मोरङ–२ मा चर्किंदो प्रतिस्पर्धा : पुराना शक्ति, नयाँ चुनौती र मतदाताको परीक्षा
२०८२ फाल्गुण ०६ बुधवार
- नेपाली कांग्रेसले पूर्वमन्त्री डा. मीनेन्द्रप्रसाद रिजाललाई उम्मेदवार बनाएको छ। रिजाल यस क्षेत्रका लागि नयाँ अनुहार होइनन्।
मोरङ: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मोरङ निर्वाचन क्षेत्र नम्बर–२ राजनीतिक रूपमा अत्यन्तै चासोको केन्द्र बनेको छ।
परम्परागत रूपमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच प्रतिस्पर्धा हुँदै आएको यस क्षेत्रमा यस पटक भने बहुकोणीय प्रतिस्पर्धाले चुनावी समीकरण थप पेचिलो बनाएको छ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको भिडन्तले मतदाताको ध्यान तानेको छ।
नेपाली कांग्रेसले पूर्वमन्त्री डा. मीनेन्द्रप्रसाद रिजाललाई उम्मेदवार बनाएको छ। रिजाल यस क्षेत्रका लागि नयाँ अनुहार होइनन्।
२०७४ सालको निर्वाचनमा तत्कालीन एमाले–माओवादी गठबन्धनका साझा उम्मेदवार ऋषिकेश पोख्रेललाई पराजित गर्दै उनले कांग्रेसको प्रभाव कायम राखेका थिए। तर २०७९ सालमा पार्टीभित्रको गठबन्धन समीकरणका कारण टिकट नपाएपछि कांग्रेस कमजोर देखिएको थियो। त्यसबेला कांग्रेसबाट सुजाता कोइराला उम्मेदवार बनेकी थिइन् तर एमालेका पोख्रेलसँग पराजित हुनुपरेको थियो। यस पटक कांग्रेसले पुरानो जनाधार पुनः सक्रिय बनाउने लक्ष्यसहित रिजाललाई अघि सारेको छ।
कांग्रेस नेताहरूका अनुसार अघिल्लो निर्वाचनमा देखिएको आन्तरिक असन्तुष्टि समाधान भइसकेको छ र संगठन चुनाव केन्द्रित रूपमा सक्रिय भएको छ। निर्वाचन प्रसार समितिका सचिव आशिष कार्कीले कार्यकर्ता विस्तारै खुल्दै गएको र परिणाम सकारात्मक हुने दाबी गरेका छन्। कांग्रेसले ‘विश्वसनीय नेतृत्व र स्थिर राजनीति’ लाई मुख्य एजेन्डा बनाएको छ।
यता नेकपा (एमाले) ले रङ्गेली नगरपालिकाका पूर्वप्रमुख दिलीपकुमार अग्रवाललाई उम्मेदवार बनाएको छ। स्थानीय तहमा विकास निर्माणका काम गरेको अनुभवलाई चुनावी मुद्दा बनाउँदै अग्रवाल मतदाता माझ पुगेका छन्। रङ्गेली जस्तै मोरङ–२ को विकास भन्ने नारासहित एमालेले संगठनात्मक शक्ति र स्थानीय निर्वाचनको मत परिणामलाई आफ्नो बलियो आधार मानेको छ। एमाले नेताहरूका अनुसार स्थानीय तह निर्वाचनमा प्राप्त अग्रता यस पटक पनि कायम रहने विश्वास छ।
स्थानीय निर्वाचनको तथ्यांकले प्रतिस्पर्धाको आधार स्पष्ट देखाउँछ। २९ वडामध्ये एमालेले १६ वडा जितेको थियो भने कांग्रेसले ११ वडा र माओवादी केन्द्रले दुई वडा जितेका थिए।
मतपरिणाममा एमालेले ३१ हजार १६१ मत पाउँदा कांग्रेसले २८ हजार ६८१ मत प्राप्त गरेको थियो। माओवादी केन्द्रले ६ हजार ८०१, जसपाले ३ हजार १८८ र राप्रपाले १ हजार ८८४ मत ल्याएका थिए। यही मत आधारले कांग्रेस–एमालेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
तर यस पटकको चुनावमा नयाँ राजनीतिक शक्तिको प्रवेशले समीकरण बदलिने संकेत देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कृष्णकुमार कार्की उम्मेदवार छन्। अघिल्लो निर्वाचनमा करिब पाँच हजार मत ल्याएको रास्वपाले यस पटक आक्रामक प्रचार शैली अपनाएको छ। पार्टीका जिल्ला संगठन विभाग सचिव सुनीलदत्त अधिकारीका अनुसार भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र सुशासनको मुद्दाले मतदातामा आकर्षण बढाएको छ। रास्वपाले विशेषगरी युवा र वैकल्पिक राजनीति खोजिरहेका मतदातालाई लक्षित गर्दै अभियान चलाइरहेको छ।
यसैबीच नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुराना कम्युनिस्ट नेता चन्द्रवीर राईलाई उम्मेदवार बनाएको छ। लामो समय शिक्षण पेशामा आबद्ध रही राजनीतिमा सक्रिय भएका राई नेकपा (माले) स्थापनाकालदेखि वाम आन्दोलनमा संलग्न रहँदै आएका नेता हुन्। जिल्ला विकास समितिको सदस्य भएर काम गरिसकेको अनुभव पनि उनीसँग छ। पार्टीका नेता प्रकाश पौडेलका अनुसार विचारधारात्मक राजनीति र जनमुखी कार्यक्रमका आधारमा मतदाताको विश्वास जित्ने प्रयास भइरहेको छ।
मोरङ–२ भौगोलिक रूपमा विविध संरचना भएको निर्वाचन क्षेत्र हो। रतुवामाई नगरपालिकाका सबै १० वडा, सुनवर्षी नगरपालिकाका ९ वडा, रङ्गेली नगरपालिकाका वडा नम्बर १, २, ३, ८ र ९, पथरी शनिश्चरेका वडा नम्बर ५ र ६ तथा कानेपोखरी गाउँपालिकाका वडा नम्बर १, २ र ३ यस क्षेत्रमा पर्छन्। कुल एक लाख २९ हजार १८४ मतदाता रहेको यस क्षेत्रमा ग्रामीण र शहरी दुवै चरित्रको मतदाता मिश्रण छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यस क्षेत्रमा परम्परागत पार्टीको संगठन बलियो भए पनि मतदाताको मनोविज्ञान बदलिँदो अवस्थामा छ। युवा मतदाता, वैदेशिक रोजगारीबाट फर्किएका नागरिक तथा पहिलो पटक मतदान गर्ने समूह निर्णायक बन्न सक्ने अनुमान गरिएको छ। विकास, रोजगारी, सुशासन र स्थानीय पूर्वाधार चुनावी बहसका मुख्य विषय बनेका छन्।
चार स्वतन्त्रसहित १७ उम्मेदवार चुनावी मैदानमा रहे पनि वास्तविक प्रतिस्पर्धा चार दलबीच सीमित देखिन्छ। चुनाव नजिकिँदै जाँदा घरदैलो, कोणसभा र मतदाता भेटघाट कार्यक्रम तीव्र बनेका छन्। दलहरूले आफ्ना उपलब्धि र योजनाको प्रचार गरिरहेका छन् भने मतदाता भने विगतको कामको मूल्यांकन गर्दै निर्णय गर्ने मनस्थितिमा देखिन्छन्।
मोरङ–२ को चुनाव मात्र प्रतिनिधिसभा सदस्य चयन गर्ने प्रक्रिया मात्र होइन, बदलिँदो राजनीतिक धारणा र जनमतको परीक्षण पनि हो। परम्परागत शक्ति पुनः स्थापित हुन्छन् कि नयाँ विकल्पले स्थान बनाउँछ भन्ने प्रश्नको उत्तर अब मतपेटिकाले दिनेछ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।