आर्थिक कारणले नै दसैँ कसैका लागि बोझ बन्नु हुँदैन भन्नेमा सचेत छौँ- प्रधानमन्त्री शाह

१ कार्तिक, २०८३
सारांश
  • प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँले नेपाली समाजमा एकता, आत्मीयता र सद्भाव बढाउने विश्वास व्यक्त गर्दै विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँले नेपाली समाजमा एकता, आत्मीयता र सद्भाव बढाउने विश्वास व्यक्त गर्दै विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

 

फूलपातीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देशका विभिन्न स्थानमा भएका विपद्का कारण शोकको अवस्था रहे पनि नेपालीहरूले आफ्नो धार्मिक, सांस्कृतिक तथा सामाजिक परम्परालाई निरन्तरता दिँदै आएको बताएका छन् । 

 

उनले भनेका छन्- 'विश्वभर छरिएर रहेको नेपाली समुदायलाई एकताबद्ध गर्ने चाडका रूपमा रहेको बडादसैँले हरेक घरमा उत्सव र उमङ्ग ल्याओस्।'

 

दसैँ धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण पर्व भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यसले परिवार र आफन्तबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताएका छन् । ठूलाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परा सानालाई माया र ठूलालाई आदर गर्ने मौलिक संस्कृतिको प्रतिबिम्ब भएको उनको भनाइ छ । यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका स्थानमा भएका विनाशकारी घटनाको पीडा कायम रहेकै अवस्थामा दसैँ आएको उल्लेख गर्दै उनले विपद्मा ज्यान गुमाएकाहरूको चिरशान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

 

'सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु,' उनले सन्देशमा भनेका छन् । सरकारले विस्थापित नागरिकको पुनःस्थापनाका लागि सक्रियतापूर्वक काम गरिरहेको जानकारीसमेत उनले दिएका छन् ।

 

प्रधानमन्त्री शाहले दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा व्याख्या गरेका छन् । उनले सत्यको बाटोमा हिँड्ने प्रेरणा मिलोस् र प्रत्येक व्यक्तिले आफूभित्रका नकारात्मक प्रवृत्तिमाथि विजय प्राप्त गर्न सकोस् भन्ने कामना गरेका छन् ।

 

'मानव दुःखका प्रमुख कारणका रूपमा रहेका काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारमाथि विजय प्राप्त गर्न सकौँ,' उनले भनेका छन् ।

दसैँका बेला पनि लाखौँ नेपाली परिवारसँग भेटघाट गर्न नपाई विदेशमा बस्न बाध्य रहेको यथार्थप्रति ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री शाहले बाध्यताले विदेशिनुपर्ने अवस्था अन्त्य गर्न सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । विदेशमा रहेका नेपालीले चाडपर्वमा घर फर्कन नपाउँदा भोग्नुपर्ने पीडा सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

 

उनले भनेका छन्, 'आर्थिक कारणले नै दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्नु हुँदैन भन्नेमा हामी सचेत छौँ ।' आर्थिक समृद्धि र सुशासनका माध्यमबाट नागरिकको जीवनस्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको उनले बताएका छन् ।

 

अन्त्यमा प्रधानमन्त्री शाहले माता दुर्गाभवानीको कृपा सबैमा रहोस् भन्दै नेपालीहरूमा सुख, शान्ति, आरोग्य र समृद्धिको कामना गरेका छन् । उनले सबैलाई सभ्य र भव्य रूपमा दसैँ मनाउन आग्रह गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार