राष्ट्रिय सभाका १७ सदस्यको निर्वाचन आज हुँदै

२०८२ माघ ११ आइतवार
सारांश
  • राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि मतदान सुरु हुने जानकारी दिएको छ ।

काठमाण्डौ, ११ माघ । राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि मतदान सुरु हुने जानकारी दिएको छ ।

 

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । जसमध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा राष्ट्रियसभा सदस्य निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै नआएपछि थापा निर्विरोध भएका थिए । यता एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । बाँकी १७ सदस्यका लागि आज निर्वाचन हुँदैछ ।

 

आयोगका अनुसार सात वटै प्रदेशमा मतदान केन्द्रमा आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष मतदाता हुन्छन्। राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहलाई १९ मतभार र प्रदेश सभा सदस्य तर्फ ५३ मतभार कायम गरिएको छ । केही प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख एवं अध्यक्ष, उपाध्यक्षले राजीनामा दिई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकाले मतदाता नामावलीबाट उनीहरुको नाम हटाइएको आयोगले जनाएको छ ।  निर्वाचन आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये कांग्रेस र एमालेले भागवण्डा गरेर क्रमश: ९ र ८ सिटमा उम्मेदवारी दिएका छन् । बाँकी एउटा पदमा लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरेका छन् ।

 

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुँदैछन् । भागवण्डा अनुसार कोशी प्रदेशमा कांग्रेसबाट सुनिलबहादुर थापा, एमालेबाट रोशनी मेचे र सोम पोर्तेल उम्मेदवार छन् । मधेश प्रदेशमा कांग्रेसका धमेन्द्र पासवान, रन्जित कर्ण र एमालेका रेखा झा उम्मेदवार छन् ।

 

बागमती प्रदेशमा कांग्रेसले गीता देवकोटा र एमालेले प्रेम दंगाललाई उम्मेदवार बनाएको छ । गण्डकी प्रदेशमा कांग्रेसबाट जगत तिमिल्सिना र एमालेबाट र सम्झना देवकोटा उम्मेदवार छन्। लुम्बिनी प्रदेशमा कांग्रेसबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, एमालेबाट रामकुमारी झाक्री उम्मेदवार छन् । कर्णाली प्रदेशमा कांग्रेसबाट ललितजंग शाही, एमालेबाट मिना रखाल, सुदूरपश्चिम प्रदेशमा कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी उम्मेदवार रहेका छन्।नेपाली कम्युनिस्ट पार्टीले सबैतिर एकल उम्मेदवारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार