नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
२०८१ माघ १ गते मंगलवार
- गोरु जुधाईको अवलोकनपश्चात् मुख्यमन्त्री तामाङले पशु अधिकारको रक्षा गर्दै संस्कृतिको जगेर्ना, पर्यटन प्रवर्द्धन र खेलकुदको एक विधाको रूपमा गोरु जुधाईलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए ।
त्रिशूली (नुवाकोट), १ माघः माघेसङ्क्रान्ति पर्वको अवसरमा आज नुवाकोटको तारुका, बेत्रावतीलगायतका स्थानमा गोरु जुधाई प्रदर्शनी आयोजना गरिएको छ ।
माघेसङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाई प्रदर्शनीको क्रममा यस वर्ष नुवाकोटको तारुकामा १३ हल, बेत्रावतीमा ११ हलसहित जिल्लाका विभिन्न स्थानमा यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा आयोजित गोरु जुधाईमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतसहितले अवलोकन गरे । यसअघि दर्ता भएर जुधाउन १४ हल तयारी अवस्थामा राखेको भए पनि एउटा गोरुको स्वास्थ्यमा समस्या देखिएसँगै १३ हल गोरु जुधाइएको हो ।
गोरु जुधाईको अवलोकनपश्चात् मुख्यमन्त्री तामाङले पशु अधिकारको रक्षा गर्दै संस्कृतिको जगेर्ना, पर्यटन प्रवर्द्धन र खेलकुदको एक विधाको रूपमा गोरु जुधाईलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । त्यसका लागि विषयगत मन्त्रालयसँगको सहकार्यमा आवश्यक कार्य अगाडि बढाइने उनले प्रतिबद्धता जनाए ।
गोरु जुधाई प्रदर्शनीमा विजेता र उपविजेता भएका गोरुका धनी (किसान)लाई प्रोत्साहनस्वरुप नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । जुधाईमा संलग्न भएका गोरुको प्रस्तुति, जुधाईको कलाकौशल गराएका र विजेता भएका सबै गोरुका धनीलाई भिन्नभिन्न विधामा सम्मान गरिएको माघे सङ्क्रान्ति गोरु जुधाई महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए ।
यसै अवसरमा आज नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीमा ११ हल गोरु जुधाइएको छ । गोरु जुधाई प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटले किसानले पालेका मध्येबाट छनोट गरेर जुधाई प्रदर्शनी गरिएको जानकारी दिए ।
कार्यक्रममा विदुरका नगरप्रमुख राजन श्रेष्ठले कला, संस्कृति र इतिहाससँग जोडिएको गोरु जुधाई संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पछिल्ला वर्षमा नगरपालिकाको आर्थिक सहयोगसहित सहआयोजकको रुपमा भूमिका निर्वाह गर्दै आएकामा आगामी दिनमा वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेर थप सहयोग गरिने बताए ।
माघेसङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपल, लिखु गाउँपालिका–३ सूर्यमती, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा र नुवाकोटसँग सीमा जोडिएका धादिङका विभिन्न स्थानमा समेत गोरु जुधाई प्रदर्शनी गरेर किसानले माघेसङ्क्रान्ति पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
गोरु जुधाई प्रदर्शनीको सुरुआत विभिन्न इतिहाससँग जोडेर उल्लेख गरे पनि त्यसको कहीँकतै यकिन तथ्य भने नभएकाले धेरै वर्ष पहिलादेखि नुवाकोटका विभिन्न गाउँठाउँमा यस परम्पराको थालनी भएको पाइन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’