राष्ट्रिय सभा उमेद्वार चयनप्रति महामन्त्री गगन थापाको तीव्र असन्तुष्टि

२०८२ पुष २३ गते बुधवार
सारांश
  • राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली काङ्ग्रेस र एमालेले गठबन्धन गरी कांग्रेसको भागमा ९ सिट र एमालेको भागमा ८ सिट परेको छ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन र पार्टीको पछिल्लो निर्णय प्रक्रियाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले पार्टी नेतृत्वले विधि र प्रक्रियालाई लत्याएर 'घेराबन्दी' र 'तालमेलको'को राजनीति गरेको आरोप लगाएका छन्।

 

थापाले नेतृत्वको कार्यशैलीले आफूहरूलाई पार्टीको साँघुरो घेराबाट बाहिर निस्कन बाध्य पारेको बताएका हुन्। "तपाईँहरू हामीलाई पार्टीको यो साँघुरो घेराबाट झन् झन् फराकिलो घेरामा जान बाध्य पार्दै हुनुहुन्छ," उनले भने, "संख्याको आधारमा दम्भ राखेर गरिएको यो घेराबन्दीले हामीलाई व्यक्तिगत रूपमा फरक नपर्ला, तर यसले पार्टीका लागि काम गर्ने जनजाति, मुस्लिम र अन्य समुदायलाई ठूलो अन्याय भएको छ।"

 

महामन्त्री थापाले उम्मेदवार चयन गर्दा समावेशिताको सिद्धान्तलाई बेवास्ता गरिएकोमा कडा आपत्ति जनाए। उनका अनुसार यदि पार्टीभित्र पर्याप्त छलफल र बहस भएको भए जनजाति र मुस्लिम समुदायका योग्य उम्मेदवारहरू छुट्ने थिएनन्। "कम्तिमा नामहरूका बारेमा छलफल हुन्थ्यो, बाचन हुन्थ्यो भने पनि एउटा अवस्था बन्थ्यो, तर यहाँ त नाममा बहस समेत गर्न पाइएन," थापाले गुनासो गरे।

 

पार्टीले पछिल्लो समय आफ्नो राजनीतिक अडान र सैद्धान्तिक धरातल बिर्सिएको थापाको तर्क थियो। हिजोसम्म 'संविधान र देश ठूलो' भन्ने नेतृत्वले आज एउटा सिटको लागि सबै मूल्य-मान्यता त्यागेको उनले बताए। "हिजो सिट ठूलो कुरा होइन संविधान ठूलो हो भनियो, आज फेरि एक सिटमा कुरा मिलेन भन्दै संविधानभन्दा सिटलाई ठूलो बनाइयो। यति चाँडो उलटपुलट कसरी हुन्छ?" उनले प्रश्न गरे।

 

महामन्त्री थापाले पार्टीको उक्त निर्णयमा आफूले असहमति जनाएको र बैठकमा ताली समेत नबजाएको खुलासा गरे। उनले अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि यस प्रक्रियामा समान असहमति रहेको जानकारी दिए। स्वास्थ्यका कारण शर्मा बैठकमा उपस्थित हुन नसके पनि दुई महामन्त्रीबीच यस विषयमा साझा धारणा रहेको उनको भनाइ थियो।

 

राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली काङ्ग्रेस र एमालेले गठबन्धन गरी कांग्रेसको भागमा ९ सिट र एमालेको भागमा ८ सिट परेको छ।  जसमा शेर बहादुर देउबाको पक्षबाट ६ जना उमेद्वार डा शेखर कोईरालाको पक्षबाट ३ जना उमेद्वार परेका छन् भने गगन र विश्व प्रकाशका पक्षबाट कोहि पनि परेका छैनन्।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार