‘पदका लागि होइन, देशको सेवाका लागि उम्मेदवार बनेको हुँ’ : श्यामबाबु गुप्ता
२०८२ फाल्गुण १० आइतवार
- सिमराका स्थानीय बासिन्दा समेत रहेका गुप्ताले बदलिएको नेपाली कांग्रेसले मात्रै देश बदल्न सक्ने दाबी गरेका छन्।
सिमरा, बारा: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बारा क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढेको छ। यस क्षेत्रबाट नेपाली कांग्रेसले युवा श्यामबाबु गुप्तालाई उम्मेदवार बनाएपछि युवा मतदाताहरूमा थप उत्साह देखिएको छ।
चुनावी अभियानका क्रममा घरदैलोमा व्यस्त रहेका गुप्ताले आफू कुनै व्यक्तिगत लाभ, पद वा मान-सम्मानका लागि नभई देश र जनताको सेवा गर्ने स्पष्ट ध्येयका साथ चुनावी मैदानमा उत्रिएको बताएका छन्। सिमराका स्थानीय बासिन्दा समेत रहेका गुप्ताले बदलिएको नेपाली कांग्रेसले मात्रै देश बदल्न सक्ने दाबी गरेका छन्।
अन्तर्वार्ताका क्रममा गुप्ताले देशमा व्याप्त भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना नै आफ्नो प्रमुख प्राथमिकता रहेको बताए। "अहिलेको युवा पुस्ता (जेनजी) को मुख्य माग भनेकै नेता सुध्रनुपर्छ र देश भ्रष्टाचारमुक्त हुनुपर्छ भन्ने हो," उनले भने, "भाद्र २३ र २४ को जेनजी आन्दोलनको मर्म र जनताको भावनालाई सम्बोधन गर्न मेरो उम्मेदवारी हो।"
बारा क्षेत्र नम्बर ४ देशकै प्रमुख औद्योगिक कोरिडोरमा पर्दछ। तर, यहाँका उद्योगहरूमा स्थानीय युवाले भन्दा बाहिरका व्यक्तिले बढी अवसर पाइरहेको जनगुनासो छ। यस विषयमा गुप्ताले स्पष्ट योजना अघि सारेका छन्। उनले स्थानीय तह र उद्योगहरूसँग समन्वय गरी नीतिगत रूपमै स्थानीय युवाहरूलाई रोजगारीमा जोड्ने प्रतिबद्धता व्यक्त गरे। उनले उद्योगहरूको सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतका कार्यक्रमहरूमा पनि स्थानीय युवालाई नै प्राथमिकता दिने योजना सुनाए।
किसानहरूले समयमा मल नपाउने, सिँचाइको असुविधा र कमजोर सडक पूर्वाधार जस्ता समस्याबाट बाराका जनता आजित भएको गुप्ताको ठम्याइ छ। उनले भने, "अब गफ र आश्वासन होइन, काम गर्ने बेला आएको छ। किसानलाई मल, सिँचाइका लागि पानी र बिजुलीको पोल जस्ता आधारभूत आवश्यकता पूरा गर्न म प्रतिबद्ध छु।"
स्वास्थ्य क्षेत्रको बारेमा बोल्दै उनले बारा ४ मा बढ्दो प्रदूषणका कारण स्वास्थ्य समस्या चुनौतीपूर्ण रहेको बताए। सामान्य उपचारका लागि पनि वीरगन्ज वा काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य गर्न यसै क्षेत्रमा विशेषज्ञ सेवा सहितको सुविधासम्पन्न अस्पताल निर्माण गर्ने उनको योजना छ।
मतदाताहरूसँग मत माग्दै गुप्ताले आफूलाई 'परिवर्तनको संवाहक' का रूपमा प्रस्तुत गरेका छन्। उनले भने, "म युवा हुँ, मसँग नयाँ जोश र काम गर्ने मास्टर प्लान छ। वृद्धभत्ता घरमै पुर्याउनेदेखि पर्यटनका माध्यमबाट देश चिनाउनेसम्मका योजना मसँग छन्। मलाई रुख चिन्हमा मतदान गरी एकपटक सेवा गर्ने मौका दिनुहोस्, म गरेर देखाउँछु।"
नेपाली कांग्रेसले यसपटक धेरै स्थानमा युवाहरूलाई अघि सारेको उल्लेख गर्दै उनले अबको नेतृत्व युवाहरूकै हातमा हुनुपर्नेमा जोड दिए। बारा ४ का मतदाताहरूले पनि नयाँ र काम गर्न सक्ने उम्मेदवारको खोजी गरिरहेका बेला गुप्ताको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।