हुथी-साउदी तनाव फेरि चर्कियो, यमनमा चार वर्षअघिको युद्ध पुनः शुरु हुने खतरा

२०८३ श्रावण १२ मङ्गलवार
सारांश
  • अमेरिका र इरानबीच युद्ध शुरु हुँदा नै इरान समर्थित हूथी विद्रोही पनि त्यसमा सक्रिय रूपमा संलग्न हुन सक्ने अनुमान गरिएको थियो ।
  • सन् २०२२ मा संयुक्त राष्ट्रसंघको पहलमा भएको युद्धविरामपछि साउदी अरेबिया र हूथी विद्रोहीबीचको युद्ध लगभग रोकिएको थियो ।

काठमाण्डौ, १२ श्रावण । अमेरिका र इरानबीच युद्ध शुरु हुँदा नै इरान समर्थित हूथी विद्रोही पनि त्यसमा सक्रिय रूपमा संलग्न हुन सक्ने अनुमान गरिएको थियो । करिब पाँच महिनापछि त्यो आशंका वास्तविकतामा परिणत हुने संकेत देखिएको छ ।

 

पछिल्लो एक सातायता हुथी विद्रोहीले साउदी अरेबिया र रेड सी क्षेत्रमा सञ्चालन भइरहेका जहाजमाथि मिसाइल र ड्रोन आक्रमण गरेका छन् । त्यसको प्रत्युत्तरमा साउदी नेतृत्वको सैन्य गठबन्धनले पनि हुथी नियन्त्रणमा रहेका क्षेत्रमा हवाई आक्रमण सुरु गरेको छ ।

 

यससँगै सन् २०२२ को युद्धविरामपछि रोकिएको यमनको गृहयुद्ध फेरि भड्किने जोखिम बढेको छ । हुथी विद्रोहीले साउदी अरेबियाविरुद्ध समुद्री नाकाबन्दीको घोषणा गरेका छन् भने दुवै पक्षबीचको सैन्य गतिविधि तीव्र बन्दै गएको छ । यसले मध्यपूर्वमा अर्को ठूलो द्वन्द्व सुरु हुने चिन्ता बढाएको छ ।

 

पछिल्लो तनावको सुरुआत जुलाई १३ मा भएको बताइएको छ । इरानबाट केही हूथी नेताहरू यमन फर्किने क्रममा उनीहरू सवार विमानलाई साउदी समर्थित यमन सरकारले राजधानी सनास्थित विमानस्थलमा अवतरण गर्न अनुमति दिएन । सरकारले ती नेताहरूले यमनको राष्ट्रिय वायुसेवाबाट मात्रै फर्किनुपर्ने अडान राख्यो भने हूथी पक्षले इरानी विमानलाई नै सनामा अवतरण गराउनुपर्ने माग गर्‍यो । त्यसपछि सरकार समर्थित सेनाले विमान अवतरण हुन नदिन विमानस्थलको धावनमार्गमा बम प्रहार गरेको बताइएको छ ।

 

फलस्वरूप उक्त विमानले सना विमानस्थलमा अवतरण गर्न नसकी हूथीको नियन्त्रणमा रहेको हुदैदाह विमानस्थलमा अवतरण गरेको थियो । त्यसलगत्तै हूथी विद्रोहीले साउदी अरेबियाविरुद्ध समुद्री नाकाबन्दी घोषणा गरेका हुन् ।

 

फेब्रुअरीमा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य अभियान सुरु गर्दा हूथी विद्रोही प्रत्यक्ष रूपमा युद्धमा सहभागी भएका थिएनन् । तर अमेरिका–इरानबीचको युद्धविराम भंग भएपछि उनीहरूको रणनीतिमा परिवर्तन आएको विश्लेषण गरिएको छ । विशेषज्ञहरूका अनुसार इरानले हूथीलाई सक्रिय भूमिका खेल्न दबाब दिएको हुन सक्छ । साथै हूथीले पनि यमनभित्र आफ्नो राजनीतिक प्रभाव र शक्ति विस्तार गर्ने अवसरका रूपमा यो अवस्थालाई उपयोग गर्न खोजिरहेको विश्लेषण गरिएको छ । सन् २०२२ मा संयुक्त राष्ट्रसंघको पहलमा भएको युद्धविरामपछि साउदी अरेबिया र हूथी विद्रोहीबीचको युद्ध लगभग रोकिएको थियो । स्थायी शान्ति सम्झौताका लागि वार्ता भए पनि कुनै ठोस निष्कर्ष निस्किएको थिएन ।

 

यद्यपि दुवै पक्ष ठूलो युद्धबाट जोगिन प्रयासरत थिए। अहिले अमेरिका–इरान तनाव बढेसँगै यमनको अवस्था फेरि जटिल बन्दै गएको छ । साउदी अरेबिया अहिले हूथीसँग अर्को युद्धमा जान इच्छुक नरहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ । सन् २०१५ देखि सुरु भएको करिब एक दशक लामो युद्धमा साउदीले अर्बौं डलर खर्च गरे पनि निर्णायक सफलता हासिल गर्न सकेन । उक्त युद्धका कारण लाखौं यमनी नागरिक भोकमरी, रोग र हिंसाको सिकार भएका थिए भने साउदीको अन्तर्राष्ट्रिय छविमा पनि असर परेको थियो ।

 

तर हूथी विद्रोहीले भने साउदीमाथि थप दबाब सिर्जना गरेर यमनको तेलबाट हुने आम्दानीमा ठूलो हिस्सा तथा देशको राजनीतिमा थप प्रभाव स्थापित गर्न चाहेको बताइएको छ ।

 

हूथी विद्रोही सुरुमा उत्तरी यमनका पहाडी क्षेत्रमा सक्रिय एउटा सानो शिया समूह थिए । सन् २०११ को अरब आन्दोलनपछि यमनमा राजनीतिक संकट गहिरिँदै गएपछि उनीहरूले शक्ति विस्तार गर्ने अवसर पाए । सन् २०१४ मा हूथी विद्रोहीले राजधानी सना कब्जा गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई हटाएका थिए । त्यसपछि राष्ट्रपति अब्दरब्बुह मन्सुर हादी साउदी अरेबियामा शरण लिन बाध्य भएका थिए । यसपछि साउदी अरेबियाले आठवटा अरब राष्ट्रको सैन्य गठबन्धन बनाएर सन् २०१५ मा हूथीविरुद्ध युद्ध सुरु गरेको थियो ।

 

सन् २०२२ को युद्धविरामपछि स्थायी शान्तिको सम्भावना देखिएको थियो । तेल आम्दानी बाँडफाँट र सरकारी कर्मचारीको तलबलगायत विषयमा दुवै पक्षबीच सहमति नजिक पुगेको बताइएको थियो । तर सन् २०२३ मा गाजा युद्ध सुरु भएपछि हूथीले हमासको समर्थन गर्दै रातो समुद्र हुँदै गुड्ने जहाजमाथि आक्रमण थाले । त्यसको जवाफमा अमेरिका र उसका सहयोगी राष्ट्रहरूले हूथीका सैन्य अड्डामाथि हवाई आक्रमण गरेपछि शान्ति प्रक्रिया रोकिएको थियो ।

 

हूथी नेतृत्वले शान्ति वार्ताका क्रममा भएका प्रतिबद्धता साउदी अरेबियाले पूरा नगरेको आरोप लगाएको छ । विशेषगरी हूथी नियन्त्रणमा रहेका क्षेत्रमा सरकारी कर्मचारीको रोकिएको तलब पुनः सुरु नगरेको उनीहरूको दाबी छ । साउदी अरेबियाले भने ती आरोप अस्वीकार गर्दै आफू यमनमा स्थायी शान्तिको पक्षमा रहेको जनाएको छ । साउदी पक्षले हिंसाको बाटो रोज्ने काम हूथी विद्रोहीले गरिरहेको र त्यसको असर यमनका सर्वसाधारण नागरिकले भोग्नुपरेको आरोप लगाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार