धनुषा-१ मा मातृका यादव विजयी भएर पनि प्रमाणपत्र नदिएको भन्दै नेकपाको ध्यानाकर्षण

२०८२ फागुन २५ गते सोमवार
सारांश
  • पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै मतगणनाबाट विजय निश्चित भइसकेपछि पनि निर्वाचन आयोगले प्रमाणपत्र हस्तान्तरण नगरेको विषय चिन्ताजनक रहेको बताएका छन् ।

काठमाण्डौ, २५ फाल्गुण । नेपाली कम्युनिष्ट पार्टीले धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसकेपछि पनि प्रमाणपत्र नदिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै मतगणनाबाट विजय निश्चित भइसकेपछि पनि निर्वाचन आयोगले प्रमाणपत्र हस्तान्तरण नगरेको विषय चिन्ताजनक रहेको बताएका छन् ।

 

विज्ञप्तिमा निर्वाचन आयोगको फागुन १८ गते बसेको बैठकले निर्वाचन ऐन २०७४ अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको उल्लेख गरिएको छ । त्यसपछि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना सकिँदा पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिनु गम्भीर विषय भएको पार्टीको भनाइ छ ।

 

निर्वाचन आयोगकै निर्देशनअनुसार फागुन २२ गते सबै उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना सम्पन्न भएको र त्यसबाट मातृकाप्रसाद यादव विजयी भएको पुष्टि भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।  यस्तो अवस्थामा प्रमाणपत्र दिन ढिलाइ गर्नु र स्थापित प्रक्रिया विपरीत काम हुनु चिन्ताजनक रहेको पार्टीले जनाएको छ ।

 

उम्मेदवारी नै खारेज भइसकेको व्यक्तिसँग सम्बन्धित भन्दै प्रमाणपत्र वितरण नगर्नु कानुनसम्मत नदेखिने पनि पार्टीको धारणा छ ।

 

पार्टीले संवैधानिक निकायका रूपमा निर्वाचन आयोगलाई विधिको शासन पालना गर्दै कुनै राजनीतिक दबाबमा नपरी निष्पक्ष रूपमा काम गर्न आग्रह गरेको छ । साथै न्यायालयले पनि कानुन र प्रक्रियाअनुसार उचित निर्णय गर्ने विश्वास व्यक्त गरिएको छ ।

 

आयोगले भने यो विषय हाल अदालतमा भएकाले अदालतको आदेश नआएसम्म मतगणनाको परिणाम सार्बजनिक नगर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार