विश्वकपको फाइनल अघि भव्य समापन कार्यक्रम, को को सहभागी हुँदैछन् ?
२०८३ श्रावण ०३ आइतवार
- यस समारोहमा प्रतियोगिताका क्रममा तीन आयोजक देश र १६ आयोजक सहरमा सहभागी भएका ४८ टोलीको यात्राको सम्झना गरिनेछ ।
काठमाण्डौ, ०३ श्रावण । विश्वकै सबैभन्दा ठूलो खेल आयोजना फिफा विश्वकप अब ऐतिहासिक समापनतर्फ अघि बढेको छ ।
आइतबार राति न्युजर्सी रंगशालामा हुने फाइनल खेलअघि भव्य समापन समारोह आयोजना गरिने भएको छ । यस समारोहमा प्रतियोगिताका क्रममा तीन आयोजक देश र १६ आयोजक सहरमा सहभागी भएका ४८ टोलीको यात्राको सम्झना गरिनेछ ।
फाइनलमा साविक विजेता अर्जेन्टिना र स्पेनबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । खेल सुरु हुनुअघि दर्शकका लागि विशेष सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिनेछ ।
फाइनल खेलमा फुटबलसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिसमेत मुख्य आकर्षण बन्ने भएको छ । ह्वाइट हाउसले ट्रम्प न्यु जर्सी रंगशालामा पुगेर फाइनल खेल हेर्ने र विजेता टोलीलाई विश्वकप ट्रफी प्रदान गर्ने पुष्टि गरेको छ ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्प खेलअघि ट्रम्प टावरमा फिफाका प्रतिनिधिहरूसँग विशेष कार्यक्रममा सहभागी हुने जानकारी दिएकी छन् । त्यसपछि उनी रंगशाला पुगेर उपाधि भिडन्त अवलोकन गर्नेछन् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पनि ट्रम्पले विजेता टोलीका कप्तानलाई विश्वकप ट्रफी प्रदान गर्ने बताएका छन् । त्यसैले खेलसँगै पुरस्कार वितरण समारोहमा पनि विश्वको ध्यान केन्द्रित हुनेछ ।
समापन समारोहमा संगीत र मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको प्रस्तुति रहने बताइएको छ । हलिउड अभिनेता टम क्रुज, लौरा पाउजिनी, रोबी विलियम्स र आई शो स्पिडलगायतका कलाकार मुख्य आकर्षणका रूपमा सहभागी हुनेछन् । यो भव्य कार्यक्रम ‘बेलिच वन्डर स्टुडियो’सँगको सहकार्यमा आयोजना गरिँदैछ ।
पुरस्कार विजेता गायिका जेनिफर हडसनले फाइनल खेलअघि अमेरिकाको राष्ट्रगान प्रस्तुत गर्नेछिन् । उनी एमी, ग्रामी, अस्कर र टोनी पुरस्कार जितिसकेकी कलाकार हुन् ।
फिफा विश्वकपका मुख्य सञ्चालन अधिकृत हेइमो शिरगीले उद्घाटन समारोहको भावनालाई निरन्तरता दिँदै समापन समारोहमा संगीत, संस्कृति र फुटबलको माध्यमबाट प्रतियोगिताको अन्त्य गरिने बताएका छन् । त्यसपछि विश्वकप विजेताको टुंगो लगाउने बहुप्रतीक्षित फाइनल खेल सुरु हुनेछ ।
फाइनल खेलको मध्यान्तर कार्यक्रममा ‘कोल्डप्ले’ का मुख्य गायक क्रिस मार्टिनले नेतृत्व गर्नेछन् । कार्यक्रममा पाँच प्रमुख कलाकारले प्रस्तुति दिनेछन् ।
क्यानडाका चर्चित गायक जस्टिन बिबरले यस कार्यक्रममा प्रस्तुति दिनेछन् । उनले कोचेला महोत्सवपछि पहिलो पटक यस्तो ठूलो मञ्चमा प्रस्तुति दिन लागेका हुन् ।
अमेरिकी गायिका म्याडोनाले पनि कार्यक्रममा प्रस्तुति दिनेछिन् । उनले फेडसँग मिलेर सार्वजनिक गरेको ‘रिड माई लिप्स’ गीत फिफा विश्वकपको आधिकारिक सङ्ग्रहको हिस्सा रहेको छ ।
कोलम्बियाकी चर्चित गायिका शकीरा पनि मध्यान्तर कार्यक्रमको हिस्सा बन्नेछिन् । उनले यसअघि उद्घाटन समारोहमा समेत प्रस्तुति दिएकी थिइन् । उनको बर्नबेसँगको गीत ‘दाई दाई’ विश्वकपको आधिकारिक गीत रहेको छ ।
लस एन्जलस फिलहारमोनिकका संगीत निर्देशक गुस्ताभो डुडामेल पनि कार्यक्रममा सहभागी हुनेछन् भने दक्षिण कोरियाको चर्चित सांगीतिक समूह ‘बीटीएस’ ले समेत आफ्नो प्रस्तुति दिने बताइएको छ ।
अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकपको फाइनल खेल नेपाली समयअनुसार आइतबार राति १२: ४५ बजेदेखि सुरु हुनेछ । त्यसअघि समापन समारोह करिब डेढ घण्टाअघि सुरु हुनेछ । समापन समारोहपछि फाइनल खेल सुरु हुनेछ भने मध्यान्तर समयमा करिब २५ मिनेट लामो विशेष कार्यक्रमसमेत आयोजना गरिने भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।