बेमौसमी वर्षाले किसानको काटेको धान डुब्यो, कोदो बालीमा पनि क्षति
२०८२ कार्तिक १५ गते शनिबार
- कतिपय ठाउँमा काटेर सुकाएको धान खेतमा नै उम्रन थालेपछि किसानहरू भन्छन्, ‘धान राम्रो फलेको थियो, तर उठाउन नपाउँदै पानीले सबै बिगा¥यो।’
रामेछाप: धान भित्र्याउने बेलामा परेको बेमौसमी वर्षाले रामेछापका किसानको वर्षभरको मिहिनेत पानीमा डुबेको छ। लगातार तीन दिनदेखि परेको वर्षाका कारण खेतमा काटिएको धान भिजेर कुहिन लागेको छ भने नकाटेको धान पनि ढलेर नोक्सानी भएको छ।
रामेछाप जिल्लाका प्रमुख फाँटहरूमा किसानले काटेर खेतमै सुकाइरहेको धान अहिले पानीमा डुबेकाले ठुलो नोक्सानी भएको छ । कतिपय ठाउँमा काटेर सुकाएको धान खेतमा नै उम्रन थालेपछि किसानहरू भन्छन्, ‘धान राम्रो फलेको थियो, तर उठाउन नपाउँदै पानीले सबै बिगा¥यो।’
माढी फाँटमा सबैभन्दा धेरै धान खेती हुने भएकाले त्यहाँको क्षति बढी भएको स्थानीय पाण्डव प्रसाईँले बताए। उनका अनुसार किसानले काटेका धान उठाउन नपाउँदै लगातार वर्षा भएपछि धान भिजेर कुहिन थालेको छ।
त्यस्तै मन्थली, कुनौरी, खिम्ति, देवीटार, सिरिसे, ढाँडे, भटौली, गागल लगायतका फाँटमा पनि उस्तै समस्या देखिएको छ। किसानहरूले काटेको धान पानीमा डुबेकाले दाना कुहिने र अन्नको गुणस्तर घट्ने चिन्ता व्यक्त गरेका छन्।
कृषि विकास कार्यालय रामेछापका अनुसार जिल्लामा करिब ७ हजार ८ सय ५९ हेक्टर क्षेत्रमा धान खेती हुने भए पनि यो वर्ष ७ हजार २ सय हेक्टरभन्दा बढी खेतमा रोपाइँ गरिएको थियो। गत वर्ष रामेछापमा ७ हजार ८ सय हेक्टर क्षेत्रमा प्रतिहेक्टर औसत २ दशमलव ५४ मेट्रिक टनका दरले करिब २० हजार १५ मेट्रिक टन धान उत्पादन भएको थियो। यो वर्ष उत्पादन राम्रो हुने अनुमान गरिएको भए पनि बेमौसमी वर्षाले अपेक्षा अनुसारको फाइदा लिन नसक्ने देखिएको छ।
धान मात्र होइन, लगातारको वर्षाले कोदो बाली पनि प्रभावित भएको किसानहरूले बताएका छन्। टिप्ने बेला भएको कोदो बोटमा पानी परेपछि दाना उम्लिन थालेको र झर्ने अवस्था आएको उमाकुण्ड गाउँपालिकाका मणिराज सुनुवारले बताए। उनका अनुसार धेरै ठाउँमा पोकेको कोदो बाली ढलेर कुहिने जोखिम बढेको छ।
बाली सुकाउने र उठाउने बेलामा आएको वर्षाले रामेछापका किसानलाई दोहोरो मार पारेको छ। एकातिर बाली कुहिने चिन्ता छ भने अर्कोतिर खेत पुनः तयारी गर्न पनि समय र श्रम दुबै बढ्ने देखिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।