आज नयाँ बंगलादेशको जन्मदिन हो: मोहम्मद युनुस

२०८२ माघ २९ बिहीवार
सारांश
  • यस मतदानलाई लोकतान्त्रिक शासन पुनर्स्थापनाको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

काठमाडौं: बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले बिहीबार ढाकास्थित एक मतदान केन्द्रमा आफ्नो मत खसाल्दै देशमा १३ औँ राष्ट्रिय संसदीय निर्वाचन तथा संवैधानिक जनमतसंग्रहको सुरुआत गरेका छन् । देशको अन्तरिम प्रशासनको नेतृत्व गरिरहेका युनुसले निर्वाचन र जनमतसंग्रहलाई राष्ट्रिय हर्ष र पुनर्जागरणको क्षणको रूपमा वर्णन गरे ।

 

‘आज ठूलो खुसीको दिन हो । आज नयाँ बंगलादेशको जन्मदिन हो । हामी यो जन्मदिन दिनभर मनाउनेछौँ,’ युनुसले करिब १८ महिना अघि विद्यार्थी नेतृत्वको आन्दोलनले पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिग सरकारलाई सत्ताच्युत गरेपछि हुन लागेको यस निर्वाचनबारे भने ।


‘आजको प्रक्रियामार्फत जनताले विगतलाई अस्वीकार गरेका छन् । जुनसुकै दुःस्वप्नजस्तो विगत थियो, हामीले त्यसलाई पूर्ण रूपमा त्यागेका छौं । आजदेखि हरेक कदममा हामीले नयाँ बंगलादेश निर्माण गर्ने अवसर पाएका छौं,’ उनले भने,‘उम्मेदवारलाई मत दिनु महत्वपूर्ण छ, तर जनमतसंग्रह अत्यन्त महत्वपूर्ण छ । यसले सम्पूर्ण बंगलादेश परिवर्तन गर्नेछ,’ युनुसले उल्लेख गरे । ‘म अत्यन्त खुसी छु । यो मेरो लागि मात्र होइन, सम्पूर्ण बंगलादेशका लागि ठूलो खुसीको दिन हो । यो मुक्ति दिवस हो । हाम्रो दुःस्वप्नको अन्त्य र नयाँ सपनाको सुरुआत आजको प्रक्रियामार्फत भइरहेको छ,’ उनले थपे ।

 

युनुसले आज बिहान करिब १०ः०० बजे (स्थानीय समय) ढाकाको गुलशन मोडेल स्कूल एन्ड कलेज मतदान केन्द्रमा आफ्नो मत खसाले । अन्तरिम सरकार प्रमुखका रूपमा उनले मतदान गर्दा लाखौँ बंगलादेशी नागरिक पनि गत वर्षको राजनीतिक उथलपुथलपछि भइरहेको पहिलो निर्वाचनमा सहभागी भएका छन् । यस मतदानलाई लोकतान्त्रिक शासन पुनस्र्थापनाको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।


निर्वाचनको दिन बिहानैदेखि मतदाता मतदान केन्द्र बाहिर लामो लाइनमा देखिएका थिए । स्थानीय समय अनुसार बिहान ६ बजेदेखि नै मतदाताको उपस्थिति देखिएको थियो, जसले पारदर्शी निर्वाचन प्रक्रियाप्रतिको अपेक्षा र आशा झल्काएको छ ।

 

पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन र उनका दीर्घकालीन प्रतिद्वन्द्वी शेख हसिनाको अवामी लिग पार्टीमाथि जारी प्रतिबन्धको पृष्ठभूमिमा यो निर्वाचन महत्वपूर्ण मोडको रूपमा हेरिएको छ । देश दशकौँदेखि चलिरहेको ‘बेगमहरूको लडाइँ’ युगबाट अघि बढ्न खोजिरहेको छ ।


मतगणना आज दिउँसो चार बजे सुरु हुनेछ र निर्वाचन आयोगले गणना सम्पन्न भएपछि फेब्रुअरी १३ बिहान आधिकारिक नतिजा सार्वजनिक गर्नेछ । करिब १२ करोड ७० लाख योग्य मतदातासहित विश्वको आठौँ सबैभन्दा बढी जनसंख्या भएको राष्ट्र बंगलादेश मतदानमा सहभागी भइरहेको छ ।

 

अल जजीराका अनुसार कुल मतदातामध्ये झण्डै आधा १८ देखि ३७ वर्ष उमेर समूहका छन्, जसमा ४५ लाख ७० हजार पहिलोपटक मतदान गर्ने मतदाता रहेका छन् । बंगलादेशमा अवामी लिगबाहेक ५९ वटा दर्ता भएका राजनीतिक दल छन्, जसमध्ये ५१ दल यस वर्षको निर्वाचनमा सहभागी भएका छन् । अवामी लिगको दर्ता गत वर्ष निर्वाचन आयोगले निलम्बन गरेपछि उसले उम्मेदवार उठाउन पाएको छैन । कुल १,९८१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्, जसमा २४९ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

 

प्रतिस्पर्धामा रहेका प्रमुख दलहरूमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी), जमात–ए–इस्लामी, नेशनल सिटिजन पार्टी (एनसीपी), जातिया पार्टी (जेपी–क्वादेर), जातिया पार्टी (जेपी–एरशाद), लेफ्ट डेमोक्रेटिक एलायन्स र आमार बंगलादेश पार्टी (एबी पार्टी) रहेका छन् ।


भ्रष्टाचार, महँगी, रोजगारी र आर्थिक विकास यस निर्वाचनका मुख्य मुद्दा रहेका छन् । संसदीय निर्वाचनसँगै देशमा ‘नेशनल चार्टर २०२५’ सम्बन्धी जनमतसंग्रह पनि भइरहेको छ, जुन अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस नेतृत्वमा तयार पारिएको दस्तावेज हो र भविष्यको शासन व्यवस्थाको आधार तय गर्ने उद्देश्य राखिएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार