टी- २० विश्वकपको उपाधिका लागि आज भारत र न्युजील्यान्ड आमने सामने

२०८२ फाल्गुण २४ आइतवार
सारांश
  • जारी टी- २० विश्वकप २०२६ को उपाधिका लागि आज भारत र न्युजील्यान्ड आमने सामने हुँदैछन् ।

काठमाण्डौ, २४ फाल्गुण । जारी टी- २० विश्वकप २०२६ को उपाधिका लागि आज भारत र न्युजील्यान्ड आमने सामने हुँदैछन् । यो खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुँदैछ ।

 

दुवै टोली उपाधिबाट एक कदम मात्र टाढा रहेका कारण फाइनल खेल निकै रोचक हुने अपेक्षा गरिएको छ । प्रतियोगिताभर भारतको ब्याटिङ निकै प्रभावशाली देखिएको छ भने न्युजील्यान्डका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यसैले फाइनलमा बलियो ब्याटिङ र अनुशासित बलिङबीचको रोचक प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ।

 

भारतका लागि सञ्जु सामसन र इशान किशन उत्कृष्ट लयमा देखिएका छन् । सामसनले चार खेलमा २३२ रन बनाएका छन् भने किशनले आठ खेलमा २६३ रन जोडिसकेका छन् । टोलीका कप्तान सूर्यकुमार यादवले पनि २४२ रन बनाएका छन् । यस्तै हार्दिक पाण्ड्याले अलराउण्ड प्रदर्शन गर्दै ब्याटबाट १९९ रन बनाउनुका साथै बलिङतर्फ आठ विकेट लिएका छन् । तिलक वर्मालाई अन्तिम क्रममा ब्याटिङ गराउने निर्णय पनि टोलीका लागि लाभदायक बनेको छ ।

 

तर भारतका लागि बलिङ भने चिन्ताको विषय बनेको छ । जसप्रित बुमराह बाहेक अन्य बलरहरू अपेक्षाअनुसार प्रभावकारी देखिएका छैनन् । बुमराहले सात खेलमा १० विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका छन् । अर्शदीप सिंहको प्रदर्शन भने उतारचढावपूर्ण देखिएको छ भने वरुण चक्रवर्तीबाट पनि अपेक्षित सफलता मिल्न सकेको छैन ।

 

यता न्युजील्यान्डको सबैभन्दा बलियो पक्ष बलिङ रहेको छ। म्याट हेनरी र लोकी फर्ग्युसनको तीव्र बलिङले विपक्षी ब्याटरलाई निकै दबाबमा पारेको छ । कप्तान मिचेल स्यान्टनरले किफायती बलिङ गर्दै रनको गति नियन्त्रण गरेका छन् भने रचिन रविन्द्रले स्पिन बलिङबाट विकेट निकाल्दै टोलीलाई महत्वपूर्ण सफलता दिलाएका छन् । रविन्द्रले प्रतियोगितामा ११ विकेट लिइसकेका छन् ।

 

न्युजील्यान्डको ब्याटिङतर्फ शीर्ष क्रममा रहेका टिम सिफर्ट र फिन एलेन उत्कृष्ट लयमा छन्। सिफर्टले सात खेलमा २७४ रन बनाएका छन् भने एलेनले २८९ रन जोडेका छन् । उनले सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध ३३ बलमा शतक प्रहार गर्दै आफ्नो आक्रामक क्षमता देखाएका थिए ।

 

फाइनल खेलको नतिजा धेरै हदसम्म भारतको बलियो ब्याटिङले न्युजील्यान्डको अनुशासित बलिङविरुद्ध कस्तो प्रदर्शन गर्छ भन्नेमा निर्भर रहने देखिन्छ । यदि भारतीय ब्याटरहरूले सुरुदेखि नै आक्रामक रूपमा रन बनाउन सके खेलमा भारतको पकड बलियो हुन सक्छ । तर न्युजिल्यान्डका बलरहरूले सुरुवाती विकेट लिन सफल भए खेलको दिशा बदलिन पनि सक्छ ।

 

समग्रमा हेर्दा अहमदाबादमा हुने फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। भारत लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ भने न्युजील्यान्ड पहिलोपटक यो उपाधि जित्ने प्रयासमा मैदान उत्रनेछ ।

 

सम्भावित प्लेइङ ११:

 

भारत: संजु सामसन (विकेटकिपर), अभिषेक शर्मा, इशान किशन, सूर्यकुमार यादव (कप्तान), शिवम दुबे, तिलक वर्मा, हार्दिक पाण्ड्या, अक्षर पटेल, वरुण चक्रवर्ती, जसप्रीत बुमराह र अर्शदीप सिंह ।


न्यूजील्याण्ड: टिम सेफर्ट (विकेटकिपर), फिन एलेन, रचिन रवीन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, डेरिल मिचेल, जेम्स नीशम, मिचेल स्यान्टनर (कप्तान), कोल म्याककोन्ची, म्याट हेनरी र लकी फर्गुसन । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार