चर्चित निर्वाचन क्षेत्र: कपिलवस्तु- १ को चुनावी गणित, एमाले-काँग्रेसलाई स्वतन्त्र उम्मेदवारको धक्का

२०८२ माघ १९ सोमवार
सारांश
  • कपिलवस्तु- १ मा काँग्रेसका अधिकारिक उम्मेदवारविरुद्ध काँग्रेसकै युवा नेता आशिष शर्माले दिएको स्वतन्त्र उम्मेदवारीका कारण चर्चामा रहेको छ ।

काठमाण्डौ, १९ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक कपिलवस्तु- १ पनि रहेको छ । कपिलवस्तु- १ मा काँग्रेसका अधिकारिक उम्मेदवारविरुद्ध काँग्रेसकै युवा नेता आशिष शर्माले दिएको स्वतन्त्र उम्मेदवारीका कारण चर्चामा रहेको छ ।

 

कपिलवस्तुको क्षेत्र नम्बर १ मा शुद्धोधन गाउँपालिकाका सबै ६ वटा वडा, मायादेवी गाउँपालिकाका सबै ८ वटा वडा, बाणगङ्गा नगरपालिकाकाका सबै ११ वटा वडा र कपिलवस्तु नगरपालिकाका ७ देखि ११ नम्बर वडासम्म समेटिएको छ ।

 

निर्वाचन आयोगका अनुसार कपिलवस्तु- १ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ४७ हजार ६५९ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १७९ मतदान केन्द्र तोकिएको छ ।

 

पछिल्लो निर्वाचन- २०८२

 

२०७९ को निर्वाचनमा कपिलवस्तु-१ बाट नेकपा एमालेका बलराम अधिकारी विजयी भएका थिए । अधिकारीले ३४ हजार ६७५ मत प्राप्त गरेका थिए । त्यस्तै दोस्रो भएका तत्कालिन माओवादी केन्द्रका चक्रपाणि खनालले १८ हजार ९८३ मत प्राप्त गरेका थिए । त्यस्तै यस क्षेत्रमा जनमत पार्टीका नरेन्द्र प्रसाद चौधरीले ८ हजार ३९६ मत प्राप्त गरेका थिए भने नागरिक उन्मुक्ति पार्टीका राम मिलन थारुले ६ हजार ७५ मत प्राप्त गरेका थिए । त्यस्तै रास्वपाका सन्जु सिंह विष्टले ३ हजार ३७६ र हाम्रो नेपाली पार्टीका देवेन्द्र कुमार शर्माले २५०८ मत प्राप्त गरेका थिए ।

 

त्यसैगरी २०७९ को निर्वाचनमा समानुपातिकतर्फ यस क्षेत्रबाट नेकपा एमालेले सर्बाधिक २६ हजार २५७ मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले २० हजार ४९७ मत प्राप्त गरेको थियो ।

 

त्यसैगरी रास्वपाले ८ हजार २६० मत प्राप्त गरेको थियो भने एकीकृत समाजवादीले ६ हजार ६३०, नाउपाले ५ हजार ९६४, जनमत पार्टीले ४ हजार ५९८ र तत्कालिन माओवादी केन्द्रले ३ हजार ९२३ मत प्राप्त गरेको थियो ।

 

उम्मेदवार- २०८२

 

यस निर्वाचनमा कपिलवस्तु-१ बाट राजनीतिक दल र स्वतन्त्र गरेर ३४ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । गत निर्वाचनमा देशभर काँग्रेस र माओवादी केन्द्र गठबन्धन बनाएर चुनावमा गएकाले यस क्षेत्रमा माओवादी केन्द्रका चक्रपाणी खनाल उम्मेदवार रहेका थिए । यस पटक भने सबै दल एक्ला एक्लै चुनाव लडेकाले सबै दलका उम्मेदवार रहेका छन् ।


यस पटक यस क्षेत्रमा नेकपा एमालेले विश्राम प्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेपाली काँग्रेसले अतहर कमाल मुसलमानलाई उम्मेदवार बनाएको छ भने नेकपाले कृष्ण बहादुर कुँवरलाई टिकट दिएको छ ।

 

त्यसैगरी रास्वपाले मोहन लाल आचार्यलाई उम्मेदवार बनाएको छ भने जनमत पार्टी बाट नरेन्द्र प्रसाद चौधरी, जसपा नेपालबाट बब्बु सिंह यादव उम्मेदवार बनेका छन् । त्यस्तै राप्रपाबाट शत्रुघन विलास सिंह कुर्मी उम्मेदवार बनेका छन् । यस क्षेत्रमा यस पटक काँग्रेसबाट विद्रोह गरेर उम्मेदवार बनेका आशिष शर्माको विशेष चर्चा रहेको छ ।

निष्कर्ष:

 

परम्परागत रुपमा कपिलवस्तु-१ नेकपा एमाले र काँग्रेसको प्रभाव भएको क्षेत्र हो । तर दुवै दलमा हुने आन्तरिक विवाद र अन्तर्घातका कारण पालै पालो चुनाव जित्ने गरेका छन् ।  कपिलवस्तु-१ मा एमालेले यस पटक पछिल्लो चुनाव जितेका बलराम अधिकारीलाई टिकट नदिएर विश्राम चौधरीलाई दिएको छ । यस क्षेत्रमा थारु समुदायको मत रणनीतिक रहेको छ । सोहि विषयलाई ध्यानमा राख्दै एमालेले चौधरीलाई उम्मेदवार बनाएको छ ।

 

त्यस्तै नेपाली काँग्रेसले भने अतहर कमाल मुसलमानलाई उम्मेदवार बनाएको छ । तर उनलाई काँग्रेसकै युवा नेता आशिष शर्माले चुनौती दिएर उम्मेदवार बनेपनि उनलाई चुनाव जित्न मुश्किल हुने देखिएको छ । काँग्रेसमा केन्द्रमा देखिएको विवाद, विशेष महाधिवेशनपछि अन्तिम समयमा उम्मेदवार छनौट हुदा कपिलवस्तु- १ मा यस पटक काँग्रेस चुकेको आम नेता कार्यकर्ताले विश्लेषण गरिरहेका छन् । जीप चुनाव चिन्ह पाएका आशिष खासगरी युवाहरुमा लोकप्रिय रहेका छन् । जिल्लामा कृषि उधम समेत गरिरहेका आशिषलाई पार्टी भन्दा बाहिरका युवाहरुले पनि साथ दिएकाले दलका उम्मेदवारहरुलाई उनले कडा चुनौती दिने देखिएको छ ।

 

देशभर रास्वपाको प्रभाव देखिएपनि कपिलवस्तु- १ मा रास्वपा पनि उम्मेदवार छनौटमा चुकेको छ । जिल्लामा आफ्नै दलका नेता कार्यकर्ताहरुसँग राम्रो परिचय नभएका अधिवक्ता मोहन आचार्यलाई टिकट दिएपछि रास्वपा कार्यकर्ताहरुमा अन्य क्षेत्रमा जस्तो उत्साह यस क्षेत्र देखिएको छैन ।

 

त्यस्तै नेकपाबाट उम्मेदवार बनेका कृष्ण कुँवरले पनि आफ्नो प्रभावलाई बढाउदै लागेका छन् । यस क्षेत्रमा तत्कालिन माओवादी केन्द्र र एकीकृत समाजवादीको जनाधार नै कमजोर रहेकाले उनले चुनाव जित्न भने ठुलै मिहिनेत गर्नु पर्ने देखिन्छ । यस क्षेत्रमा जनमत, नाउपा र राप्रपाको प्रभाव पनि रहेको छ । उनीहरुले चुनाव नजितेपनि सम्मानजनक मत प्राप्त गरेर प्रतिष्पर्धामा रहेका उम्मेदवारको हार जितमा भूमिका खेल्न सक्ने देखिन्छ ।

 

स्थानीयहरुले स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई एमाले र काँग्रेसका उम्मेदवारले कमजोर ठान्न नहुने बताएका छन् । दलगत मतका हिसाबले एमाले यस क्षेत्रमा बलियो देखिए पनि अहिलेको अवस्थामा यस निर्वाचन क्षेत्रमा  बहुपक्षीय प्रतिष्पर्धा हुने विश्लेषण गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास

लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।

थप समाचार