अमेरिकी हमला हुनसक्ने भन्दै क्यूबामा गुरिल्ला युद्धको तयारी
३ जेठ, २०८३, आइतवार
- क्युवा सरकारले लामो समयदेखि अमेरिकाको आर्थिक दबाब र तेल नाकाबन्दीको सामना गर्दै आएको छ । पछिल्ला महिनाहरूमा विद्युत् कटौती, इन्धन अभाव र अत्यावश्यक वस्तुको कमीले जनजीवन थप प्रभावित बनेको छ ।
काठमाडौँ: अमेरिकी खुफिया संस्था सीआईएका प्रमुख जोन र्याटक्लिफको हवाना भ्रमणपछि क्युवा र अमेरिकाबीच तनाव बढ्न सक्ने आशंका तीव्र बनेको छ ।
यसैबीच क्युवा सरकारले सम्भावित सैन्य टकरावलाई ध्यानमा राख्दै देशभर युद्धस्तरको तयारी थालेको छ । सीएनएनको रिपोर्टअनुसार क्युवामा नागरिकलाई गुरिल्ला युद्धको प्रशिक्षण दिइँदैछ र आपतकालीन अवस्थाका लागि तयार रहन भनिएको छ । राजधानी हवानासहित विभिन्न सरकारी भवनहरूलाई सम्भावित आक्रमणको अवस्थामा तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।
क्युवा सरकारले लामो समयदेखि अमेरिकाको आर्थिक दबाब र तेल नाकाबन्दीको सामना गर्दै आएको छ । पछिल्ला महिनाहरूमा विद्युत् कटौती, इन्धन अभाव र अत्यावश्यक वस्तुको कमीले जनजीवन थप प्रभावित बनेको छ ।
सरकारी सञ्चारमाध्यममा नागरिकहरू सैन्य अभ्यासमा सहभागी भएको दृश्य सार्वजनिक गरिएको छ । रिपोर्टअनुसार पूर्व राष्ट्रपति फिदेल कास्त्रोले अघि सारेको 'सम्पूर्ण जनताको लडाइँ' रणनीतिअनुसार गुरिल्ला युद्ध प्रशिक्षण भइरहेको छ । केही भिडियोमा पुराना सोभियत हतियार प्रयोग गरेर अभ्यास गरिएको देखिएको छ भने एउटा दृश्यमा एन्टी-एयरक्राफ्ट गनलाई गोरुले तानेको पनि देखाइएको छ ।
आधुनिक हतियार अभाव भए पनि क्युवाले लामो समयसम्म प्रतिरोध गर्न सक्ने क्षमता देखाइसकेको विश्लेषण गरिएको छ । प्राकृतिक विपद्को समयमा समेत देशले ठूलो जनसमूह परिचालन गर्न सक्ने क्षमता प्रदर्शन गरेको थियो ।
यसैबीच सीआईएका प्रमुख जोन र्याटक्लिफ यसै साता हवाना पुगेका थिए । क्युवा सरकारले सीआईएलाई लामो समयदेखि शत्रु मान्दै आएको छ । १९६० को दशकमा फिदेल कास्त्रोलाई लक्षित गर्दै विस्फोटक सिगारदेखि विषाक्त स्कुबा सूटसम्मका योजनाहरू बनेको इतिहास समेत उल्लेख गरिन्छ । र्याटक्लिफको भ्रमणलाई दबाबमूलक कूटनीतिक प्रयासका रूपमा व्याख्या गरिएको छ ।
उता जनवरीदेखि अमेरिकाले भेनेजुएलाबाट क्युवामा हुने तेल आपूर्ति लगभग रोकिदिएको छ । अन्य देशलाई पनि क्युवालाई तेल नदिन चेतावनी दिइएको बताइएको छ । हालै अमेरिकी कोस्ट गार्डले कोलम्बियाबाट क्युवातर्फ जाँदै गरेको तेल ट्याङ्कर समेत रोकेको थियो ।
यसको प्रत्यक्ष असर क्युवामा देखिएको छ । जनवरी ९ पछि ठूलो मात्रामा तेल आपूर्ति नआएको र कालोबजारमा पेट्रोलको मूल्य करिब ३५ अमेरिकी डलर प्रतिग्यालन पुगेको बताइएको छ । देशमा दैनिक विद्युत् कटौती भइरहेको छ । अस्पतालमा शल्यक्रिया स्थगित भइरहेका छन्, औषधि अभाव बढेको छ र खाद्य संकट गहिरिँदै गएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवालाई व्यापारिक र लगानीको दृष्टिले पनि हेर्ने धारणा व्यक्त गरेका छन् । उनले क्युवालाई 'असफल देश' भन्दै त्यहाँ पैसा र स्रोतको अभाव रहेको टिप्पणी गरेका छन् ।
ट्रम्पले क्युवाको भौगोलिक अवस्थाबारे दिएको केही टिप्पणीले गलत बुझाइ देखिएको पनि विश्लेषकहरूले बताएका छन् । उनले क्युवा आँधी प्रभावित क्षेत्र होइन भन्ने संकेत गरे पनि वास्तविकतामा क्युवा बारम्बार हुरिकेनबाट प्रभावित हुने देश हो ।
क्युवा–अमेरिका सम्बन्धको ऐतिहासिक पृष्ठभूमिमा १८९८ को स्पेन–अमेरिका युद्धपछि क्युवा स्पेनबाट स्वतन्त्र भए पनि अमेरिकी प्रभाव लामो समयसम्म रह्यो । १९५९ मा फिदेल कास्त्रोले क्रान्तिमार्फत सत्ता कब्जा गरेपछि अमेरिका–क्युवा सम्बन्ध झनै बिग्रिएको थियो ।
त्यसपछि अमेरिकाले आर्थिक प्रतिबन्ध लगायो र व्यापार तथा तेल आपूर्ति रोकियो । सोभियत संघसँग नजिकिएपछि शीतयुद्धकालमा दुई देशबीचको दूरी अझ बढ्यो ।
झण्डै ५५ वर्षसम्म कुनै अमेरिकी राष्ट्रपति क्युवा नगएको अवस्था २०१५ मा बराक ओबामाको भ्रमणपछि तोडिएको थियो । रिपोर्टहरूका अनुसार फिदेल कास्त्रोलाई लक्षित गर्दै ६० वर्षमा ६०० भन्दा बढी असफल हत्या प्रयास भएका थिए । विषाक्त सिगार, विषाक्त पेयदेखि विभिन्न योजना बनाइए पनि कुनै सफल भएनन् । कास्त्रोको २०१६ मा ९० वर्षको उमेरमा निधन भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सरकारले सय दिनमा के के गर्यो ? (पूर्ण पाठ)
-
देशभर २६ लाख ४५ हजार किसान सूचीकृत, परिचयपत्र वितरण गरिने
-
ह्वाट्सएपमा प्रस्तावित 'युजरनेम' सुविधाप्रति भारत सरकारको आपत्ति, मेटासँग जवाफ माग
-
इन्धनको मूल्य घटेसँगै बजारमा उपभोग्य वस्तु तथा सेवाको मूल्यसमेत घटाउन विभागको आग्रह
-
विश्वकपबाट बाहिरिएसँगै रियाद महरेजले लिए सन्यास
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।