विज्ञहरुको नजरमा मुख्य दलहरूको चुनावी घोषणापत्र

२०८२ फाल्गुण १४ विहीवार
सारांश
  • एमालेको परियोजना–केन्द्रित दृष्टिकोणभन्दा फरक रूपमा कांग्रेसले कार्यान्वयनका चरणबद्ध उपायहरू प्रस्तुत गरेको छ र घोषणापत्र तयार पार्दा विशेषज्ञ परामर्शसहित पर्याप्त तयारी गरिएको देखिन्छ ।

बिन्दुपोष्टले नेपाली काँग्रेस, एमाले तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी घोषणापत्र सार्वजनिक भए पछि विज्ञहरु संग सो विषयमा छलफल गरेको थियो । छलफल क्रममा विज्ञहरुले घोषणापत्रको सामान्य बुझाई, अर्थतन्त्र, विदेश मामिला तथा समावेशीताको विषयमा आफ्नो राय प्रस्तुत गरेका थिए ।

 

डा. इन्द्रा अधिकारी
अन्तर्राष्ट्रिय सम्बन्ध तथा सुरक्षा विज्ञ डा. इन्द्रा अधिकारीले नेपाली काँग्रेस, एमाले र रास्वपाले सार्वजनिक गरेका निर्वाचन घोषणापत्रहरूको तुलनात्मक विश्लेषण प्रस्तुत गर्नुभएको छ । उहाँको विश्लेषणअनुसार एमालेको घोषणापत्र परियोजनामा आधारित देखिन्छ । जसमा पूर्वाधार विकास र कनेक्टिभिटी विस्तारमा विशेष जोड दिइएको छ । भूमिहीन नागरिकलाई जग्गा दर्ता प्रमाणपत्र वितरण गर्ने व्यवस्था पनि यसमा समावेश गरिएको छ । परराष्ट्र नीतिमा एमाले राष्ट्रिय स्वाभिमान र राष्ट्रवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अघि सारेको छ । साथै एमालेले भन्दै आएको ”सबैप्रति मैत्री र कसैप्रति वैरभाव होइन” भन्ने विषय पनि समावेश छ । नेपाली काँग्रेसले भने अरुको चासोलाई पनि सम्बोधन गर्ने तथा आफ्नो स्वाभिान पनि कायन राख्ने विषयहरु घोषणापत्रमा छन्।  

 

रास्वपाले आर्थिक वृद्धिलाई विशेष प्राथमिकता दिएको छ । विशेषगरी कुल गा्रहस्थ उत्पादन वृद्धिमा जोड दिएको छ । गैरआवासीय नेपालीलाई मतदान अधिकार दिने प्रस्ताव यसमा समेटिएको छ । लगानीमार्फत आर्थिक विस्तार गर्ने लक्ष्य उल्लेख गरिएको भए पनि त्यस्तो लगानीले गरिब वर्गसम्म कसरी प्रतिफल पु¥याउँछ भन्ने विषयमा स्पष्टता कम देखिन्छ । सामाजिक सुरक्षाबारे सीमित रुपमा उल्लेख मात्र गरिएको छ । अघिल्लो अस्पष्टताभन्दा भिन्न रूपमा यसपटक रास्वपाले संघीयता र संवैधानिक सुधारको पक्षमा देखिन्छ । धर्मसम्बन्धी विषयमा भने रास्वपा पार्टी मौनजस्तै देखिन्छ । परराष्ट्र नीतिमा रास्वपाले प्रवासी नेपाली समुदायलाई सम्बोधन गरेको छ । जुन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अघि सारेको नेपाललाई भारत तथा चीनको पुलको रुपमा विकास गर्न सकिने अवधारणासँग मिल्दोजुल्दो देखिन्छ । साथै, पार्टीले डिजिटल अर्थतन्त्र र मेरिटोक्रेसी (योग्यता–आधारित प्रणाली) लाई प्राथमिकता दिएको छ । तर नेपालजस्तो असमान अवसर र स्रोतको पहुँच भएको समाजमा मेरिटोक्रेसीको अवधारणा स्वयं विवादको विषय बन्न सक्ने देखिन्छ ।

 

नेपाली कांग्रेसको भिजन १० रूपरेखा व्यापक र समग्र दृष्टिकोणयुक्त रहेको उल्लेख गरिएको छ । एमालेको परियोजना–केन्द्रित दृष्टिकोणभन्दा फरक रूपमा कांग्रेसले कार्यान्वयनका चरणबद्ध उपायहरू प्रस्तुत गरेको छ र घोषणापत्र तयार पार्दा विशेषज्ञ परामर्शसहित पर्याप्त तयारी गरिएको देखिन्छ । ५–७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य र त्यसका लागि आवश्यक कानुनी संशोधनको सम्भावनाबारे पनि उल्लेख गरिएको छ । एमाले भौतिक कनेक्टिभिटी र विकास परियोजनालाई प्राथमिकता दिँदा कांग्रेसले लोकतान्त्रिक मूल्य र मान्यतालाई बढी जोड दिएको देखिन्छ ।

 

समावेशिताका सन्दर्भमा नेपाली कांग्रेसले जाति, लिंग र मर्यादापूर्ण जीवन बाँच्न पाउनु पर्ने अधिकार समेट्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ । तर, डा. अधिकारीका अनुसार सबै घोषणापत्रहरूमा अनौपचारिक क्षेत्रको पहिचान, विशेषगरी महिलाले गर्ने निःशुल्क हेरचाह श्रम (अन्पेड केयर वर्क ) को विषयमा पर्याप्त ध्यान दिइएको छैन । उहाँको तर्क छ कि महिलाको सार्थक राजनीतिक सहभागिता तब मात्र सम्भव हुन्छ, जब उनीहरूलाई तल्लो तहबाटै राजनीतिमा सक्रिय रूपमा संलग्न गराइन्छ ।

 

समग्रमा हेर्दा एमाले कनेक्टिभिटी र राष्ट्रवादलाई प्राथमिकता दिएको छ, रास्वपाले आर्थिक वृद्धि र डिजिटल रूपान्तरणमा जोड दिएको छ भने नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य र संरचित सुधारलाई केन्द्रमा राखेको छ । डा. अधिकारीले यी सबै दलका घोषणापत्रहरूमा आफ्ना–आफ्ना सबल पक्षसँगै केही महत्वपूर्ण कमीहरू पनि औंल्याउनुभएको छ ।

 

रमेश अधिकारी
अन्तर्राष्ट्रिय विकास सल्लाहकार श्री रमेश अधिकारीले नेपाली काँग्रेस, एमाले, र रास्वपाले सार्वजनिक गरेका निर्वाचन घोषणापत्रहरूको तुलनात्मक मूल्यांकन प्रस्तुत गर्नुभएको छ । उहाँका अनुसार अघिल्ला निर्वाचनहरूको तुलनामा यसपटक दलहरूले घोषणापत्रलाई बढी गम्भीरतापूर्वक तथा मापन गर्न सकिने रुपमा तयार पारेका देखिन्छन् । नेपाली कांग्रेसले १२–१३ लाख रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ भने एमाले ले १००–२०० खर्बको अर्थतन्त्र निर्माण गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ । नेपाली काँग्रेस ले प्रतिव्यक्ति आय २५०० र रास्वपाले ३,००० अमेरिकी डलर पु¥याउने लक्ष्य अघि सारेको छ । 

 

उहाँका अनुसार सन् १९९० मा नेपालको प्रतिव्यक्ति आय करिब १८५ डलर थियो भने २०२६ सम्म आइपुग्दा यो करिब १,५०० डलर पुगेको छ । दलहरुको आकांक्षा हेर्दा अहिलेको दरलाई जतिनै बढाए पनि अहिलेका लक्ष्यहरू अत्यन्त महत्वाकांक्षी रहेको उहाँको विश्लेषण छ । आर्थिक दृष्टिकोणका सन्दर्भमा नेपाली कांग्रेसले निजी क्षेत्र सुदृढीकरण र खुला उदार अर्थतन्त्रलाई प्राथमिकता दिएको छ । रास्वपाले डिजिटल अर्थतन्त्र र संरचनात्मक सुधारमा जोड दिएको छ भने एमालेले कनेक्टिभिटी विस्तार र उत्पादनमुखी वृद्धिमा बढी ध्यान केन्द्रित गरेको देखिन्छ । समावेशिताका विषयमा उहाँको भनाईमा नेपालको संविधान नै समावेशी भएकाले दलहरूले यसबारे विस्तृत रूपमा उल्लेख नगरेको हुनसक्ने तर्क गर्नुहुन्छ । सरकारका तिनै तहमा जनप्रतिनिधिको रुपमा संबैधानिक ब्यबस्थाको कारण महिलाको सहभागिता सकारात्मक रूपमा बढेको पनि उहाँको बुझाई छ । नेपाली कांग्रेसले “कोख देखि शोकसम्म”, कल्याणकारी दृष्टिकोण अवलम्बन गर्दै गर्भवती महिलाको संरक्षण र जीवनचक्रभर सामाजिक सुरक्षामा जोड दिएको छ । यसको विपरीत एमालेले नगदमा आधारित प्रोत्साहन कार्यक्रमतर्फ झुकाव देखाएको छ भने रास्वपाले संरचनात्मक सुधार र डिजिटल रूपान्तरणमा ध्यान दिएको छ ।

 

परराष्ट्र नीतिमा नेपाली कांग्रेसले नागरिक–केन्द्रित कूटनीति र भारत तथा चीनसँग सन्तुलित सहकार्यको वकालत गरेको छ । एमाले ले परराष्ट्र नीतिलाई मुख्यतः राष्ट्रवादको दृष्टिकोणबाट प्रस्तुत गरेको छ । रास्वपाले डिजिटल सीमापार व्यापारमा जोड दिँदै चीन र संयुक्त राज्य अमेरिकाबाट सहुलियत ऋण प्राप्त गर्ने विषयलाई प्राथमिकता दिएको छ र कूटनीतिलाई मुख्यतः आर्थिक कूटनीतिका रूपमा परिभाषित गरेको छ । तथापि, उनको अनुसार तीनै दलका घोषणापत्रहरूमा जलवायु परिवर्तन, “लस एन्ड ड्यामेज” कोष, र जलवायु न्यायजस्ता नेपालका लागि अत्यन्त महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दाहरूको स्पष्ट उल्लेख छैन । त्यसैगरी, अति कम विकसित मुलुकबाट स्तरोन्नति भएपछि नेपालको व्यापार संरक्षण रणनीतिबारे पनि स्पष्ट योजना प्रस्तुत गरिएको छैन । घोषणापत्रहरू मुख्यतः निर्यात–केन्द्रित अर्थतन्त्रमा केन्द्रित देखिन्छन् ।

 

उहाँले नेपालको दूतावासहरूको संस्थागत क्षमतामाथि पनि प्रश्न उठाउनुभएको छ । दूतावासहरू प्रायः भिसा र राहदानी सेवा प्रदान गर्ने कार्यमा सीमित रहेको र प्रभावकारी आर्थिक कूटनीति सञ्चालन गर्न आवश्यक स्रोत तथा रणनीतिक क्षमता अभाव रहेको उहाँको तर्क छ । यस सम्बन्धमा घोषणाहरु समेटन असफल भयका छन। राजनीतिक नियुक्तिका आधारमा राजदूत नियुक्त हुने प्रचलनमा स्पष्ट मूल्यांकन मापदण्डको कमी हुनसक्ने पनि उहाँले संकेत गर्नुभएको छ । साथै, डिजिटल युगमा बढ्दो महत्व बोकेको साइबर कूटनीतिजस्ता विषयमा तीनै दलका घोषणापत्रहरू मौन रहेको उहाँको निष्कर्ष छ ।

 

रोबिन शर्मा 
नीति तथा रणनिति विज्ञ अधिवक्ता श्री रविन शर्माले नेपाली काँग्रेस, एमाले र रास्वपाले  सार्वजनिक गरेका घोषणापत्रहरूबारे आफ्नो धारणा प्रस्तुत गरेका छन् । उहाँले  तीनै दलका घोषणापत्रहरूमा दलगत लक्ष्य र भिजन उल्लेख गरिएका छन्, तर ती भिजन कसरी कार्यान्वयन गरिने भन्ने स्पष्ट, विश्वासिलो खाका भने दिन सकेका छैनन् भनेर जनाए ।

 

हाल राष्ट्रले स्पष्ट कार्ययोजना सहितको घोषणापत्रको खोजीमा छ । तर, यस प्रकारको नआएकोले घोषणापत्र मतदातालाई साँच्चिकै प्रेरणा दिने भन्दा पनि केवल कर्मकाण्डी प्रकारको नै देखिन्छ ।

 

दोस्रो, आर्थिक दृष्टिकोणबाट हेर्दा नेपाली कांग्रेस र रास्वपा दुवैले सामाजिक न्याय सहितको खुला उदार अर्थतन्त्रको वकालत गरेका छन् भने एमाले भौतिक पूर्वाधार विकास र विस्तारमा बढी केन्द्रित देखिन्छ । शर्माका अनुसार एमाले ले सरकारी खर्च वृद्धि मार्फत आर्थिक वृद्धि हासिल गर्ने रणनीति अवलम्बन गर्न खोजेको जस्तो देखिन्छ । नेपाली कांग्रेस र रास्वपाले  दुवैले आर्थिक सुधार २.० को अवधारणामा जोड दिई निजी क्षेत्रलाई प्रवद्र्धन गरी आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने नीति लिएको देखिन्छ ।

 

अन्त्यमा, 
समग्रमा हेर्दा तीनै दलका घोषणापत्रहरूले आ–आफ्ना प्राथमिकता, दृष्टिकोण र महत्वाकांक्षा प्रस्तुत गरेका छन् । पूर्वाधार र कनेक्टिभिटी, आर्थिक रूपान्तरण र डिजिटल विकास, तथा  लोकतान्त्रिक मूल्य र कल्याणकारी दृष्टिकोणको विषयहरु समावेश छन् । तर विज्ञहरूको साझा निष्कर्ष के देखिन्छ भने लक्ष्यहरू महत्वाकांक्षी भए पनि ती लक्ष्य कसरी हासिल गर्ने भन्ने स्पष्ट कार्ययोजना, स्रोत व्यवस्थापन, संस्थागत क्षमता विकास र कार्यान्वयनको चरणबद्ध मार्गचित्र अझै अस्पष्ट छ । साथै, जलवायु न्याय, एलडिसी स्तरोन्नति पछिको रणनीति, साइबर कूटनीति र आर्थिक कूटनीतिको संस्थागत सुदृढीकरणजस्ता महत्वपूर्ण विषयहरूमा ठोस दृष्टि आवश्यक देखिन्छ । अबको चुनौती भनेको घोषणापत्रमा उल्लेखित प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्दै परिणाममुखी शासनमार्फत नागरिकको विश्वास जित्नु नै हो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार