उपसभामुखको अवमूल्यन लोकतन्त्रका लागि खतरा: सांसद परियार

२०८२ भाद्र ०४ बुधवार
सारांश
  • बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद परियारले लोकतन्त्रको नाममा राजनीति गर्ने दलहरुलाई ऐतिहासिक नेताहरुको सम्झना गराउँदै सचेत रहन आग्रह गरे ।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले उपसभामुखको पदप्रति देखिएको व्यवहार लोकतन्त्रका लागि गम्भीर खतरा भएको भन्दै कडा आपत्ति जनाएका छन् ।

 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद परियारले लोकतन्त्रको नाममा राजनीति गर्ने दलहरुलाई ऐतिहासिक नेताहरुको सम्झना गराउँदै सचेत रहन आग्रह गरे ।

 

उनले भने, ‘लोकतन्त्रको विरासत धानेका भन्नेहरुले सम्मानित सदनको, सार्वभौम सदनको उपसभामुख जस्तो जिम्मेवार पदलाई जुन तहमा अवमूल्यन गरिएको छ, यो लोकतन्त्रकै लागि ठूलो खतरा हो भनेर हाम्रो पार्टीको ठम्याइ छ ।’

 

परियारले नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुलाई क्रमशः वीपी कोइराला र मदन भण्डारीको योगदान सम्झन पनि आग्रह गरे । ‘लोकतन्त्र बचाउन हार्न तयार हुने वीपीलाई सम्झनुहोस्,’ उनले कांग्रेस नेताहरुतर्फ इंगित गर्दै भने, ‘सामन्तवादविरुद्ध आवाज उठाउने कमरेड मदन भण्डारीलाई सम्झनुहोस्, एमाले नेताहरु । पार्टीभित्र हावी हुने सामन्तवादले पनि हामीलाई उभो लाग्न दिँदैन भन्ने चेत राख्नुहोस् ।’

 

सांसद परियारले रास्वपाबाट निर्वाचित एक जना जनजाति महिला उपसभामुखको पदप्रति गरिएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै त्यसप्रति गरिनुपर्ने सम्मानको आवश्यकता औंल्याए ।

 

‘रास्वपाले उहाँको सम्मान गर्दै, उहाँले अन्तर्राष्ट्रिय स्तरमा पाएको मान–सम्मानलाई सम्मान गर्दै उपसभामुखलाई जुन सम्मान दिइएको छ, त्यसमा तपाईंहरु जति उफ्रिए पनि माथि पुग्न सक्नुहुन्न,’ उनले भने, ‘संसद आफैंमा सार्वभौम हो । सांसदको विवेकलाई बन्दी नबनाऔं। जुन बेला मन लाग्यो, राजनीतिक स्वार्थ पूर्ति गर्न संसदलाई माध्यम नबनाऔं।’

 

उनले रास्वपालाई निषेध गर्न खोजिएको आरोप पनि लगाए । ‘नयाँहरुलाई निषेध गर्न सकिँदैन,’ सांसद परियारले भने, ‘हामी जनताबाट आएका छौं, निषेधले लोकतन्त्र बलियो हुँदैन ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार