विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय

२०८१ चैत्र १३ बुधवार
सारांश
  • सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रबि मल्लले जानकारी दिए ।

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।


सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रबि मल्लले जानकारी दिए । 


‘मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भने पछि आन्तरिक र अन्य श्रोतबाट उपचार गराउने निर्णय गरेका हौं,’ कार्यकारी निर्देशक मल्लले भने ।


हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार सहायता दिंंदै आइरहेको छ । उपचार लिनेको संख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक श्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।  


यस वर्षको वर्ष पुष महिनासम्म चार सय ८० बालबालिकाले गंगालालबाट शल्यक्रियासहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् ।  


‘आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट बञ्चित नहोउन् भन्ने हाम्रो चाहना हो,’ मन्त्री पौडेलले भने, ‘यसका लागि थप श्रोतको खोजीसमेत गरिनेछ ।’


सञ्चालक समिति बैठकले बाल मुटु उपचारका लागि थप श्रोतको खोजी गर्न स्थानीय तहहरुसँग समेत सम्झौता गर्ने निर्णय गर्दै त्यसका लागि सदस्य सापकोटालाई जिछण्म्मेवारीसमेत तोकेको छ ।


‘स्थानीय तहहरुसँगको सहकार्यमा बाल मुटु उपचार थप पहुँचयुक्त र प्रभावकारी बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ,’ सञ्चालक समिति सदस्य सापकोटाले भने, ‘सहकार्य गर्ने गरी गृहकार्य शुरु गरेका छौं ।’


नेपालमा एक हजार बालबालिका मध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको एक अध्ययनले देखाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप समाचार