काठमाडौँ महानगरभित्र एचपीभी खोप अभियान सुरु, फागुन ६ गतेसम्म चल्ने

२०८२ माघ २७ मङ्गलवार
सारांश
  • गएको वर्ष महानगरपालिकाले ३९ हजार ३१३ जना छात्रालाई यो खोप दिएको थियो ।

काठमाडौँ: काठमाडौँ महानगरपालिकाभित्र आजदेखि एचपीभीविरुद्धको खोप सुरु भएको छ । यो सेवा फागुन ६ गतेसम्म चल्नेछ । एच.पी.भी. का विभिन्न प्रकारमध्ये एच.पी.भी १६ र १८ ले पाठेघरको मुखको क्यान्सर गराउन सक्छ ।

 

यसबाट हुने जोखिम घटाउन सरकारले स्थानीय तहसँग समन्वय गरेर खोप सेवा प्रदान गरेको हो । यो खोप कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालय वाहिर रहेका १० वर्ष उमेरका किशोरीहरुलाई दिइनेछ । यस्तै गएको वर्षको खोप कार्यक्रममा छुटेका अहिले कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरु र विद्यालय बाहिर रहेका ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पनि यो खोप दिइनेछ ।

 

पदमकन्या विद्याश्रम माध्यमिक विद्यालय, डिल्लीबजार कार्यक्रम सुरु गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले महिलाहरुमा हुन सक्ने पाठेघरको मुखको क्यान्सरबाट बचावट गर्न भाइरस विरुद्धको खोप प्रभावकारी रहेको बताइन् ।

 

एचपीभी भाइरसका धेरै प्रकार छन् । तीमध्ये एचपीभी १६ र १८ ले महिलाहरुको पाठेघरको मुखको क्यान्सर गराउन सक्छ । यो खोप क्यान्सर विरुद्ध नभइ क्यान्सर गराउने भाइरस विरुद्ध हो । यो खोप लगाएपछि पाठेघरको मुखसहित छाला, घाँटी लगायतका क्यान्सरबाट बच्न सकिन्छ । यस वर्ष सरकारले करिब ४ लाख छात्राहरुलाई खोप दिने लक्ष्य राखेको छ ।

 

गएको वर्ष महानगरपालिकाले ३९ हजार ३१३ जना छात्रालाई यो खोप दिएको थियो ।  महानगरपालिकाले ३० जना छात्रालाई खोप दिनु पर्ने विद्यालयलाई एउटा खोप केन्द्र बनाएको छ । ३० जनाभन्दा कम विद्यार्थी भए भने संयुक्त खोप केन्द्र सञ्चालन हुनेछ । खोप केन्द्र, वडा क्लिनिक र स्वास्थ्य प्रवर्धन केन्द्रले विद्यालयहरुसँग समन्वय गरेर निर्धारण गरेका हुन् ।

 

पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रुपबाट बाहिर निकाल्न खोप, स्क्रिनिङ् र उपचार गरेर ३ चरणका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन हुनुपर्छ । यी हरेक चरणका कार्यक्रममा ९० प्रतिशत लक्ष्य हासिल गर्ने सरकारको लक्ष्य छ । पाठेघरको मुखको क्यान्सरबाट बच्ने ३ चरणका उपायमध्ये, १० वर्षदेखि १४ वर्षसम्म उमेरका किशोरीहरूले एचपीभी खोप लगाउनु पहिलो उपाय हो । दोस्रो उपायमा ३० वर्षभन्दा माथिको उमेरका हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ्ग) गराउनु पर्छ ।

 

 तेस्रोमा पाठेघरको मुखको क्यान्सर रोग पहिचान भएका महिलाले उपचार गराउनु पर्छ ।

नेपालमा हरेक वर्ष करिब १ हजार ३१३ जना महिलामा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको छ । पत्ता लागेकामध्ये हरेक ६ जनामध्ये ३ जाको मृत्यु हुने गरेको परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाको तथ्याङ्कमा उल्लेख छ । पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा प्रत्येक दिन ४ जना महिलाहरूको मृत्यु भइरहेको छ ।

 

महिलाहरुलाई क्यान्सर मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर पहिलो कारण हो । यो क्यान्सर ह्यूमन प्यापिलोमा भाइरसको संक्रमणबाट हुन्छ । यो भाइरसलाई एच.पि.भी. भाइरस भनिन्छ । एचपिभी भाइरसबाट संक्रमित व्यक्तिसँग यौन सम्पर्क हुँदा यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । यसबाट पटक पटक संक्रमण भएर २० वर्षसम्म संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुन सक्छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार