विश्लेषक सौरवद्वारा मतदातालाई १० बुँदे सुझाव: कस्ता उम्मेदवारलाई मतदान गर्ने?
२०८२ माघ १५ बिहीवार
- सौरवले निर्वाचन आयोगले विद्युतीय मतदानको व्यवस्था नगरेकोमा प्रश्न उठाउँदै बुथ कब्जा गर्ने सम्भावनाका बारेमा पनि चर्चा गरेका छन्।
विश्लेषक सौरवद्वारा मतदातालाई १० बुँदे सुझाव: कस्ता उम्मेदवारलाई मतदान गर्ने?
आगामी प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा प्रखर लेखक तथा विश्लेषक सौरवले मतदाताहरूलाई सचेत गराउँदै १० वटा महत्वपूर्ण सुझावहरू दिएका छन्।
एउटा भिडियो सन्देशमार्फत उनले नेपाली मतदाताहरूलाई 'संसारकै मूर्ख मतदाता' भनिएको चर्चालाई चिर्नका लागि यस पटक विवेकपूर्ण मतदान गर्न आग्रह गरेका छन्।
सौरवले निर्वाचनमा मतदाताले ख्याल गर्नुपर्ने १० बुँदाहरूलाई यसरी प्रस्तुत गरेका छन्:
१. ३० वर्षदेखिका पुराना अनुहारलाई अस्वीकार: विगत ३० वर्षमा पटक–पटक सांसद बनेर पनि देश र जनताका लागि ठोस कार्य नगर्ने र धोका दिने उम्मेदवारहरूलाई यस पटक मत नदिन उनको सुझाव छ।
२. शैक्षिक योग्यताको आधार: कम्तीमा स्नातक तह उत्तीर्ण नगरेका उम्मेदवारलाई मतदान नगर्न उनले आग्रह गरेका छन्। सांसदले विधेयकहरू बुझ्न र छलफलमा भाग लिन शैक्षिक योग्यता आवश्यक हुने उनको तर्क छ।
३. फौजदारी अभियोग र अदालतमा मुद्दा: फौजदारी अभियोगमा सजाय पाएका वा अदालतमा मुद्दा विचाराधीन रहेका व्यक्तिहरूलाई मतदान नगर्न उनले सचेत गरेका छन्।
४. बेरुजु र सरकारी बक्यौता: महालेखा परीक्षकको प्रतिवेदन अनुसार सरकारी बक्यौता सूचीमा रहेका वा भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई मत दिन नहुने उनले बताएका छन्।
५. साम्प्रदायिक र जातीय विद्वेष फैलाउने: समाजमा जातीय वा साम्प्रदायिक सद्भाव बिगार्ने खालका अभिव्यक्ति दिने र क्रियाकलापमा संलग्न हुने उम्मेदवारहरूलाई बहिष्कार गर्न उनको आग्रह छ।
६. राष्ट्रहित विपरीतका सन्धि–सम्झौता: महाकाली सन्धि, बिप्पा सम्झौता, एमसीसी जस्ता विवादास्पद र राष्ट्रिय हितमा आँच पुऱ्याउने सम्झौताहरूमा संलग्न पात्रहरूलाई मतदान नगर्न उनले सुझाव दिएका छन्।
७. पार्टी फुटाउने प्रवृत्ति: सत्ता र स्वार्थका लागि पटक–पटक पार्टी फुटाउने र अस्थिरता निम्त्याउने नेताहरूलाई यस पटक मतमार्फत सजाय दिनुपर्ने उनको धारणा छ।
८. स्थानीयतालाई प्राथमिकता: आफ्नो निर्वाचन क्षेत्रमा नबस्ने, काठमाडौं वा विदेशमा बस्ने र चुनावका बेला मात्र क्षेत्रमा जाने उम्मेदवारभन्दा आफ्नै भूगोलमा सधैं उपलब्ध हुने पात्रलाई छान्न उनले आग्रह गरेका छन्।
९. सिद्धान्तहीन गठबन्धन: विचार र सिद्धान्त नमिल्ने दलहरूले केवल चुनाव जित्नका लागि गरेको अप्राकृतिक गठबन्धनलाई समर्थन नगर्न सौरवको सुझाव छ।
१०. चुनावी घोषणापत्रको भ्रम: दलहरूले घोषणापत्रमा गर्ने ठूला र पूरा नहुने वाचाहरूबाट नझुक्किन र उम्मेदवारको विगतको काम हेरेर मात्र मतदान गर्न उनले अनुरोध गरेका छन्।
सौरवले निर्वाचन आयोगले विद्युतीय मतदानको व्यवस्था नगरेकोमा प्रश्न उठाउँदै बुथ कब्जा गर्ने सम्भावनाका बारेमा पनि चर्चा गरेका छन्। उनले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई रेमिट्यान्स पठाउने कुरामा समेत विचार गर्न आग्रह गर्दै सत्तामा पुग्नेहरूले जनताको पसिनाको दुरुपयोग गरिरहेको तर्फ संकेत गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’