शान्ति र स्थायित्व नै समृद्धिको आधार: डिपि अर्याल

२०८२ पुष १६ बुधवार
सारांश
  • उनले पर्यटन, कृषि, ऊर्जा र सूचना प्रविधि जस्ता क्षेत्रमा लगानी आकर्षित गर्न नीतिगत स्थिरता, प्रशासनिक सहजता र भ्रष्टाचारमुक्त वातावरण बनाउनु साझा उत्तरदायित्व भएको उल्लेख गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डिपि अर्यालले मुलुकको सर्वाङ्गीण विकास र आर्थिक समृद्धिका लागि शान्ति र राजनीतिक स्थायित्व अनिवार्य सर्त रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित 'शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य' विषयक बहस कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

 

नेता अर्यालले २१औँ शताब्दीको तीव्र विकास र प्रविधिको युगमा पनि नेपाल अझै शान्ति र स्थिरताकै लागि बहस गर्नुपर्ने अवस्थामा रहनु दुःखद भएको टिप्पणी गरे । उनले २०७२ को संविधान जारी भएको १० वर्ष पुग्दा पनि आम नागरिक र विशेष गरी युवा पुस्ता (जेन्जी) सुशासन र रोजगारीका लागि सडकमा आउनुको कारणबारे राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताए ।

 

"शान्ति बिना समृद्धि सम्भव छैन र समृद्धि बिना शान्ति स्थायी रहन सक्दैन," अर्यालले भने, "पछिल्लो समयका आन्दोलन र अस्थिरताका कारण निजी क्षेत्रले करिब ८० अर्ब रुपैयाँ बराबरको ठूलो भौतिक र आर्थिक क्षति व्यहोर्नु परेको छ, जुन निकै निराशाजनक पक्ष हो ।"

 

नेपालको निजी क्षेत्रले कुल रोजगारीको ८५ प्रतिशत हिस्सा ओगटेको र करिब ५५ लाख मानिसलाई जीविकोपार्जनको आधार दिएको तथ्य प्रस्तुत गर्दै उनले राज्यले निजी क्षेत्रलाई जगका रूपमा स्विकार्नुपर्ने बताए । उनले पर्यटन, कृषि, ऊर्जा र सूचना प्रविधि जस्ता क्षेत्रमा लगानी आकर्षित गर्न नीतिगत स्थिरता, प्रशासनिक सहजता र भ्रष्टाचारमुक्त वातावरण बनाउनु साझा उत्तरदायित्व भएको उल्लेख गरे ।

 

अन्त्यमा, नेता अर्यालले डिजिटल अर्थतन्त्र र युवा उन्मुख व्यवसायलाई प्रोत्साहन गर्दै नेपालमै अवसर सिर्जना गर्न राज्य, निजी क्षेत्र र नागरिक समाज एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए । उनले समृद्धि केवल शब्दमा मात्र नभई व्यवहारमा उतार्न सबै पक्षबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार