‘संविधान बाहिर जान सकिन्न, चित्त नबुझे संशोधन गर्न सकिन्छ’

३१ चैत्र, २०८१, आइतवार
सारांश
  • काभ्रेको नमोबुद्द नगरपालिका वडा नं १ मा स्वास्थ्य चौकी भवन उदघाटन, बालमैत्री वडा घोषणा र वडाको प्रशासकीय भवन उद्घाटन गर्दै उनले जे गर्नुपर्ने हो संविधानको परिधिभित्रै रहेर गर्नुपर्नेमा जोड दिएका हुन् ।

काभ्रे : उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सार्वभौम संविधानसभाले बनाएको संविधानको खिलाफमा गएर केही पनि प्राप्त नहुने भन्दै सबैले संविधानको परिधिभित्र बस्नुपर्ने बताएका छन् ।


काभ्रेको नमोबुद्द नगरपालिका वडा नं १ मा स्वास्थ्य चौकी भवन उदघाटन, बालमैत्री वडा घोषणा र वडाको प्रशासकीय भवन उद्घाटन गर्दै उनले जे गर्नुपर्ने हो संविधानको परिधिभित्रै रहेर गर्नुपर्नेमा जोड दिएका हुन् । 


‘जे गर्नुपर्ने हो संविधानभित्रै बसेर नै आफ्नो कामहरू गर्न सक्नुपर्छ ।  कसैलाई चित्त बुझेन भन्दैमा संविधानसभाबाट जनप्रतिनिधिले जारी गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको खिलाफमा गएर केही हुँदैन’, उनले भने,‘संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । चित्त नबुझेको कुरा छन् भने विधि र  प्रक्रियाअनुसार राख्न सकिन्छ ।  संविधान सशोधन गर्न सकिन्छ ।’ 


०१७ सालमा गुमेको अधिकार ३० वर्ष लामो संघर्षबाट फिर्ता भएको चर्चा गर्दै उनले अहिले प्राप्त अधिकार उसै प्राप्त नभएको बताए ।  


अधिनायकवादी व्यवस्थामा नागरिक अधिकार कुण्ठित मात्र नभई विकासको काम समेत हुन नसक्ने विगतको अनुभव सुनाउँदै गणतन्त्रपछि नागरिक अधिकार सुरक्षित भएको र विकासले गति लिएको दाबी गरे । 


अघिल्लो पुस्ताले कष्टकर जीवन विताउनुपरेको अवस्था  विर्सन नहुने भन्दै  विकासको काम क्रमिक रूपमा हुने बताए । ०४६ को परिवर्तनपछि विकासका धेरै काम भएको उनको भनाइ छ । 


त्यस्तै उपप्रधानमन्त्री सिंहले शहरहरू बनाउँदा नागरिकलाई सुविधा दिनुपर्नेमा जोड दिए । संघियतामा गएपछि देशभर स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा उल्लेख्य काम भएको भन्दै अब नागरिकलाई प्रभावकारी सेवामा ध्यान दिनुपर्ने बताए । 


‘शहरहरू बनाउँदा प्रकृति मात्रै सुन्दर भएर हुँदैन ।  मानिसहरूलाई सुविधा पनि आवश्यक पर्छ । अस्पताल र प्रशासनिक भवन आज उद्घाटन भएको छ । भोलिदेखि नै वडावासीलाई सुविधा हुनेगरि असपताल र प्रशासनिक भवनबाट काम हुनेछ भन्ने मलाई विश्वास छ,’ उनले भने ।


उपप्रधानमन्त्री सिंहले नमोबुद्द नगरपालिकाको ११ वटै वडामा आधुनिक स्वास्थ्यभवनबाट सुविधा दिइरहेको थाहा पाउँदा खुशी लागेको भन्दै नागरिकलाई निरोगी बनाउन र समयमै उपचारका लागि देशका हरेक वडाबाट यस्तै स्वास्थ्य सेवा दिनुपर्नेमा जोड दिए । 


अहिले अवस्था फेरिएन भनेर केहीले अफवाह फैलाइरहेको भन्दै सचेत रहन पनि सिंहले आग्रह गरे । हल्ला जे पनि गर्छन्, त्यसमा आधार के छ बुझ्न आग्रह गर्दै उनले कागले कान लग्यो भन्दैमा कागको पछि कुद्ने भन्दा कान छाम्नुपर्ने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार