न्यायाधीशमाथि महाभियोगका विषयमा कानूनमन्त्रीसहित ५ रास्वपा सांसदसँग रविको परामर्श

१६ कार्तिक, २०८३
सारांश
  • सर्वोच्च अदालतका केही न्यायाधीशमाथि महाभियोग प्रस्ताव दर्ता गर्ने विषयमा चर्चा भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कानुनमन्त्रीसहित पार्टीका पाँच सांसदसँग परामर्श गरेका छन् ।

काठमाडौं : सर्वोच्च अदालतका केही न्यायाधीशमाथि महाभियोग प्रस्ताव दर्ता गर्ने विषयमा चर्चा भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कानुनमन्त्रीसहित पार्टीका पाँच सांसदसँग परामर्श गरेका छन् ।

 

सोमबार भएको छलफलमा कानुनमन्त्री सोभिता गौतम, मधु चौलागाईं, समीक्षा बाँस्कोटा, सुलभ खरेल र गजाला शमीम मिकरानी सहभागी थिए । छलफलमा सहभागी सबै सांसद कानुनी पृष्ठभूमिका हुन् ।

 

छलफलका क्रममा सभापति लामिछानेले महाभियोग दर्ता गर्ने संवैधानिक तथा कानुनी प्रक्रिया, त्यसका आधार र प्रस्ताव पारित गर्न आवश्यक प्रक्रियाबारे जिज्ञासा राखेका थिए ।

 

छलफलमा सहभागी अधिवक्ता तथा सांसद मधु चौलागाईंका अनुसार तत्कालै महाभियोग प्रक्रिया अघि बढाउने विषयमा कुनै निर्णय भएको छैन । उनका अनुसार लामिछानेले न्यायालयलाई क्षति पुग्ने गरी कुनै कदम चाल्न नहुने धारणा राखेका थिए ।

 

चर्चामा रहेका न्यायाधीशमाथि महाभियोग लगाउने हो भने त्यसका आधार र कारण स्पष्ट हुनुपर्ने लामिछानेको चासो थियो । महाभियोग दर्ता गरिसकेपछि फिर्ता लिनुपर्ने अवस्था आउन नहुने विषयमा पनि उनले छलफल गरेका थिए ।

 

महाभियोग सिफारिस समिति गठन गर्ने निर्णय भए पनि समिति गठन भइनसकेको अवस्थामा तत्काल महाभियोग दर्ता गर्ने विषय उपयुक्त नहुने लामिछानेको धारणा रहेको छलफलमा सहभागी एक सांसदले बताए ।

 

‘जुडिसियरी गिजोल्ने कुरा हुँदैन’ : मधु चौलागाईं

 

रास्वपा सांसद मधु चौलागाईंले महाभियोग लगाउने र पारित गर्ने पर्याप्त आधार सुनिश्चित नगरी प्रक्रिया अघि बढाउन नहुने बताएका छन् ।

 

उनले भने, ‘हामीसँग अहिले संसदमा १८२ सिट छ । सभामुखले केही गर्न पाउनुहुन्न, प्रधानमन्त्रीज्यूलाई ल्याउने कुरा हुँदैन । महाभियोग पारित गर्न हामीसँग पाँचजना पुग्दैन । त्यो पाँच जना कहाँबाट ल्याउने ? पहिलो कुरा लगाउने आधार चाहियो, दोस्रो कुरा लगाएपछि सम्पन्न गर्छौँ भन्ने आधार पनि चाहियो । हामीले त्यही सल्लाह दिएका छौँ– पहिला आधार तयार पारौँ । नत्र, जुडिसियरी गिजोल्ने कुरा हुँदैन भनेका छौँ ।’
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार