भारतको १८४ अर्ब ऋण आवश्यकता र आयोजनाको प्रगतिअनुसार खर्च गर्छौं : अर्थमन्त्री
८ मार्ग, २०८३
- नेपालले भारतबाट ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा प्राप्त गरेको छ । यसले पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहयोग पुग्ने उनको भनाइ छ ।
काठमाडौं: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतबाट प्राप्त हुने १८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण तत्काल उपयोग गर्नुपर्ने बाध्यता नरहेको स्पष्ट पारेका छन् । उनले उक्त रकम ‘लाइन अफ क्रेडिट’ अन्तर्गतको व्यवस्था भएकाले आयोजना आवश्यकता र निर्माणको प्रगतिका आधारमा क्रमशः उपयोग गरिने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
उनका अनुसार नेपालले भारतबाट ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा प्राप्त गरेको छ । यसले पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहयोग पुग्ने उनको भनाइ छ ।
नेपालमा करिब ४० हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक लगानी जुटाउन भारतसँग लाइन अफ क्रेडिटको व्यवस्था गरिएको बताए । विशेषगरी प्रसारण लाइनलगायत ऊर्जा पूर्वाधार निर्माणमा उक्त ऋण प्रभावकारी रूपमा उपयोग गर्न सकिने उनले बताए ।
यसअघि अमेरिकी डलरमा ऋण लिँदा विनिमय दरमा हुने उतारचढावका कारण नेपालको ऋण दायित्व बढ्ने गरेको उल्लेख गर्दै वाग्लेले भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्प उपलब्ध हुनु सकारात्मक भएको बताए । यद्यपि ऋणको ब्याजदर, भुक्तानी अवधि र ग्रेस पिरियडबारे भारतसँग प्राविधिक छलफल हुन बाँकी रहेको उनले जानकारी दिए । ऋण डलरमा लिने वा भारतीय रुपैयाँमा लिने भन्ने विषयसमेत अन्तिम टुंगोमा पुगिसकेको छैन ।
विगतमा सडक निर्माणलगायतका आयोजनामा लाइन अफ क्रेडिट उपयोग गर्दा स्थानीय सामग्री प्रयोग र ठेकेदारसम्बन्धी सर्तका कारण समस्या देखिएको स्मरण गर्दै उनले ऊर्जा क्षेत्रमा भने यसको उपयोग बढी प्रभावकारी हुने बताए ।
बैठकमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे पनि उनले जानकारी गराए । भैरहवास्थित विमानस्थलका लागि एकतर्फी हवाई प्रवेशमार्गलाई दुईतर्फी बनाउन सक्नु नेपालको लामो कूटनीतिक प्रयासको उपलब्धि भएको उनको भनाइ छ । नेपालले यसका लागि विगत १० देखि १२ वर्षदेखि पहल गर्दै आएको उनले बताए ।
यसले नेपालको नागरिक उड्डयन क्षेत्रको विकास र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने सरकारको अपेक्षा रहेको उनले बताए । आगामी दिनमा महेन्द्रनगर र जनकपुरलगायतका नाकाबाट समेत अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्ने सरकारको योजना रहेको उनको भनाइ छ ।
साथै उनले भारतले नेपालको भूमि खरिद गरेको तथा बागडोगरा विमानस्थलसँग सम्बन्धित १२५ किलोमिटर क्षेत्रबारे सञ्चारमाध्यममा आएका समाचारलाई निराधार र भ्रामक भन्दै खण्डन गरे । त्यस्ता समाचारमा कुनै सत्यता नरहेको उनको स्पष्टोक्ति थियो ।
सुनकोशी–सप्तकोशी उच्च बाँध आयोजनाबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै वाग्लेले उक्त आयोजना नयाँ नभएको बताए । सन् २००४ देखि नै नेपाल र भारतबीच संयुक्त रूपमा यसको अध्ययन हुँदै आएको जानकारी दिँदै उनले सुनकोशी–सप्तकोशी हाइ ड्याम तथा सुनकोशी स्टोरेज कम डाइभर्सन स्किमको अध्ययनका लागि विराटनगरमा संयुक्त आयोजना कार्यालय (जेपीओ) स्थापना गरिएको बताए । उक्त कार्यालयलाई आयोजनाको अध्ययन र आगामी दिनमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने जिम्मेवारी दिइएको उनले जानकारी दिए ।
नेपाल–भारतबीच तयार गरिएको ‘विकसित भारत र समुन्नत नेपाल’ भिजन डकुमेन्टबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यसले दुई देशबीचको सहकार्यलाई व्यवस्थित, नियमित र संस्थागत बनाउने उद्देश्य राखेको बताए । दस्तावेजमा समेटिएका १० वटा प्रमुख स्तम्भ नै यसको कार्यक्षेत्र र कार्यादेश भएको उनको भनाइ छ ।
कनेक्टिभिटी, आर्थिक साझेदारी, शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद तथा पर्यटनलगायतका क्षेत्रमा सहकार्यलाई दीर्घकालीन रूपमा अघि बढाउन उक्त दस्तावेज तयार गरिएको उनले बताए । यसका लागि छुट्टै पञ्चवर्षीय योजना वा अन्य दस्तावेज आवश्यक नरहेको उनको तर्क थियो ।
मंगलबारको अर्थ समिति बैठकमा ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि दफावार छलफलसमेत भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सेयर बजारमा १५ अंकको वृद्धि,कारोबार रकम साढे ५ अर्बमाथि
-
शरद ऋतुमा ४७ हिमाल आरोहण गर्न १६१३ पर्वतारोहीले लिए अनुमति
-
भोजपुरमा एक हजार छ सय बढी घटे मतदाता
-
अल्टिच्युड एयरको १० वर्षे यात्रामा नयाँ उपलब्धि, थपियो अत्याधुनिक एयरबस एच–१२५ हेलिकोप्टर
-
भारतको १८४ अर्ब ऋण आवश्यकता र आयोजनाको प्रगतिअनुसार खर्च गर्छौं : अर्थमन्त्री
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।