बंगलादेशमा हिन्दुमाथि भएको हिंसाप्रति नेपाल सन्त समाजको गम्भीर ध्यानाकर्षण

२०८२ पुष ०८ मङ्गलवार
सारांश
  • 'वसुधैव कुटुम्बकम्' र सहअस्तित्वको भावना विपरीत भइरहेका यस्ता हिंसात्मक कार्य रोक्नु राज्यको प्रमुख दायित्व भएको स्मरण गराइएको छ ।

काठमाडौँ, ७ पुस: छिमेकी राष्ट्र बंगलादेशमा उत्पन्न राजनीतिक अस्थिरताको आडमा अल्पसंख्यक सनातन हिन्दु समुदायमाथि भइरहेको हिंसात्मक आक्रमणप्रति नेपाल सन्त समाजले गम्भीर चिन्ता र घोर भर्त्सना व्यक्त गरेको छ ।

 

समाजले आज एक विज्ञप्ति जारी गर्दै बंगलादेशमा हिन्दु आस्था भएकै आधारमा व्यक्ति हत्या, मन्दिरमा आक्रमण र सम्पत्तिको विनाश भइरहेको भन्दै यस्ता अमानवीय कार्य तत्काल रोक्न माग गरेको हो ।

 

हालै बंगलादेशमा हिन्दु युवा दीपुचन्द्र दासको अमानवीय र क्रूर ढंगले हत्या भएको छ । यसका साथै हिन्दुहरूका मन्दिरमा आक्रमण, निजी घर र व्यवसायमा आगजनी, महिलामाथि हिंसा, जबरजस्ती धर्म परिवर्तनको दबाब र निर्दोष नागरिकहरूको हत्याजस्ता घटनाहरू बढिरहेको समाजले जनाएको छ ।

 

"कुनै पनि समुदायका मानिसहरू प्रति हुने यस्ता अमानवीय र असभ्य व्यवहारहरू कुनै पनि हालतमा स्वीकार्य हुँदैनन्," विज्ञप्तिमा भनिएको छ, "सनातन आस्थाका अनुयायीहरूमाथि भइरहेको अत्याचार कुनै एक समुदायमाथिको मात्र नभई सम्पूर्ण मानवता र नैतिकतामाथिको आक्रमण हो ।"

 

नेपाल सन्त समाजले बंगलादेश सरकारसँग त्यहाँका अल्पसंख्यक हिन्दु समुदायको जीवन, धार्मिक आस्था र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न र दोषीहरूमाथि तत्काल कानुनी कारबाही गर्न जोडदार माग गरेको छ ।

 

साथै, समाजले नेपाल सरकारलाई पनि यस संवेदनशील विषयमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्न र बंगलादेशमा रहेका हिन्दुहरूको सुरक्षाका लागि आवश्यक कूटनीतिक पहल गर्न आग्रह गरेको छ । अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकारवादी संस्थाहरूलाई समेत यस्ता मानवअधिकार विरोधी गतिविधि रोक्न प्रभावकारी हस्तक्षेप गर्न विज्ञप्ति मार्फत अपिल गरिएको छ ।

 

समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती र महासचिव आचार्य गुरुप्रसाद सुवेदीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा 'वसुधैव कुटुम्बकम्' र सहअस्तित्वको भावना विपरीत भइरहेका यस्ता हिंसात्मक कार्य रोक्नु राज्यको प्रमुख दायित्व भएको स्मरण गराइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार