एकदिवसीय र टी-२० फर्म्याटमा किन हुन्छ एशिया कप ?

२०८२ भाद्र २२ आईतवार
सारांश
  • एशिया कप क्रिकेटको इतिहासको कुरा गर्दा ८० को दशकको सुरुवातमा, भारत र पाकिस्तानमा लोकप्रियताको हिसाबले दुई खेलहरू तीव्र प्रतिस्पर्धा गरिरहेका थिए ।

काठमाडौँ : सेप्टेम्बर ९ देखि २९ सम्म युएईमा एशिया कप क्रिकेट हुदैछ । ८ देशले भाग लिने यो प्रतियोगितालाई एशियाको क्रिकेट विश्वकपको रुपमा मानिन्छ । विश्व क्रिकेटका सबैभन्दा ठुला प्रतिद्वन्दी भारत पाकिस्तानका कारण पनि एशिया कपको चर्चा चुलिने गर्दछ ।
 

एशिया कप क्रिकेटको इतिहासको कुरा गर्दा ८० को दशकको सुरुवातमा, भारत र पाकिस्तानमा लोकप्रियताको हिसाबले दुई खेलहरू तीव्र प्रतिस्पर्धा गरिरहेका थिए । एउटा हक्की थियो र अर्को क्रिकेट । त्यसबेला हक्कीमा तीन प्रमुख प्रतियोगिताहरू थिए, जसमा दुवै देशका टोलीहरूले एकअर्कासँग खेल्थे । विश्वकप, च्याम्पियन्स ट्रफी र एसिया कप । तर, क्रिकेटमा विश्वकप मात्र थियो र त्यसमा पनि भारत-पाकिस्तान खेलहरू हुन सकेनन् ।
 

यसैबीच, १९८३ मा एसियाली क्रिकेट परिषद्को गठन भएको थियो । यसको उद्देश्य एसियाली क्रिकेट टोलीहरू, विशेष गरी भारत र पाकिस्तान बीच थप प्रतिस्पर्धाको लागि प्लेटफर्म सिर्जना गर्नु थियो । परिषद्ले १९८४ बाट नयाँ प्रतियोगिता सुरु गर्ने निर्णय गर्‍यो, जसको नाम एशिया कप थियो ।
 

१९८४ देखि एशिया कप १६ पटक आयोजना गरिएको छ । यसको १७औं संस्करण सेप्टेम्बर ९ बाट सुरु हुनेछ। यस पटक प्रतियोगिता टी-२० फर्म्याटमा खेलिदैछ । एसिया कप प्रत्येक दुई वर्षमा आयोजना हुने प्रतियोगिता हो । १९८४ देखि २०१४ सम्म, पहिलो १२ एसिया कप एकदिवसीय ढाँचामा आयोजना गरिएको थियो । यसपछि, एसियाली क्रिकेट परिषद्ले यो प्रतियोगिता आगामी विश्वकपको तयारीका लागि प्रयोग गर्ने निर्णय गर्‍यो । यसको ढाँचा विश्वकपको आधारमा तय गरिने निर्णय गरियो । यदि अर्को विश्वकप एकदिवसीय ढाँचामा छ भने, एसिया कप पनि एकदिवसीय ढाँचामा हुनेछ । त्यसैगरी, यदि अर्को विश्वकप टी- २० फर्म्याटमा छ भने, एसिया कप पनि टी-२० फर्म्याटमा हुनेछ ।
 

२०१६ र २०२२ मा, टी-२० विश्वकप अघि, एसिया कप टी-२० फर्म्याटमा आयोजना गरिएको थियो । त्यस्तै, २०१८ र २०२३ मा, एकदिवसीय विश्वकप अघि, एसिया कप एकदिवसीय ढाँचामा आयोजना गरिएको थियो ।
 

भारतीय क्रिकेट टिमले सबैभन्दा धेरै एसिया कप जित्ने रेकर्ड राखेको छ । भारतले अहिलेसम्म आयोजित १६ एसिया कपमध्ये १५ मा भाग लिएको छ र ८ पटक उपाधि जितेको छ । भारतले यो प्रतियोगिता ७ पटक एकदिवसीय ढाँचामा र १ पटक टी-२० ढाँचामा जितेको छ । श्रीलंका ६ पटक उपाधि (५ एकदिवसीय र एक टी-२० ) सहित दोस्रो स्थानमा छ । त्यस्तै पाकिस्तान दुई पटक च्याम्पियन बनेको छ (दुबै एकदिवसीय फर्म्याटमा ) ।
 

श्रीलंकाले एसिया कपमा समग्रमा सबैभन्दा धेरै खेल जित्ने रेकर्ड राखेको छ । श्रीलंकाले एसिया कपमा कुल ४४ खेल जितेको छ । यसले एकदिवसीय ढाँचामा ३८ खेल र टी-२० मा ६ खेल जितेको छ । त्यस्तै भारत दोस्रो स्थानमा छ । भारतले कुल ४३ खेल जितेको छ । भारतले एकदिवसीयमा ३५ र टी-२० मा ८ खेल जितेको छ । 
 

यस पटक एसिया कप क्रिकेटमा भारत र पाकिस्तानसहित, अफगानिस्तान, बंगलादेश, श्रीलंका, ओमान, हङकङ र युएई खेल्दैछन् । अघिल्लो एशिया कप खेलेको नेपाल भने यस एशिया कपमा छनौट हुन असफल भएको थियो । २०२४ मा भएको एसीसी प्रिमियर कपमा सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल यस एशिया कपमा छनौट हुन असफल भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार