नेदरल्यान्ड्सको स्विडेनमाथि ५-१ गोलको प्रभावशाली जित

२०८३ अषाढ़ ०७ आइतवार
सारांश
  • नेदरल्यान्ड्सले स्विडेनमाथि ५–१ को प्रभावशाली जित निकाल्दै फिफा विश्वकपको अन्तिम ३२ मा स्थान बनाउने सम्भावना लगभग सुनिश्चित गरेको छ ।

काठमाण्डौ, ०७ अषाढ़ । नेदरल्यान्ड्सले स्विडेनमाथि ५–१ को प्रभावशाली जित निकाल्दै फिफा विश्वकपको अन्तिम ३२ मा स्थान बनाउने सम्भावना लगभग सुनिश्चित गरेको छ ।

 

रोनाल्ड कोम्यानको टोलीका लागि ब्रायन ब्रोबे र कोडी गाक्पोले समान दुई-दुई गोल गरे भने क्रिसेन्सियो समरभिलले एक गोल थपेका थिए । स्विडेनका लागि सान्त्वना गोल एन्थोनी एलाङ्गाले गरेका थिए ।

 

जापानविरुद्धको २–२ को बराबरी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गोल गरेका समरभिललाई सुरुआती टोलीबाट बाहिर राख्दै ब्रोबेलाई मौका दिइएको थियो । प्रशिक्षक कोम्यानको त्यो निर्णय सही सावित भयो ।

 

खेलको पाँचौँ मिनेटमै नेदरल्यान्ड्सले उत्कृष्ट सामूहिक प्रदर्शन गर्दै अग्रता बनायो । गोलरक्षक बार्ट फेर्ब्रुगेनको लामो पासलाई नियन्त्रणमा लिएर ब्रोबेले गाक्पोलाई बल उपलब्ध गराए र त्यसपछि पेनाल्टी क्षेत्रमा पुगेर गाक्पोको लो क्रसलाई गोलमा परिणत गरेका थिए । खेलको १७औँ मिनेटमा ब्रोबेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । डेन्जेल डुम्फ्रिसको लो क्रसमा उनले स्विडेनका रक्षक इसाक हिएनलाई पछि पार्दै सहज गोल गरेका थिए ।

 

पहिलो हाफको अतिरिक्त समयमा स्विडेनले अन्तर घटाएको जस्तो देखिएको थियो । गुस्ताफ लागरबिएल्केले फ्रिकिकमा गोलरक्षकलाई उछिन्दै जाली चुमाए पनि अफसाइडका कारण गोल मान्यता पाएन ।

 

दोस्रो हाफ शुरु भएको दुई मिनेट नबित्दै नेदरल्यान्ड्सले तेस्रो गोल थप्यो । डुम्फ्रिसको अर्को खतरनाक क्रसमा गाक्पोले पछिल्लो पोस्टमा सहज ट्याप गर्दै गोल गरेका थिए । खेलको ५४औँ मिनेटमा गाक्पोले व्यक्तिगत दोस्रो गोल पूरा गरे । दोस्रो हाफ सुरुसँगै मैदान प्रवेश गरेका समरभिलले तीव्र गतिमा अगाडि बढ्दै गाक्पोलाई पास उपलब्ध गराए र उनले तल्लो कुनामा उत्कृष्ट प्रहार गर्दै गोल गरे । यो गोलसँगै यस विश्वकपमा ३३ खेलमा कुल १०० गोल पूरा भएको छ । सन् १९५८ पछि विश्वकपमा सबैभन्दा छिटो एक सय गोलको कीर्तिमान बनेको हो । स्विडेनले ५९औँ मिनेटमा एक गोल फर्कायो। वैकल्पिक खेलाडी एलाङ्गाले उत्कृष्ट थ्रु पासमा दौडिँदै गोलरक्षक फेर्ब्रुगेनमाथिबाट बल उछालेर गोल गरेक थिए । तर अन्तिम समयमा समरभिलले पनि आफ्नो नाम गोलकर्ताको सूचीमा लेखाए । उनले तीव्र गतिमा अघि बढ्दै तल्लो कुनामा सटिक प्रहार गरेर नेदरल्यान्ड्सको शानदार जित सुनिश्चित गरे ।

 

यस जितसँगै नेदरल्यान्ड्स चार अंकसहित समूह ‘एफ’ को शीर्ष स्थानमा पुगेको छ । स्विडेनले भने नकआउट चरणमा पुग्न अन्तिम समूह खेलमा जापानविरुद्ध सकारात्मक नतिजा निकाल्नुपर्ने देखिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार