‘ग्लोबल साउथ’ बीच ‘कनेक्टिभिटी’ र सामूहिक सहकार्य आवश्यक

२०८१ फागुन ४ गते आईतवार
सारांश
  • क्षेत्रीय कनेक्टिभिटी बढाउने र आपसी ज्ञान, सीप र प्रविधिको हस्तान्तरणमार्फत क्षमता विकासका कामलाई सामूहिक रुपमा अघि बढाउने काम गर्नुपर्नेमा पनि उनको जोड थियो ।

काठमाडौँ: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ग्लोबल–साउथले बहुसङ्ख्यक मानिसको प्रतिनिधित्व गर्ने भएकाले यस क्षेत्रमा ‘कनेक्टिभिटी’सहितको सामूहिक सहकार्य आवश्यक रहेको बताएकी छिन ।  

 

आठौँ हिन्द महासागरीय सम्मेलनलाई आइतबार ओमनको राजधानी मस्कटमा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् । उक्त सम्मेलनको मुख्य विषयवस्तु ‘समुद्री साझेदारीको नयाँ क्षितिजको यात्रा’ नेपालजस्ता भूपरिवेष्ठित देशका लागि विशेष महत्वको रहेको उल्लेख गर्दै मन्त्री डा देउवाले यसबाट हुने सामुद्रिक साझेदारीले कनेक्टिभिटी बढाउने र यो मानवताको समावेशी र दिगो विकासका लागि माध्यम बन्ने धारणा राखिन ।  

 

सम्मेलनमा आयोजित ‘विश्वव्यापी दक्षिणको आवाजलाई बुलन्द गर्ने’ विषयक सत्रमा मन्त्री डा देउवाले विशेष गरी हिन्द महासागरीय क्षेत्रले बहुसङ्ख्यक मानवको प्रतिनिधित्व गर्ने र यसको उन्नतिबिना विकसित विश्वले प्राप्त गरेको उपलब्धि पनि खतरामा पर्न सक्दछ भनिन । “मलाई लाग्छ भविष्यको लागि ‘रोडम्याप’ स्पष्ट छ । मानवताको भविष्यको लागि अगाडि बढ्ने बाटोमा विश्व सहमत छ, यसका लागि आवश्यक रणनीति पनि पहिचान भएको छ । म दोहो¥याउन चाहन्छु कि ग्लोबल–साउथले बहुसङ्ख्यक मानवको प्रतिनिधित्व गर्दछ । हामी कसैलाई पनि पछाडि छोड्ने छैनौँ र पछाडि छोडिन पनि चाहँदैनौँ । हाम्रा एजेन्डा र साझा लक्ष्य पूरा गर्न सामूहिक सहकार्य र प्रतिबद्धताका साथ अघि बढ्नुपर्छ”, उनको भनाइ थियो ।

 

ग्लोबल साउथको आवाजका विषयमा छलफल गर्दा सबैले यो क्षेत्र न्यायपूर्ण, निष्पक्ष र समावेशी विश्व निर्माणको लागि अझ महत्वपूर्ण छ भन्ने कुरामा ख्याल गर्नुपर्ने मन्त्री डा देउवाको भनाइ थियो । उनले ग्लोबल साउथको पूर्ण सम्भावनालाई उजागर गर्न यस क्षेत्रले दक्षिण–दक्षिण सहयोग सुधारका लागि आवश्यक नीतिहरूको समीक्षा गर्दै क्षेत्रीय एकीकरणलाई सुदृढ पार्ने र पारस्परिक सहयोगलाई बढावा दिने कामलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखिन ।

 

“वित्तीय स्रोतहरूमा समतामूलक पहुँच सुनिश्चित गर्ने र ग्लोबल साउथको प्रतिनिधित्व सुनिश्चित गर्न विश्वव्यापी रुपमा प्रशासन तथा वित्तीय संस्थाहरूमा सुधार गर्न आवश्यक छ । साथै विकसित देशहरूका प्रतिबद्धताहरूको कार्यान्वयनका लागि पनि हामीले सामूहिक वकालत गर्नुपर्ने अवस्था छ”, मन्त्री डा देउवाको भनाइ उद्धृत गर्दै उहाँको सचिवालयले भनेको छ ।  

 

यसैगरी सडक, हवाई तथा समुद्रमार्फत क्षेत्रीय कनेक्टिभिटी बढाउने र आपसी ज्ञान, सीप र प्रविधिको हस्तान्तरणमार्फत क्षमता विकासका कामलाई सामूहिक रुपमा अघि बढाउने काम गर्नुपर्नेमा पनि उनको जोड थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार