विश्वसनीय मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्छ- मन्त्री श्रेष्ठ

२५ बैसाख, २०८३, शुक्रवार
सारांश
  • उहाँले पछिल्लो समयमा मौसम पूर्वानुमान सेवाको माग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै जल तथा मौसम विज्ञान नीति–२०८१ ले अघि सारेको ‘सबैका लागि समयमै गुणस्तरीय र विश्वसनीय जल, मौसम तथा जलवायु सेवा’ भन्ने लक्ष्य प्राप्तिका लागि अझ धेरै काम गर्नुपर्ने अवस्था रहेको औंल्याए ।

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण मनसुनको स्वरूप झन् अनिश्चित र अप्रत्याशित बन्दै गएको भन्दै विश्वसनीय मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन् ।

 

शुक्रबार जल तथा मौसम विज्ञान विभागद्वारा आयोजित ‘राष्ट्रिय मनसुन फोरम २०२६’ लाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मनसुन फोरम केवल मौसमी पूर्वानुमान प्रस्तुत गर्ने औपचारिक मञ्च मात्र नभई विज्ञान, विकास कार्यक्रम कार्यान्वयन तथा विपद् पूर्व तयारीलाई एकै ठाउँमा जोड्ने महत्वपूर्ण संगम भएको बताएका हुन् ।

 

उहाँले पछिल्लो समयमा मौसम पूर्वानुमान सेवाको माग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै जल तथा मौसम विज्ञान नीति–२०८१ ले अघि सारेको ‘सबैका लागि समयमै गुणस्तरीय र विश्वसनीय जल, मौसम तथा जलवायु सेवा’ भन्ने लक्ष्य प्राप्तिका लागि अझ धेरै काम गर्नुपर्ने अवस्था रहेको औंल्याए ।

 

मन्त्री श्रेष्ठका अनुसार जल तथा मौसम सेवाको गुणस्तर सुधार गर्न अवलोकन केन्द्रहरूको राष्ट्रिय सञ्जाल विस्तार, दिगो व्यवस्थापन, अध्ययन अनुसन्धानमा प्रोत्साहन तथा आधुनिक प्रविधिको प्रयोगमार्फत स्थान विशेषको पूर्वानुमान प्रणाली विकास गर्न आवश्यक छ । उनले मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई नवप्रवद्र्धनयुक्त प्रविधिसँग जोडेर एसएमएस, डिजिटल प्लेटफर्म तथा उपलब्ध सबै सञ्चार माध्यममार्फत जनस्तरसम्म पु¥याउनुपर्नेमा आवश्यकतालाई जोड दिए ।

 

त्यस्तै मन्त्री श्रेष्ठले जल तथा मौसमसम्बन्धी सूचनाले विपद् जोखिम न्यूनीकरण मात्र नभई पर्यटन, स्वास्थ्य, भौतिक पूर्वाधार तथा जलस्रोत व्यवस्थापनजस्ता विकासका क्षेत्रलाई पनि प्रभावकारी बनाउन सहयोग पुग्ने बताए । साथै पूर्वानुमान प्रणालीले यातायात तथा पूर्वाधार निर्माण, स्वास्थ्य सेवा व्यवस्थापन, कृषि उत्पादन तथा सिँचाइ व्यवस्थापनमा समेत महत्वपूर्ण योगदान दिने उनको भनाइ थियो ।

 

मन्त्री श्रेष्ठले वर्षा र नदी प्रवाहको पूर्वानुमानले जलाशय व्यवस्थापन र विद्युत उत्पादन योजनाको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने उल्लेख गर्दै मनसुन आँकलनले विपद्का लागि मनसुन पूर्वतयारी कार्य योजनालाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए  ।

 

पछिल्ला वर्षहरूमा एसएमएस र बुलेटिनमार्फत सञ्चालन गरिएको बाढी पूर्वसूचना प्रणालीले लाखौं नागरिकलाई समयमै सतर्क गराई जनधनको क्षति न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याएको स्मरण गर्दै आगामी दिनमा  जल तथा मौसम सूचना प्रणालीको प्राविधिक र जनशक्तिमा ध्यान दिनुपर्ने भन्दै त्यसका लागि मन्त्रालय आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताए ।  

 

कार्यक्रममा विभागले यस वर्ष औसतभन्दा कम मनसुन र औसतभन्दा बढी सुख्खा हुने सम्भावना रहेको प्रारम्भिक आँकलन सार्वजनिक गरेको छ । विभागका अनुसार जेठ १८ गतेदेखि असोज १४ गतेसम्म देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ ।

 

त्यस्तै, अधिकतम र न्यूनतम तापक्रम देशभर औसतभन्दा बढी रहने सम्भावना औंल्याइएको छ । विभागले विशेषगरी कर्णाली प्रदेशको दक्षिणी भाग, लुम्बिनी प्रदेशको अधिकांश भूभाग, मधेस प्रदेशको पूर्वी क्षेत्र तथा कोशी प्रदेशको दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार