चर्चित निर्वाचन क्षेत्र: काठमाडौँ- ३ को चुनावी गणित, कुलमानलाई चुनौती
२०८२ माघ २२ विहीवार
- उनको रास्वपा प्रवेश र १२ दिनमै बहिर्गमनले उनमा सत्ता मोह र फेरी सरकारमा पुग्न अलि हतार गरिरहेको महसुस धेरैले गरिरहेका छन् ।
काठमाण्डौ, २२ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक काठमाडौँ- ३ पनि रहेको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यस क्षेत्रको चर्चा रहेको छ ।
काठमाडौँ क्षेत्र नम्बर ३ संसदीय क्षेत्रमा गोकर्णेश्वर नगरपालिकाका सबै ९ वटा वडा, कागेश्वरी मनोहरा नगरपालिकाका वडा नम्बर १, २ र ३ तथा काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ रहेका छन् ।
निर्वाचन आयोगका अनुसार काठमाडौँ- ३ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या ६४ हजार ४७९ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा ७२ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन- २०७९
२०७९ को निर्वाचनमा यस काठमाडौँ- ३ बाट नेपाली काँग्रेसका सन्तोष चालिसे विजयी भएका थिए । चालिसेले १५ हजार १५८ मत प्राप्त गरेका थिए । त्यस्तै नेकपा एमालेका कृष्ण बहादुर राईले ११ हजार १९६ मत प्राप्त गर्दै दोस्रो भएका थिए । त्यसैगरि रास्वपाका दुर्गा विक्रम थापाले ५ हजार ८६५ मत प्राप्त गरेका थिए ।
त्यसैगरी २०७९ को समानुपातिकतर्फ नेपाली काँग्रेसले १० हजार ६१९ मत प्राप्त गरेको थियो भने नेकपा एमालेले ९ हजार ४४९ मत प्राप्त गरेको थियो । त्यसैगरी रास्वपाले ९ हजार २१८ मत प्राप्त गरेको थियो भने राप्रपाले ४ हजार ९६० मत प्राप्त गरेको थियो ।
उम्मेदवार- २०८२
यस क्षेत्रमा यस पटक राजनीतिक दल र स्वतन्त्र गरेर २२ उम्मेदवार रहेका छन् । काठमाडौँ- ३ मा उज्यालो नेपाल पार्टीबाट अध्यक्ष कुलमान घिसिङ उम्मेदवार बनेका छन् । त्यसैगरी नेपाली काँग्रेसले यस पटक रमेश अर्याललाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले रामेश्वर फुयाललाई उम्मेदवार बनाएको छ । त्यसैगरी रास्वपाले काठमाडौँ महानगरका पूर्व प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेकपाले यस क्षेत्रमा निरज लामालाई उम्मेदवार बनाएको छ ।
निष्कर्ष:
काठमाडौँ- ३ मा अघिल्लो निर्वाचनको भन्दा यस पटकको समीकरण बदलिएको छ । पहिलोप कुरा त यस पटक कुनै दलबीच गठबन्धन छैन र सबै दलका आ-आफ्ना उम्मेदवार छन् । दोस्रो नेपाली विद्युत प्राधिकरणको प्रमुख हुदै उर्जामन्त्रीसम्मको यात्रा तय गरेका कुलमान घिसिङको उम्मेदवारीले पनि यस क्षेत्रप्रति धेरैको नजर छ । नयाँ दल भएकाले संगठनको शक्ति भन्दा पनि कुलमानले व्यक्तित्वका आधारमा यो चुनाव लडेका छन् । धेरै कुरा उनी विरुद्ध देखिएको छ । उनको रास्वपा प्रवेश र १२ दिनमै बहिर्गमनले उनमा सत्ता मोह र फेरी सरकारमा पुग्न अलि हतार गरिरहेको महसुस धेरैले गरिरहेका छन् । साथै उनले अरुको नेतृत्व नस्वीकार्ने र आफै हुनुपर्ने भन्ने अडानपनि उनी विरुद्ध गइरहेको विश्लेषण गरिएको छ । उनले विगतमा गरेका काम उत्कृष्ट थिए भन्नेमा कुनै शंका छैन तर राजनीतिमा राजनीतिक मुभ पनि सोहि अनुसार मिल्यो भन्ने बल्ल सफल हुन सकिन्छ ।
त्यस्तै रास्वपाले काठमाडौँ महानगर प्रहरीका पुर्व प्रमुख राजुनाथ पाण्डेलाई मैदानमा उतारेको छ । उनले बालेन शाहले महानगरबाट छोडनु अघि नै राजीनामा दिएर चुनावी मैदानमा होमिएका छन् । रास्वपाको माहोल बनिरहेको र बालेनसँगको उनको निकटतालाई काठमाडौँ- ३ का मतदाताले कसरी लिन्छन्, त्यो भने हेर्न बाँकी छ । तर उनको कुलमानसँग प्रतिष्पर्धा रहेकाले त्यति सहज भने देखिदैन ।
त्यसैगरी परम्परागत भोट बैंक रहेका काँग्रेस र एमाले आफैमा बलियो रुपमा उपस्थित छन् । टोल तहसम्म संगठन र यस पटक दुवै दलले नयाँ उम्मेदवार बनाएको अवस्थामा यस क्षेत्रमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । घिसिङ र पाण्डे दुवैलाई कांग्रेस- एमालेको संगठनात्मक शक्ति तोड्न ठुलै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’