तरीय नेतृत्व, समुदायको संलग्नता र प्रभावित व्यक्तिहरू, स्वास्थ्यकर्मीहरू र नवप्रवर्तकहरूको शक्ति मार्फत विश्वव्यापी क्षयरोग महामारी अन्त्य गर्ने जागरुकतालाई दर्शाउँछ ।

 

क्षयरोग लागेको व्यक्तिले खोक्दा, हाछियु गर्दा, थुक्दा यसका जीवाणुहरू निस्कन्छन् र हावाको माध्यमबाट अरू निरोगी व्यक्तिहरूमा समेत सर्ने गर्दछन् । क्षयरोगका जीवाणुले शरीरको फोक्सोमा बढी असर गर्दछ तर जीवाणुले शरीरका अन्य अंगमा पनि असर गर्न सक्दछ ।

 

यो रोग लाग्दा लामो समय सम्म खोकी लाग्ने, खकारमा रगतको मात्रा देखा पर्ने, ज्वरो आउने, राति पसिना आउनुका साथै तौल पनि कम हुँदै जाने लक्षण देखा पर्दछन् । समयमै रोगको पहिचान हुन सकेमा औषधी सेवनबाट यो रोग निको चिकित्सकहरूको भनाइ छ ।

 

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र हाल नेपालमा ४० हजार सात सय ७६ जना क्षयरोगी बिरामी उपचाररत रहेका छन् । नेपालमा वार्षिक ६८ हजार क्षयरोगका बिरामी हुने गरेको तथ्याङ्क छ । क्षयरोगी बिरामीहरूमा पुरुषको सङ्ख्या ६१ प्रतिशत तथा महिलाको सङ्ख्या ३९ प्रतिशत रहेको छ । पछिल्लो समय १४ वर्षमुनिका बालबालिकाहरूमा समेत क्षयरोगको सङ्क्रमण बढ्दै गएको छ ।

 

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । क्षयरोग मानव जातिमा देखा परेका विभिन्न रोगहरुमध्ये सबैभन्दा पुरानो रोगमध्येमा पर्दछ । सन् १८८२ मार्च २४ का दिन डा. रोबर्ट कोचले क्षयरोगको कीटाणु पत्ता लगाएका थिए । यसपछि मात्र यो रोगकाबारे जनचासो बढेको र वैज्ञानिकहरूले थप अनुसन्धान गरेको पाइन्छ । यो रोग श्वासप्रश्वासको माध्यमबाट एक मानिसबाट अर्को मानिसमा सर्ने रोगको रुपमा परिभाषित छ । त्यसैले हालसम्म यसैलाई आधार मानेर यसको पहिचान निदान र उपचार भइरहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार